२०७७ माघ ५, सोमबार

मोर्चा भन्छ,‘प्रधानमन्त्रीप्रति हाम्रो विश्वास छ, अहिले समर्थन फिर्ता हुँदैन’

unnamedकाठमाडौं। मधेशी मोर्चाका नेता महेन्द्र राय यादवले मोर्चाले सरकारलाई दिएको समर्थन अहिले नै फिर्ता नलिने स्पष्ट पारेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्ताव ल्याउनेमा आफूहरु अझै विश्वस्त रहेको बताउँदै सरकारलाई दिएको समर्थन अहिले नै मोर्चाले फिर्ता नलिने बताएका हुन् । यादवले थपे,‘सरकारले प्रस्ताव ल्याउँछ, मलाई पूर्ण विश्वास छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा नेता यादवले सरकार गठनको पूर्वसन्ध्यामा काँग्रेस र माओवादी केन्द्रसँग मोर्चाले गरेको तीन बुँदे सहमति अहिलेसम्म कार्यान्वयन नभएको उल्लेख गर्दै सहमति कार्यान्वयनमा गम्भिर बन्नुपर्ने बताए ।

उनले संविधान संशोधनको लागि सरकारसँग आफूहरुको अझै विश्वास कायमै रहेको बताउँदै त्यसको लागि सत्तारुढ दलमात्रै नभई प्रमुख तीन दलहरु नै गम्भिर बन्नुपर्ने बताए । उनले सरकारले अविलम्ब संशोधन प्रस्ताव दर्ता गर्नुपर्ने जिकिर गरे ।
मोर्चा सम्मिलित संघीय गठबन्धनका तर्फबाट संविधान संशोधनको लागि सरकारलाई दिएको समयसिमा आजैबाट समाप्त भएको जनाउँदै अझैपनि प्रमुख दलहरु गम्भिर बनेर सहमतिका आधारमा प्रस्ताव दर्ता गराउनुपर्छ भन्ने पक्षमा आफूहरु रहेको उनको भनाई थियो ।

उनले अघि थपे,‘हामी अझैपनि आशावादी छौं, सरकारले सबैसँग सहमति गरेर प्रस्ताव ल्याउँदा राम्रो हुन्छ, हामी प्रस्ताव आओस् भन्ने पक्षमा छौं, अब ढिलाई गर्नुहुँदैन् ।’ यद्धपी उनले प्रस्ताव ल्याउने मिति तय गरेर प्रधानमन्त्री प्रचण्डले पटक–पटक झुक्याउने काम गरेको भन्दै अब म्याद तोक्ने कुरा आफूहरुलाई स्विकार्य नभएको जिकिर गरे ।

उनले प्रदेशको सिमांकनबारेको समस्या आयोगबाट टुँगो लगाउने कुरा आफूहरुलाई कुनै हालतमा मान्य नभएको जिकिर गर्दै अहिले नै संशोधनमार्फत टुँगो लगाउनुपर्ने बताए । उनले प्रस्ताव ल्याउन ढिलाई गरे आफूहरु बाध्य भएर सडक आन्दोलनमा जाने समेत चेतावनी दिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव भीम आचार्यले यो सरकारले कुनै हालतमा संशोधन प्रस्ताव ल्याउन नसक्ने ठोकुवा गरेका छन् । आचार्यले भने,‘म दाबीका साथ भन्छु, यो सरकारले संशोधन प्रस्ताव ल्याउनै सक्दैन ।’

नेता आचार्यले संविधानको संशोधनको अहिले कुनै आवश्यकत्ता र औचित्य नभएकोले पनि यो सरकारले कुनै हालतमा संशोधन प्रस्ताव ल्याउन नसक्ने बताएका हुन् । उनले संशोधन प्रस्तावबारे सत्तारुढ गठबन्धनभित्रै एकरुपता नभएको र संशोधनको माग गरेको मधेशी मोर्चा नै असहमत रहेको उल्लेख गर्दै पहिला आफ्नो दलमा सहमति कायम गरेर देखाउन चूनौति दिए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकपछि अर्को गर्दै काँचो, अपरिपक्व कदमहरु चालिरहेको समेत आरोप लगाए । आचार्यले थपे,‘प्रचण्डजीले एकपछि अर्को अपरिपक्वता देखाउँदै जानुभएको छ, त्यसैले उहाँ असफल भैरहनुभएको छ ।’ उनले यतिवेला मुलुक र जनताको लागि पनि चुनाव आवश्यकत्ता भएको स्पष्ट पारे ।

