२०७७ मंसिर २०, शनिबार

कर्णाली एक्स्पो–२०१६ उद्घाटन सडकमा काला टाला देखाउने हातले सडक खन–प्रचण्ड

सुर्खेत। यहाँको वीरेन्द्रनगरमा सञ्चालन हुने कर्णाली एक्स्पो–२०१६, अन्तराष्ट्रिय ब्यापार मेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् ।

pmमहोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनको विषयलाई लिएर सडक आन्दोलनमा होमिएको एमालेलाई आन्दोलन छोडेर विकास निर्माणमा केन्द्रित हुन आग्रह गरे । अहिले एमालेका युवाहरु सडकमा राँको बाल्दै कालो झण्डा लिएर बसेको स्मरण गराउँदै प्रधानमन्त्री प्रचण्डले कालो झण्डा बोकेर सडकमा बस्नु भन्दा सडक निर्माणमा लाग्न आग्रह गरे । ‘‘एमालेका साथीहरु अहिले कालो टालो लिएर सडकमा बसिरहनुभएकोछ, राँको बालेर सडकमा बसिरहनुभएकोछ,’ उनले भने–‘कालो टालो लिएर सडकमा बस्नु भन्दा सडक खन्नतिर लाग्नुहोस ।’’

पहिले माओवादीले जनताका एजेण्डा लिएर आन्दोलनमा जाँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीलाई राँको बाल्दा हातमा कालो लाग्ला भन्ने जवाफ दिने गरेको स्मरण गराउँदै प्रचण्डले त्यही जवाफ एमालेलाई दिएका छन् । ‘‘हामीले जनाताका एजेण्डा लिएर सडकमा जाँदा केपी जिले राँको बाल्दा हातमा कालो लाग्ला भन्नुहुन्थ्यो,’ प्रचण्डले भने–‘अहिले मेरो कार्यक्रममा एमालेका साथीहरुले सडक बन्द गर्ने, राँको बाल्ने, कालो झण्डा देखाउने प्रयास गर्नुभयो, मैले पनि त्यही जवाफ दिएको छु ।’’

संविधान संशोधनको विषयमा आफूले जनताका लागि जोखिम लिएको उल्लेख गर्दै उनले संशोधनमा उल्लेख भएको प्रदेश नं. ५ को सिमाङकनको खाका केपी ओली कै प्रस्ताव भएको उल्लेख गरे । त्यतिवेला केपी शर्मा ओली र सुशिल कोइरालाले हस्ताक्षर गरेको खाकाकै आधारमा अहिले संशोधन प्रस्ताव ल्याइएको प्रचण्डले दावी गरे ।

त्यतीवेला एमालेले नै प्रस्ताव गर्दा राष्ट्रघाती नहुने तर अहिले त्यही प्रस्ताव कसरी राष्ट्रघाती भयो भन्ने प्रश्न समेत गरेका छन् । ‘‘प्रदेश नं. ५ को विभाजनको कुरा आएको छ, यो केपी ओलीले पहिले नै प्रस्ताव गरेको आधारमा गरिएको हो, उहाँले हस्ताक्षर गर्नुभएकोछ,’ उनले प्रश्न गरे–‘त्यही बेला आफूले गरेको प्रस्ताव राष्ट्रघाती नहुने, अहिले हामीले गर्दा राष्ट्रघाती हुने ?’’ पहिले एमालेले नै प्रदेश नं. ५ मा तराई र पहाड छुट्याउने प्रस्ताव गरेको उनको दावी छ ।