२०७७ माघ ३, शनिबार

साटाखानीलाई वीरेन्द्रनगरमा गाभ्ने दलको निर्णय

satakhaniसुर्खेत । स्थानीय तहको पुनरसंरचनामा विवादित देखिएको साविकको साटाखानी गाविसलाई प्रस्तावित वीरेन्द्रनगर उपमहानगरपालिका मै गाभ्ने निर्णय भएको छ ।

जिल्ला प्राविधिक सहयोग समितिले जिल्लाको पुनरसंरचनाको प्रस्ताव पेस गरिसकेपछि असन्तुष्ट भई आन्दोलन थालेका साटाखानी बासीहरुले स्थानीय राजनीतिक दलहरुले नै वीरेन्द्रनगरमा गाभ्ने निर्णय गरेपछि आन्दोलन स्थगित गरेका छन् । जिल्ला विकास समितिको कार्यालय सुर्खेतमा पटकपटक नाराजुलुससहित धर्ना दिएपछि गाविसका राजनीतिक दलहरुले वीरेन्द्रनगरमै गाभ्ने सर्वदलीय निर्णय गरेका हुन ।

राजनीतिक दलहरु र प्राविधिक समितिले साटाखानी बासीको भावना विपरितको निर्णय गरी साटाखानीलाई अर्काे लेखबेसी गाउँपालिकामा राखिपछि आन्दोलन गरेका थिए । जिल्ला प्राविधिक सहयोग समिति, सुर्खेतले केन्द्रमा मागबारे जानकारी दिने बचन दिएपनि वास्था नगरिएको भन्दै साटाखानी बासीले दोस्रो पटक प्राविधिक समितिको कार्यालयमा धर्ना दिएका थिए । स्थानीय राजनीतिक दलहरुो सर्वदलीय निर्णयले वीरेन्द्रनगरमा गाभ्ने निर्णय गरेपछि सोही निर्णय जिल्ला प्राविधिक सहयोग समितिमार्फत सोही निर्णय केन्द्रमा र राजनीतिक दलहरुलाई बुझाएर साटाखानीबासीले आन्दोलन स्थगित गरेका छन् ।

तर अहिलेपनि आफूहरुको मागका बारेमा औपचारिक रुपमा केही धारणा नआएको संघर्ष समितिका सहसंयोजक राजु पौडेलले जानकारी दिए । जिल्ला प्राविधिक सहयोग समिति सुर्खेतले केन्द्रबाट औपचारिक निर्णय केही नआएको बताउने गरेको सहसंयोजक पौडेलले बताए । तर सुर्खेतको पुनरसंरचनाको प्रस्ताव प्राविधिक रुपमा त्रुटी भएकोले केन्द्रले फिर्ता गरेको थियो । समितिका एक जना सदस्यका अनुसार सच्याएर पठाइएको प्रस्तावमा साटाखानीको मागलाई भने समेटिएको छैन । नक्सा मात्रै सच्याएर केन्द्रमा पठाइएको ती सदस्यले जानकारी दिए ।

साटाखानीका राजनीतिक दलहरुले प्राविधिक समिति र जिल्लाका राजनीतिक दलहरुलाई ध्यानाकर्षण गराएपनि समितिले भने असन्तुष्टीलाई प्रस्तावमा नसमेटेको बुझिएको छ । संघर्ष समितिले व्यत्तिःगत रुपमा गरिबी निवारण तथा सहकारी मन्त्री हृदयराम थानीलाई पनि स्थानीय राजनीतिक दलले गरेको ण्र्निाय सहित ध्यानाकर्षण गराएको थियो ।

तर अहिलेसम्म औपचारिक रुपमा आफूहरुको मागका बारेमा केही जानकारी नआएको पौडेलले बताए । ‘‘दलहरुले समेत वीरेन्द्रनगरमा गाभ्ने निर्णय गरेका छन्,’ उनले भने–‘त्यो निर्णय पनि हामीले जिल्ला प्राविधिक सहयोग समिति र जिल्लाका राजनीतिक दलहरुलाई बुझाएका छौै, तर प्राविधिक समितिले औपचारिक जानकारी केही दिएको छैन ।’’

सुर्खेत जिल्लामा ९ स्थानीय तह हुने गरी प्रस्ताव तयार पारेर केन्द्रमा पठाइएको छ । सुर्खेतमा अब वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका, भेरीगंगा नगरपालिका र गुर्भाकोट गरी चारवटा नगरपालिका हुने भएका छन । यस्तै चौकुने, बराह, चिङगाड, लेखबेसी र सिम्ता गाउँपालिका हुने भएका छन ।

वीरेन्द्रनगर नगरपालिकामा साविकका रतु, गर्पन गाविस र गढी गाविसलाई समेटिएको छ । भेरीगंगा नगरपालिकामा लेखपराजुल पुरै गाविस गाविएको छ । यस्तै छाप्रे, विद्यापुर, वावियाचौर, सालकोट र तातापानी गाविसलाई समेटेर उत्तरदक्षिणको भुगोलमा पञ्चपुरी नगरपालिका बनाइएको छ । अर्को नगरपालिका गुर्भाकोटमा पहिलेको शुभाघाट नगरपालिका, धारापानी, मालारानी, र साहारे गाविसलाई समेटिएको छ ।

यस्तै नयाँ थपिएको लेखबेसी गाउँपालिकामा साटाखानी, कल्याण, नेटा, दशरथपूर र लेखफर्सा गाविसलाई समेटिएको छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा लगाम, बेतान, विजौरा, गुटु र घाटगाउँ गाविस रहेका छन् । यस्तै बराह गाउँपालिकामा पोखरीकाँडा, कुनारथरी, तरंगा, लेखगाउँ र हरिहरपूर गाविसहरु परेका छन ।

यता उत्तरपूर्वी सुर्खेतको चिङ्गाड गाउँपालिकामा साविकका मटेला, अवलचिङ, पाम्का, रानिबास र रजेना गाविस परेका छन भने पूवी सुर्खेतको सिम्ता गाउँपालिकामा साविकका घोरेटा, काफलकोट, आग्रिगाउँ, बजेडिचौर, खानीखोला, डाँडाखाली, राकम र काप्रिचौर गरी ८ गाविसहरु रहेका छन ।

लेखबेसीलाई नगरपालिकामा प्रस्ताव गरिएको छ भने वीरेन्द्य्रनगर नगरपालिकालाई उप महानगरपालिका प्रस्ताव गरिएको छ । यस्तै चौकुने र चिङगाडलाई विशेष क्षेत्र प्रस्ताव गरिएको छ ।