उनले संविधान संशोधनको नाममा कथित मुद्दाहरु उठाएर मुलुकलाई ध्रुविकरण गर्न खोजिएको समेत आरोप लगाए । उनले अघि थपे,‘यो गलत छ, यस्तो गलत मुद्दा अघि बढाउने खेल र षडयन्त्र सफल हुँदैन् ।’ यद्धपी उनले सरकारले प्रस्ताव अघि सारे हाले त्यसमा आफ्नो पार्टीले ईस्युवाईज छलफल गर्ने जानकारी दिए ।

उनले अहिले सिमांकनको परिवर्तन गर्ने पक्षमा एमाले नभएको जिकिर गरे । आचार्यले विदेशीलाई राष्ट्रपति बनाउनुपर्छ भन्ने प्रावधानको पक्षमा नभएको समेत स्पष्ट पारे । भाषाको विवाद समाधान आयोगले गर्छ भनेर संविधानमा स्पष्ट लेखिएको भन्दै त्यसमा अनावश्यक बखेडा झिक्नु नाटक मञ्चन गर्नुमात्रै भएको उनको टिप्पणी थियो ।

फरक प्रसँगमा आचार्यले प्रचण्ड नेतृत्वको वर्तमान सरकार बुख्याँचा भएको टिप्पणी गरे । उनले अघि थपे,‘यो सरकारले केही गर्छ भन्ने आशा जनतालाई छैन,यो सरकार असफल भएको छ, र असफल हुन्छ भनेर जनताले पहिले नै भनिसकेका थिए, असफल भयो भनेर आश्चर्य मान्नुपर्दैन ?’ उनले वर्तमान सरकार कसैले अह«ाएर र खटाएर बनेको सरकार भएको आरोप लगाए ।
उनले आफ्नो दलले यतिवेला चुनाव चाहेको भन्दै सरकार परिवर्तनमा कुनै चासो नभएको समेत जिकिर गरे । आचार्यले थपे,‘हामी चुनाव चाहन्छौं, यदि सरकारले चुनाव गर्न सक्दिन भनेर हात उठाउँछ भने मात्रै केही सोचौंला, तर सरकारको झमेलामा परेर हामी समय खेर फाल्न चाहँदैनौं ।’ उनले सरकारले गर्न नसक्ने भए आफ्नो दलले त्यसपछि प्रतिक्रिया दिने जानकारी दिए ।

उनले प्रदेशको सिमांकनको समाधान गर्ने नाममा ८ प्रदेश कुनै हालतमा नहुने समेत ठोकुवा गरे । उनले संघीयता कार्यान्वयनमा सबैभन्दा बढि जिम्मेवार आफ्नो दल भएको भन्दै यदि सबैलाई संघीयता घाँडो भएको हो भने एमालेले पनि कति दिन बोक्ने भन्दै प्रश्न समेत गरे ।

यद्धपी उनले संविधान कार्यान्वयनमा आफ्नो दल पूर्ण प्रतिबद्ध रहेको भन्दै संविधान कार्यान्वयनको लागि समयमै निर्वाचन हुनुपर्ने आफ्नो पार्टीका अडान रहेको स्पष्ट पारे । उनले प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो बुद्धिले भन्दापनि अर्काको बुद्धिमा संविधान संशोधनको कुरा उठाएको आरोप लगाए ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख प्रशासनिक सल्लाहकार नारायण दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्ताव दर्ता गराउने दाबी गरेका छन् ।

