२०७७ माघ ८, बिहीबार

युद्धकालमा जाजरकोटको एक महिने यात्रा

२०६२ साउनमा माओबादी छापामारले कालिकोट सेनाको पिली ब्यारेक फौजी आक्रमण गरी ध्वस्त बनायो । दर्जन बढी छापामार र सेनाका ६२ जनाले ज्यान गुमाए, कैयौं अत्याधुनिक हतियारसहित ६० जनालाई छापामारले नियन्त्रणमा लिएको समाचार पत्रपत्रिकाहरूमा हटकेक बनिरहेको थियो । युद्ध रापतापमा थियो ।

वारपारको लडाइमा सेना र माओवादी गर्माइरहेका थिए, नियन्त्रणमा लिइएका सेनालाई सुर्खेतकै पूर्वतिर ल्याइएको छ भन्ने खबर हिमाल खबर साप्ताहिकका रिपोर्टर प्रकाश पन्त दाजुले खै कता बाट सुइँको पाउनु भएको रहेछ । प्रकाश पन्त दाजुसँग मेरो रेडियो भेरी एफएममा काम गर्दाताका देखि नै परिचय थियो । केशव कोइराला दाजु र प्रकाश दाजु बेला–बेलामा स्थानीय समाचारहरू बटुल्न हाम्रो घरतिर आइरहनु हुन्थ्यो ।

६० जनालाई लडाकुहरूद्वारा कस्तो व्यवहार गरिएको छ भन्ने समाचार सम्प्रेषण गर्न सुर्खेत पूर्वतिर जाउँ भनेर मलाई प्रकाश दाजुले प्रस्ताव गर्नुभयो । अलि समय लामै लाग्ने देखिए पछि मैले सुरूमा जानलाई त आनाकानी गरेको थिए तर एक हप्ता बढी नलाग्ने उहाँको अडानपछि म जानलाई राजी भए । सुर्खेत वीरेन्द्रनगर धुलियाबिटबाट पैदलै हिँडेर हाम्रो यात्रा सुरू भयो । साटाखानी, चौरासे हुँदै हामी नेटा भन्ने ठाउँ स्थानीय माओवादी कार्यकर्ताको सम्पर्कमा पुग्यौ ।

नियन्त्रणमा लिईएका सेनालाई कहाँ राखिएको छ भन्नेमा ति बुढा कार्यकर्ताले अनभिज्ञता जनाए पनि एरिया इन्चार्जसम्म हाम्रो कुरा राखिदिने बताए । दोश्रो दिन बिहान हामी त्यहाँबाट हिँड्नु पर्ने खबर आयो ।

यावत उल्झनहरू झेल्दै करिब एक साता हिँडेरै हामी सुर्खेत पोखरीकाँडा पुग्यौँ । पोखरीकाँडादेखि अलि अगाडी गए जाजरकोट सुर्खेतको सिमाना पुगिन्छ । त्यहाँ मिजासिला हाँसिरहने युद्ध पत्रकार गणेशकञ्चन भारती दाजुसँग भेट भयो । नियन्त्रणमा लिइएका ६० जनालाई जाजरकोटमा राखिएको गणेशकञ्चन दाजुले संकेत गर्नुभयो र उहाँ पनि उनीहरूलाई भेट्न जाँदै हुनुहुँदो रहेछ ।

हिँड्दा–हिँड्दै लखतरान परेको मलाई यात्रा जाजरकोटसम्म पुग्ने कुराले साह्रै बोर लागेको थियो । फर्किउँ भन्ने ढिपी गरे पनि दाजुहरूको मिसनको अगाडी म फिक्काजस्तै भएँ । उहाँहरूले सम्झाईबुझाई गरेर जाउँ भनेपछि मन नलागि–नलागि पनि मैले जाने कुरामा सहमति जनाए ।

पोखरीकाँडाबाट केही अगाडी हिँड्दै हामीले सुर्खेतलाई बाई–बाई ग¥यौँ र जाजरकोटतिर पाइला चाल्याँै । त्यसपछि सुरू भयो हाम्रो चुनौती र बर्जपातहरूको यात्रा …मुख्य वर्षात् सकिए पनि मौसमले बेलाबेला वर्षिएर हामीलाई हाम्रो यात्रामा चुनौती थपिरहेको भान हुन्थ्यो । एक जना युद्ध पत्रकार गणेशकञ्चन भारती दाजु र अर्का व्यवसायिक पत्रकार प्रकाश पन्त दाजुसँग म बबुरोको अनौठो र नितान्त चुनौतीको यात्रा तय भयो ।
यसरी हाम्रो यात्रा माओवादी आधार इलाका भनिने जाजरकोट जुँगाथापाचौर पुग्यो । जुँगाथापा चौरमा मनऋषि धिताल, ओम शर्माहरूसँग भेट भयो । जुँगाथापाचौरबाट हामी माओवादी नेता तथा मध्यपश्चिम कमाण्ड इन्चार्ज खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सँगै अगाडी जाने खबर आयो । बिहानै हिँड्ने बेला एक भवनमा झुस्स दाह्री पालेका दुब्ला–दुब्ला व्यक्ति कतै फोनमा कुरा गर्दै थिए ।

