सांसदको तलव, भत्ता बढ्यो
काठमाडौं । सांसदहरुको तलब भत्तामा बृद्धि हुने भएको छ । सांसदहरुले मासिक पारिश्रमिक ५५ हजार २ सय ३० रुपैयाँ निर्धारण भएको छ भने दैनिक बैठक भत्ता एक हजार पाउने भएका छन् । जम्मा गरि सांसदहरुले मासिक लगभग एक लाखसम्म बुझ्ने भएका छन ।
व्यवस्थापिका संसदको आइतबार बसेको बैठकले ‘संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक’ बहुमतले पारित गरेको हो । विधेयकमा प्रमुख दलहरुको तर्फबाट कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले अहिलेको सुविधा अपुग भएको भन्दै संशोधन हालेका थिए ।
के शीर्षकमा कति पाउँछन सांसदले ?
व्यवस्थापिका संसदले आइतबार पारित गरेको विधेयक अनुसार सांसदहरुको मासिक पारिश्रमिक मात्र ५५ हजार २ सय ३० रुपैयाँ छ । आवास सुविधा १८ हजार छ भने टेलिफोन तथा पत्रपत्रिका खर्च ३ हजार छ । त्यस्तै धारा बिजुलीको २ हजार, अतिथि सत्कार र विशेष भत्ता मासिक एक–एक हजार पाउनेछन । यो सबै गर्दा एक जना सांसदले मासिक ८० हजार २ सय ३० लिनेछन् ।
यसबाहेक दैनिक बैठक भत्ता दिनको १ हजार पाउनेछन । सरकारले ५ सय प्रस्ताव गरेको थियो । तर, प्रमुख दलहरुको सहमतिमा यसलाई संशोधन गरेर एक हजार रुपैयाँ पु¥याइएको छ ।
यदि व्यवस्थापिका संसदको बैठकमा महिना १० दिन मात्रै बस्यो भने पनि उनीहरुले १० हजार बैठक भत्ता पाउनेछन । यस्तै यातायात सुविधा भनेर प्रतिदिन एक हजार पाउनेछन् । माथि भनिएजस्तै १० दिन बैठक बस्यो भने १० हजार नै यातायात भत्ता पाउनेछन ।
यसबाहेक सांसदहरुको दैनिक भ्रमण भत्ता २५ सय तोकिएको छ । यदि कुनै सांसद महिनामा तीन दिन मात्रै आफ्नो जिल्लारक्षेत्रको भ्रमण जान्छ भनेर मान्ने हो भने उसले भ्रमणभत्ता ७ हजार ५ सय पाउनेछ । यसरी हेर्दा एक सांसदले महिनामा न्युनतम एक लाख ७ हजार ७३० रुपैयाँ बुझ्ने देखिन्छ । यसबाहेक बार्षिक रुपमा १५ हजार फर्निचर खर्च राज्यले दिनेछ । साथै १० लाखको यात्रा विमासमेत हुनेछ ।