२०७७ मंसिर १३, शनिबार

सेवा आयोगका सदस्यको पदभार ग्रहण

rana-sirसुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको सेवा आयोगको सदस्यमा नियुक्त भएका डा. केशरसिंह रानाले आइतबार एक कार्यक्रमकाबीच पदभारग्रहण गरेकाछन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको रिक्त सेवा आयोगको सदस्य पदमा नेपाल सरकारबाट मङ्सिर १९ गतेदेखि लागु हुने डा. राना सदस्यमा नियुक्त भएका थिए । विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइराला, सेवा आयोगका अध्यक्ष प्रा.डा. राधा शाह, रजिष्ट्रार डा. महेन्द्र कुमार मल्ल निवर्तमान सेवा आयोगका सदस्य श्रीरामप्रसाद उपाध्यायले डा. रानालाई स्वागत गरेका थिए ।

उपकुलपति प्रा.डा. कोइरालाले विश्वविद्यालयको विगतदेखिको अनुभव बटुलेका अनुभवी व्यक्तिको सेवा आयोग जस्तो अत्यन्त संवेदनशील र जिम्मेवारपूर्ण भूमिकामा नियुक्त हुनुले यो विश्वविद्यालयमा योग्य र दक्ष जनशक्ति भित्र्याउने प्रक्रिया अगाडी बढाउन सहज हुने विश्वास व्यक्त गरे । त्यसै गरी सेवा आयोगका अध्यक्ष प्रा.डा. राधा शाहले विश्वविद्यालयको स्थायित्व नै योग्य र दक्ष जनशक्तिको स्थायित्व र पदोन्नति भएको उल्लेख गर्दै विश्वविद्यालयको सेवा आयोगको प्रक्रियालाई अगाडी बढाउन तयार भएको प्रतिबद्धता व्यक्त गरिन ।

विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजना गरिएको बधाई, स्वागत तथा विदाई कार्यक्रममा बोल्दै रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले विश्वविद्यालय स्थापनामध्येको अभियन्ता समेत रहेका र विगत बहुमुखी क्याम्पस हुँदै अघिल्लो कार्यकालको अनुभव समेत बटुलेका अनुभवी व्यक्तिको नियुक्तिले विश्वविद्यालयलाई बिधि र प्रक्रियासम्मत तरिकाले अगाडि बढाउन सेवा आयोगको सदस्यको नियुक्तिले मद्दत गर्ने विश्वास व्यक्त गरे ।

शनिवार मात्रै पदावधि सकिएर विदाई भएका निवर्तमान सेवा आयोगका सदस्य प्रा.डा. श्रीराम प्रसाद उपाध्यायले विश्वविद्यालयमा आफ्नो कार्यकालमा सहज स्थिति नभएको सन्दर्भ कोट्याउदै पछिल्लो समय काम गर्ने वातावरण तयार हुँदा साथ शिक्षक कर्मचारीको विज्ञापन गरेको र उक्त विज्ञापनबाट योग्य र दक्ष जनशक्तिले विश्वविद्यालयमा प्रवेश पाउनेमा आशावादी रहेको धारणा व्यक्त गरेका थिए ।

नवनियुक्त सेवा आयोगका सदस्य डा. रानाले विश्वविद्यालयका सबै निकाय र पदाधिकारी एवंम परिवारका सबैसंग समन्वय र सहकार्य गरी विश्वविद्यालयको स्थायित्वको लागि जनशक्ति व्यवस्थापनको प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।