२०७७ मंसिर १४, आईतवार

साँझ ५ देखि ९ बजेसम्म उद्योग बन्द गर्नुपर्ने, दुईवटा इन्जिनियरिङ वर्कशपको लाइन काटियो

सुर्खेत । लोडसेडिङबाट आक्रान्त जनतालाई राहत दिन सुर्खेतमा पनि छड्के जाँच सुरु भएको छ । विभिन्न तरिकाबाट स्थानीय स्तरबाटै विद्युतको छुहावट हुने र साँझको समयमा पनि स्थानीय उद्योग, कलकारखानाले विद्युत खपत गरिरहने हुँदा त्यसको चड्के चेकजाँच सुरु गरिएको हो ।

bijuliपहिलो चरणमा चेकजाँच गर्दा केही उद्योग, कलकारखानाहरुमा बढी माग भएको बेलामा पनि संचालन भएको पाइएको नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण शाखाले जानकारी दिएको छ । जिल्लामा संचालित बिभिन्न उद्योग, कलकारखानाहरु, मिल आदि विद्युतको बढ्दो माग भएको अवस्थामा साँझ ५ देखि ९ बजेसम्म नचलाई नेपाल विद्युत प्राधिकरणको लोडश्रेणी न्यूनिकरण अभियानलाई सहयोग गरिदिन आग्रह गरिएको छ ।

साथै चेकजाँचका क्रममा केही उद्योहरुमा सुरक्षात्मक उपकरणहरु जडान नगरेरै विद्युत प्रयोग गरेको पाइएको छ । उद्योगहरुमा एमसिबी, ःएमसिसिबी, फ्युज, क्यापासिटर ब्याङक लगायतका उपकरणहरु नै नराखी प्रयोग गरिएको पाइएको प्राधिकरणको सुर्खेत वितरण शाखाले जनाएको छ । यस्ता उद्योगहरुलाई तत्काल सुरक्षात्मक उपकरणहरु जडान गर्न निर्देश पनि दिएको छ । प्राधिकरणले उपकरण जडान गर्नका लागि ७ दिनको अल्टिमेटम दिएको छ । ७ दिनभित्र सुधार नगरेको पाइएमा विद्युत ऐन अनुसार कार्वाही गरिने सुर्खेत वितरण केन्द्रको चुहावट मर्मत फाँटले सूचित गरेको छ ।

चेकजाँचको क्रममा अहिलेसम्म यस्ता दुईवटा इन्जिनियरिङ वकशपको लाइन काटिसकेको सुर्खेत वितरण शाखाले जनाएको छ । यो अवधिमा एसएक इन्जिनियरिङ वर्कशप र आइए इन्जिनियरिङ वर्कशपको लाइन काटिएको छ । साथै वक्यौता रकम नतिरिएका ग्राहको पनि लाइन काटिने भएकोले बाँकी रहेको बक्यौता रकम तत्काल भुक्तानि गर्न कार्यालयले सूचित गरिसकेको छ ।

उर्जा मन्त्रालयबाटै नेपाल विद्युत प्राधिकरण, सुर्खेत वितरण केन्द्रलाई विद्युत चुहावट नियन्त्रण गर्न परिपत्र आएपछि सुर्खेत वितरण केन्द्रले पनि छड्के चेकजाँच तथा कार्वाही प्रक्रिया अगाडि बढाएको हो । केन्द्रको परिपत्र अनुसार स्थानीय स्तरमा विद्युत चुहावटलाई १६ प्रतिशतमा झार्न निर्देशन दिइएको छ । तर सुर्खेतमा करिब १६ देखि १७ प्रतिशत नै विद्युत चुहावट भएकोले त्यो भन्दा पनि तल झार्ने लक्ष्यका साथ निरन्तर प्रयास गरिएको नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका प्रमुख दिपकजंग चौधरीले जानकारी दिए ।

अहिले खासगरी उर्जा मन्त्री जनार्दन शर्माले देशैभर लोडसेडिङ शुन्यमा झार्ने लक्ष्यका साथ काम सुरु गरेको र सबै तह र निकायमा पनि सोही अनुसार निर्देशन दिएकोले सुर्खेतमा पनि यो कामको सुरु गरिएको हो । जिल्लामा संचालन भइरहेका जलविद्युत आयोजनाहरुलाई छिटो सम्पन्न गरेर जनतालाई उज्यालो दिन र चुहावटलाई पनि कम गर्दै आवश्यकताका आधारमा विद्युत वितरण गर्न उर्जा मन्त्रालयले जनविद्युतमा जनताको लगानीको नारा समेत अगाडि ल्याएको छ ।

साँझको समयमा सुर्खेतमा पनि बढी विद्युत खपत हुने भएकोले यो समयमा सञ्चालन हुने उद्योगहरुको पनि छड्के जाँच गर्ने केन्द्रले जनाएको छ । नियमित विद्युत आइरहेको वेला खासै समस्या नभएपछि पावर नपुग्दा, विद्युत अनियमित हुँदा साँझको समयमा उद्योग सञ्चालन हुँदा जनता अँध्यारोमा बस्नुपर्ने भएकोले त्यस्ता उद्योगहरुको पनि चेक हुने जनाइएको छ ।