गणेशकञ्चन भारती दाजुले भन्नु भयो, ‘उनै हुन् माओवादी लडाकु कमाण्डर जनार्दन शर्मा ‘प्रभाकर’ । उनीलाई नजिकबाट देख्यौँ हामीले तर उनीसँग कुरा भने हुन पाएन । झट्ट हेर्दा भने निक्कै फुर्तिला देखिन्थे । यिनी भविष्यको नेपालको राजनीतिको बलिया सम्भावना हुन् भन्ने मलाई त्यतिबेलै लागेको थियो । कैयौ फौजी कमाण्ड सम्हालेको खबर सुनेको थिएँ मैले ।

आज पनि माओवादी सरकारका प्रभावशाली ऊर्जामन्त्रीको जनपक्षीय कामले मेरो त्यतिबेला आँकलन सही निस्केको जस्तो लाग्छ । खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सँगै उनको सुरक्षाको लागि दुई जना छापामार हतियारसहित सँगै हामी त्यहाँबाट हिँड्यौ । यात्रामा झन् चुनौती थपियो । पहाडको यात्रा, लेक लाग्ने चिसो सिरेटो अनि बाटोमा जुकाहरू टाँसिने । ढुङ्गाहरूमा जुका ठाडो भएर तन्किरहेको देखिन्थे ।
एक हप्ताको लागि भनेर ल्याएको पैसा पनि हामीसँग लगभग सकिइसकेको थियो । साँच्चै अभावसँग जुध्दै हामी अगाडी बढिरहेका थियौँ ।

प्रकाण्ड अगाडीको खबर बुझ्दै अगाडी बढिरहेका हुन्थे । सेनाले जाजरकोटमा आफ्नो मिसन सुचारू गरिरहेको छ भन्ने खबर गर्थे बाटोमा । गर्खाकोट जंगलमा केही अगाडी हिँडेका छापामार हतियारको पोजिसन लिँदै केहि पर दौडिए । सेनाको फेला परियो भनेर हामी आत्तियौ । म झन् आत्तिएर खोलातिर दौड्न खोजेँ तर प्रकाण्डले रोके । न आत्तिनुस्, केही हुँदैन भनेर हामी सबैलाई रोके ।

भएछ के भने त्यहाँ सेन्ट्री बसेका माओवादी कार्यकर्ता हामीलाई सेना नै सोचेर भागेका रहेछन् । हामी पनि उनी सेना हुन् भनेर आत्तिएका थियौ । उनले भाग्दा छाडेका डायरीहरू फेला परेपछि प्रकाण्डले भने, ‘उनीहरू हाम्रै मान्छे रहेछन् ।’ यसरी उनले हामीलाई र हामीले उनलाई सेना सोचेर भ्रममा परेर आत्तियौ ।

हामी ढिमे पुग्यौँ । त्यहाँ स्थानीयबासिन्दाको घरमा पत्रकार भनेपछि सहजरूपमा बस्न, खान सजिलो भयो । कार्कीगाउँबाट सेना आइरहेको छ भन्ने बेला–बेलामा खबर आउँथ्यो । एक जना रक्की गर्ने सेन्ट्रीवालाले सेना ढिमे नै पुगेको खबर ल्याए । त्यहाँ स्थानीय कार्यकर्ताको पनि भागाभाग भएपछि हामी आत्तियौँ । पत्रकार भनेर सेनाले हामीलाई पक्कै छाड्नेवाला छैन भन्ने हामीलाई लाग्यो । छापामार माथि जंगलमा अड्डा जमाएर बसेको छन् भन्ने खबर पाएपछि बरू छापामारकै सम्पर्कमा पुगे सुरक्षित भईन्छ भन्ने लागेर हामी सिमसिमे पानीमा भिज्दै ढिमेदेखि उकालो लाग्यौँ ।

