२०७७ मंसिर ९, मंगलवार

चेउच्याङ र मप विश्वविद्यालयबीच समझदारी, औपचारिक समझदारी कार्यान्वयन गर्न शिक्षा मन्त्रीको सुझाव

सुर्खेत । यहाँको वीरेन्द्रनगरमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चीनको चेउच्याङ विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।1-mu

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । मप विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर उपेन्द्रकुमार कोइराला र चेउच्याङ विश्ववविद्यालयका उपाध्यक्ष याङ याङलिनले मप विश्वविद्यालयका सहकुलपति तथा शिक्षा मन्त्री धनिराम पौडेल, पूर्व गृहमन्त्री शक्ति बस्नेत, नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवाली, नेकपा माओवादीका नेता धर्मेन्द्र वास्तोला, पूर्व सांसद मंगल वि.क., सांसद तप्त विष्ट, लक्ष्मी पोख्रेल लगायतको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस अघि पनि मप विश्वविद्यालयले विभिन्न विश्वविद्यालयहरुसंग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । खासगरी यो समझदारी पत्र दुवै विश्वविद्यालयलाई फाइदा हुने गरी आगामी दिनमा गतिविधिहरु संचालन गर्नका लागि गरिएको मप विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर उपेन्द्रकुमार कोइरालाले जानकारी दिए ।

मुख्य गरी यो विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्नका लागि चीनको चेउच्याङ विश्वविद्यालयले सहयोग गर्ने छ । अहिले समझदारी पत्रमा हस्ताक्षर गरिएको र आगामी दिनमा कार्यान्वयनका लागि कार्ययोजना बनाएर काम गरिने उपकुलपति कोइरालाले बताए । चेउच्याङ विश्वविद्यालयले चीनिया भाषा कक्षा पनि मप विश्वविद्यालयमा संचालन गर्ने छ । चीनिया भाषा सिकेका विद्यार्थीहरुले उक्त विश्वविद्यालयमा पढ्न पाउनेछन ।

यसैबीच कार्यक्रममा प्रमुख अतिथी तथा शिक्षा मन्त्री धनिराम पौडेलले समझदारी पत्रको औपचारिकतासंगै कार्यान्वयन गर्न सुझाव दिए । पिछडिएको क्षेत्रको विश्वविद्यालयको लागि समझदारी आवश्यकता भएको भन्दै मन्त्री पौैडेलले यहाँको विश्वविद्यालयको विकासको लागि वातावरण बनेको बताए । विश्वविद्यालय स्थापनाका लागि जसरी राजनीतिक सहमति र प्रतिबद्धता भएको थियो त्यसरी नै यो विश्वविद्यालयको विकास र जिवन्तताका लागि पनि सहमति र प्रतिबद्धता कायम रहनुपर्ने उनले सुझाव दिए ।

भौगोलिक रुपमा प्रदेश नं. ६ मा यो विश्वविद्यालय रहेतापनि ज्ञान र पहिचानका हिसाबले विश्वव्यापीकरण हुनु जरुरी रहेको भन्दै शिक्षा मन्त्री पौडेलले विषयबस्तु र शिक्षा यो क्षेत्रको सुहाउदो हुनुपर्नेमा जोड दिए ।

यस्तै कार्यक्रममा पूर्व गृहमन्त्री शक्ति बस्नेत र नेकपा एमाले) का उपाध्यक्ष युवराज ज्ञावली, नेकपा माओवादीका नेता धर्मेन्द्र वास्तोलाले पनि यहाँको शैक्षिक विकासको धरोहरमा रहेका मप विश्वविद्यालयको विकासको लागि यो समझदारीपत्र कोसेढुङगाका रुपमा सावित हुने बताए । यस्तै कार्यक्रममा सांसदहरु तप्तबहादुर विष्ट, लक्ष्मी पोख्रेल, पूर्व सांसद मंगल विकले पनि आफ्नो भनाइर राखोका थिए ।