२०७७ माघ ९, शुक्रबार

नार्कको जग्गा फिर्ता नहुँदा अनुसन्धानमा समस्या

downloadसुर्खेत।  सुर्खेतको दशरथपुरमा रहेको नेपाल कृषि अनुसन्धान केन्द्र (नार्क) को जग्गा माओवादी शिविरपछि नेपाली सेनाले अझै फिर्ता गरेको छैन् ।

जग्गा फिर्ता नहुँदा कर्मचारी व्यवस्थापनदेखि कृषि अनुसन्धान तथा उत्पादनका कार्यक्रमसमेत प्रभावित भएको नार्कले जनाएको छ । नार्कको जग्गा २०६३ देखि ०६८ सालसम्म लगातार माओवादी छैटौं डिभिजन जनमुक्ति सेनाको शिविर व्यवस्थापनमा प्रयोग हुँदै आएको थियो । पछि नेपाली सेनामा लडाकू समायोजन भइसकेपछि हालसम्म सेनाले नै उक्त जग्गा भोगचलन गर्दै आएको छ ।

जग्गा अभावबाट उत्पन्न समस्याका बारेमा आफ्नो केन्द्रीय कार्यालय मार्फत गृह र शान्ति मन्त्रालयमा पत्र पठाएको भएपनि हालसम्म कार्यान्वयन नभएको नार्क सुर्खेतका प्रमुख रामबाबु पनेरुले बताउनु भयो । यता जिल्ला प्रशासन कार्यालयले सम्बन्धित मन्त्रालयबाट निर्देशन तथा परिपत्र आउने वित्तिकै औपचारिक रुपमै नार्कलाई जग्गा फिर्ता गरिने जनाएको छ ।

मध्यपश्चिम क्षेत्रकै आशाको केन्द्रबिन्दु रहेको नार्कले सुर्खेत, दाङ, बाँके, बर्दिया, सल्यान, जाजरकोट, दैलेखलगायत जिल्लामा बीउबिजन अनुसन्धान र निर्यात गर्दै आएको छ । ३८ हेक्टर जग्गा हुने बेलामा नार्कले यस क्षेत्रमा २० प्रतिशत मात्र आवश्यकता पूर्ति गर्दै आएको कार्यालयको तथ्यांङ्कमा उल्लेख छ ।

जग्गा अभावमा कृषि अनुसन्धान केन्द्र अहिले २३ हेक्टर क्षेत्रफलमा सीमित भएको छ । यस विषयमा भने सरकारले कुनै पहल नगरेको कृषकको गुनासो छ