नेता दाहालले संविधान संशोधन गर्ने विषय पेचिलो बनेको उल्लेख गर्दै प्रस्ताव दर्ता गराउनको लागि प्रधानमन्त्रीले अहोरात्र मेहनत गरेको बताए । उनले अघि थपे,‘यो सरकारको गठन नै संविधान संशोधन गरेर सबैलाई सहमति ल्याएर चुनाव गराउनको लागि हो, अनि संविधान कार्यान्वयनको लागि हो ।’

उनले मधेशी मोर्चासँग वर्तमान सरकार गठन गर्नुपुर्व नै तीन बुँदे सहमति काँग्रेस र नेकपा माओवादी केन्द्रले गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहाल यतिवेला संशोधन गर्नेमा नैतिक दबाबमा रहेको समेत जिकिर गरे ।

उनले प्रचण्ड संविधान संशोधनबाट पछि हट्न लागेको भनेर बाहिर हल्ला भएकोमा तिव्र असन्तुष्टि पोख्दै भने,‘यसमा कुनै तुक छैन, यो सत्य कुरा होईन ।’ उनले संविधान संशोधन दलहरुवीचको न्युनतम सहमति बनाएर अघि बढाउने पक्षमा प्रधानमन्त्री रहेको जानकारी दिए । दाहालले अघि थपे,‘हचुवाको भरमा संशोधन प्रस्ताव अघि बढ्दैन, हामीले कटुवाल काण्डमा ठूलो धोका खाएका छौं ।’

उनले संविधान संशोधनकोलागि मधेशी मोर्चाले दिएको अल्टिमेटम आज सकिन लागेको भएपनि मोर्चा कसरी प्रस्तुत हुन्छ त्यही अनुसार सरकारले आफ्नो धारणा बनाउने समेत जनाए । उनले सरकारमा समावेश हुनेहरु बढिरहेकोले संविधान संशोधनमा सहमति जुट्ने आधारहरु समेत तय भएको जिकिर गरे ।

उनले वर्तमान काँग्रेस–माओवादी केन्द्रको गठबन्धनले तीन वटै निकायको चुनाव गराउने समेत दाबी गरे । उनले थपे,‘चुनाव गर्नकै लागि यो सरकार गठन भएको हो नि, यो गठबन्धन तीन वटा निकायको चुनाव गराउनजेलसम्म हो ।’ प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले प्रदेशको सिमांकनको विवाद समाधानको लागि प्रधानमन्त्री प्रचण्डले अघि सारेको संशोधन प्रस्तावमा आफ्नो दलको पूर्ण समर्थन रहेको दाबी गरेका छन् ।

यादवले प्रदेशको विवाद समाधानको लागि सरकारले ५ नम्बर प्रदेशलाई टुक्र्याउनेगरि प्रस्तावमा काँग्रेसको समर्थन रहेको र यसमा काँग्रेसभित्र कुनै विवाद नभएको स्पष्ट पारे । उनले अघि थपे,‘यसमा पार्टीभित्र कुनै विवाद छैन, पार्टी सभापति शेरबहादुर देउवाको अभिव्यक्तिपनि आईसकेको छ ।’

उनले संविधान संशोधन अहिलेको आवश्यकत्ता भएको उल्लेख गर्दै थपे,‘संविधान संशोधन नगरीकन संविधान कार्यान्वयन हुँदैन, यसमा सबै दलहरुले आ–आफ्नो अडान छोडुनपर्छ ।’ उनले संशोधनको विषयलाई लिएर आफ्नो पार्टीभित्र कुनै दुई मत नरहेको समेत जिकिर गरे ।

उनले मधेशी र पहाडीको नाममा कसैलेपनि राजनीति गर्न नहुने बताए । उनले सत्तारुढ दल, प्रमुख प्रतिपक्ष र आन्दोलनरत मधेशी मोर्चा सहित गरेर तीन पक्षवीच सार्थक बार्ता गरेर संविधान संशोधन प्रस्ताव अघि बढाउनेगरि अहिले कुराकानी भैरहेकाले प्रस्ताव छिट्टै आउने समेत विश्वास व्यक्त गरे ।