२०७७ माघ ९, शुक्रबार

राजसंस्था पूर्नस्थापना नगरिए मुलुकको राष्ट्रियता खतरामा : अध्यक्ष खड्का

pashupati-khadkaकाठमाडौं, १७ मंसिर । शाही युवा शक्ति नेपालले विदेशीको ईशाराको चोरबाटोबाट ल्याईएको गणतन्त्र खारेज नगरेसम्म नेपाल र नेपालीहरुको भविष्य अन्यौल नै रहने भन्दै गणतन्त्र खारेजीको माग गरेको छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति नेपालले नेपालको ईतिहास भनेको नै राजसंस्था भएकोले राजसंस्थालाई पाखा लगाएर नयाँ नेपाल बन्नै नसक्ने समेत ठोकुवा गरेको गरेको छ । उसले राजसंस्था नभए देशको राष्ट्रियता पनि खतरामा पर्ने खतरा औंल्याएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै शक्तिका अध्यक्ष पशुपति खड्काले राजसंस्थाले एकिकरण गरेको नेपाल अहिले गणतन्त्रको हिमायतीहरुले देशलाई छिन्नभिन्न बनाउनेतर्फ उत्सर्ग रहेको आरोप लगाउँदै भने,‘नयाँ नेपाल बनाउने निहुँमा ईतिहासलाई मेट्ने काम भएको छ, नेपालको राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, राष्ट्रियता गुम्ने खतरा बढेर गएको छ, नेपाली जनताको चाहना विपरित विदेशीहरुको ईशारामा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता जबरजस्ती लाद्ने काम भएको छ, यो हामीलाई किमार्थ मान्य छैन ।’

उनले नेपालको विद्यमान समस्याको जड नै गणतन्त्र भएको बताउँदै त्यसलाई जरैबाट उखलेर फालेपछि समस्याको समाधान हुने दाबी गरे । उनले अघि थपे,‘त्यसैले अब पनि जनता सुतेर बस्ने हो भने देशले दुःख पाउँछ, हाम्रो राष्ट्रियता खतरामा पर्छ, अब जागौं, असफल गणतन्त्रको विरोध गरौं, राजतन्त्र पूर्नबहाली गरौं ।’

कार्यक्रममा शक्तिका महासचिव कृष्णबहादुर थापाले पनि आफ्नो भनाई राखेका थिए ।  शाही युवा शक्तिले राजतन्त्र पूर्नस्थापना र गणतन्त्रको खारेजीको लागि पहिलो चरणको उपत्यका केन्द्रित आन्दोलन समेत घोषणा गरेको छ । उसले अघि सारेको आन्दोलन अनुसार पौस १ गते गणतन्त्र खारेजीको माग गर्दै दरबारमार्गमा महेन्द्र स्मृति दिवस भव्य रुपमा मनउने, उपत्यकाको १५ वटा चुनावी क्षेत्रमा असफल गणतन्त्रको विरोध सभा गर्ने जसअनुसार पहिलो विरोध सभा काठमाडौं क्षेत्र नम्बर ३ जोरपाटी चोकमा गर्ने र पौस २६ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा घोषणा गर्न जनदबावमूलक कार्यक्रमहरु गर्ने रहेका छन् ।