हस्याङ्ग–फस्याङ्ग गर्दै करिब एक घण्टा उकालो हिँडेपछि छापामारलाई भेट्यौ । सेनाकै लवजमा बसेको देखेर मलाई त सेनाकै फेला परियो भन्ने लागेको थियो । हतियारसहित प्लाष्टिक ओढेर सेन्ट्री बसेका छापामारहरूले हामीलाई देखेर ठूलै स्वरमा को होस् ? भन्ने आवाज दिए । हामी पत्रकार भनेर आफ्नो परिचय दियौँ । युद्ध पत्रकार गणेशकञ्चन दाजु भएर हामीलाई सजिलो भएको थियो । नत्र छापामारले हामीलाई विश्वास गर्दैनन् थिए होला भन्ने लाग्छ ।

जंगलमै मेस थियो । छापामारहरू प्लाष्टिकमा भात, दाल हालेर खान्थे । कोही यात्रामा खाने भनेर प्लाष्टिकमा हालेर राख्थे । छापामारहरूसँगको यात्रा कम्ति रोमाञ्चक थियो हाम्रो लागि । पिठ्यँुमा गह्रुङ्गो झोला, साथमा हतियार, कुम्लो कुटिरा बोकेर अविचलित हिँडिरहन्थे ति योद्धाहरू । त्यही लस्करले हिँड्दा–हिँड्दै बाटो बनेको हुन्थ्यो जंगलमा । उनीहरू साँच्चै प्रचण्ड, बाबुरामको तस्विरका दस्ताबेज बोकेर निःस्वार्थ जनताको लागि लडिरहेका थिए । आजकल ति योद्धाहरू कहाँ छन् होला ? जसले जनताको जीवन परिवर्तनको सपना बोकेर महिनाको ६ सय रूपियाँले कैयौं ब्याटलहरू भोकभोकै लडे ।

सयौं बमका छर्राहरू देखाउँदै भन्थे, ‘जनताको शासन गर्ने सत्ताको लागि एक मुठी रगत रहुन्जेल लडिरहन्छौँ ।’ छापामारको बलिदानमा टेकेर सत्तामा पुग्ने सुप्रिमो प्रचण्ड अचेल भन्छन्, ‘युद्धमा सुरक्षा दिने कार्यकर्ताहरू आजकल चौतर्फी हमला गर्छन् ।’ युद्धमा सुरक्षा कार्यकर्ताले होइन, तिनै निःस्वार्थी लडाकुहरूले दिएका थिए । प्रचण्डलाई देवत्वकरण गर्दै ति नेतृत्वलाइ सोझिने संगिनहरू लडाकुहरूको छातिले छेक्थे । हिजोका सुप्रिमोको सुरक्षा तिनै लडाकुहरूले गरेका थिए । समुन्नत नेपालको सपना देखेर लड्नेहरू आज लालाबालाहरूको भविष्य बनाउन अरबको खाडीमा तातो हावा खाइरहेका छन् । लडाकु समायोजन होइन, लडाकु बिघटन गरेर प्रचण्डले इतिहासमा गम्भीर भुल गरे ।

छापामारसँगको उल्झनको यात्रा हाम्रो जाजरकोट रामीडाँडा पुग्यो । रामीडाँडामा नेता देव गुरूङसँग एउटा सानो घरमा हाम्रो भेट भयो । प्रकाश दाजु र गणेशकञ्चन दाजुले देव गुरूङको अन्तर्वार्ता टिपोट गर्नुभयो । सुस्त र सालिन बोल्ने देव गुरूङले भोलि नियन्त्रणमा लिइएका ६० जनालाई अनमिनको निगरानीमा रिहा गरिने जानकारी गराए । त्यही जनअदालतका कानुनी अधिवक्ता एकराज भण्डारीसँग भेट भयो । अन्तर्वार्ता लिने भनेपछि उनि अस्कोट मिलायर चिटिक्क परेर अन्तर्वार्ता लागि फोटा खिचाउन तयार भए ।

नियन्त्रणमा लिइएका ६० जनालाइ छापामारहरूले त्यहाँ पु¥याए । उता, रूकुम हँुदै अनमिनको टोली पनि रामीडाँडा पुग्यो । बन्दीहरूसँग सबै अवस्थाका बारेमा प्रकाश दाजु र गणेशकञ्चन दाजुले बुझ्नु भयो । नियन्त्रणमा लिईसकेपछि कुनै पनि अमानवीय व्यवहार नगरिएको र छापामारहरू साथी जस्तै लागेको उनीहरूले बताउँथे । कोही चप्पल सँगै थिए, कोही सेनाको आधा युनिफर्ममा थिए, कोही घाइते भए पनि हात खुट्टामा ब्यान्डेज बानिरहेका देखिन्थे ।

छापामारहरूले उपचारको व्यवस्था पनि गरेको देखियो । रिहाई कार्यक्रमको आयोजना भयो । देव गुरूङले कार्यक्रममा सम्बोधन गर्छन् भन्ने लागेको थियो । तर उनी कतै देखिएनन् । खड्गबहादुर विश्वकर्माले बोले उनले स–सम्मान रिहाइ गरिएको उद्घोष गर्दै प्रत्येक बन्दीहरूलाई ५÷५ सयका दरले बाटो खर्च उपलब्ध गराए । अनमिनको जिम्मा लगाएर नियन्त्रित सेनाका बन्दीहरूलाइ अबिर माला लगाएर बिदाई गरियो । फेरि जिन्दगी पाएको सहानुभूतिले होला लामो लस्करमा कति त रूँदै हात हल्लाउँदै विदा भैरहेका देखिन्थे ।

उनीहरूसँग भेट गर्ने हाम्रो मुख्य उद्देश्य पूरा भईसकेको थियो । माओवादी नेताले केही खर्च दिने प्रस्ताब गरे पनि प्रकाश दाजुले लिन मान्नु भएन । प्रकाश दाजुको घर जाजरकोट लहँ रहेछ । उहाँले अब आफ्नो घर हँुदै सुर्खेत फर्कने कुरा गर्नुभयो । यात्राभरीको सहचारी प्यारो गणेशकञ्चन दाजुसँग त्यहीँ विदा भएर हामी रामीडाँडा झोलुङ्गे पुल तरेर तिरैतिर लहँतिर लाग्यौ । जाजरकोट सदरमुकाम हुँदै प्रकाश पन्तको दाजुको घरमा पुग्यौ । प्रकाश पन्त दाजुको घरमा पुग्दा नेपाली नारीहरूको ठूलो चाड तीज आइसकेको थियो ।

जाजरकोटी संस्कृतिको तीज अरू भन्दा बेग्लै पहिचानको लाग्यो । जुन संस्कृतिहरू छन् हाम्रो ऐतिहासिक विरासतहरू हुन् । प्रकाश दाजुको घरमा दही र काँक्रा धित मरून्जेल खाइयो । ३ दिनको बसाई पछि हामी सुर्खेततिर हिँड्यौ । हामी दुई जनाको साथमा प्रकाश दाजुको काकाको छोरा बहादुर पन्त पनि सुर्खेतसम्म पुग्ने यात्रामा थपिनु भयो । जाजरकोट सम्भावनाहरूको यौटा यस्तो जिल्ला हो, जहाँ अवस्थित बहुमूल्य जडीबूटी, पत्थरहरू व्यवस्थापन गर्न सके धेरै सम्भावनाहरू नेपालमै भिœयाउन सकिन्छ ।

त्यही सम्भावानाहरूले जाजरकोट मात्र होइन, विकासको लहरले मध्यपश्चिमको मुहार फेर्न सकिन्छ । युद्धले जाजरकोट धेरै हद आजित छ । विकासमा राज्यबाट धेरै पछि पारिएको छ जाजरकोट… । कुशल राजनैतिक नेतृत्वको अभाव अझै पनि खड्कीरहेको छ, जसले जनताको कष्टकर जनजीवनलाई सहज बनाउने नेतृत्व लिन सकोस् । जाजरकोटकै शक्ति बस्नेत गृहमन्त्री भए पनि २÷४ वटा मोटा गफ लगाउन अनि तस्कर, गुण्डा, घुसखोरी कमिसनखोरको घेरामा परेर व्यक्तिगत फाइदा लिन बाहेक जाजरकोटी जनताको लागि अर्थोक केही सिन्को भाँच्न सकेनन् ।

जाजरकोटलाइ मानसपटलमा ताजा र स्मरणीय बनाउँदै रूकुमको सिमाना छुँदै कतै बास बस्दै कैयांै घण्टा हिडेर हामी सल्लीबजार पुग्यौ । सल्लीबजारले सल्यानको पनि मुहार देखायो । सल्लीबजारबाट सिधै वीरेन्द्रनगरको बसको टिकट काटेर हामी ठेलमठेल सिटमा बस्यौँ । गाडीले विस्तारै आफ्नो गति लियो । बसमा यही गीत बजिरहेको थियो ।

‘जिन्दगी एक सफर हे सुहाना, यहा कल क्या हो किसने जाना’ यसरी करिब एक महिनाको पैदल यात्रा पूरा गरेर हामी नीलो भेरी नदीको किनारै किनार वीरेन्द्रनगरतर्फ हुइकियौँ ।