२०७७ मंसिर २०, शनिबार

सुर्खेता राप्रपा र राप्रपा नेपाल एकता हुन सकेन

सुर्खेत। केन्द्रमा एकता भइसकेपनि राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सुर्खेतबीच एकता हुन सकेको छैन ।
विहीबार जिल्लाको एकता भेला आव्हान गरिएपनि जिल्लामा दुईवटा पार्टीबीच एकता हुन नसकेको राप्रपा सुर्खेतका सहसचिव रुद्र चन्दले जानकारी दिएका छन् ।

raprapaभेलामा राप्रपा नेपालका नेताहरुले भोलीको कार्यनीतिका कुरा झिकेपछि विवाद भएको हो । भेलामा राप्रपालाई राप्रपा नेपालका नेताले गणतन्त्र स्वीकार गरिसकेकाहरु पूर्णरुपमा राजतन्त्रवादी पार्टी र हिन्दू राज्यका लागि लड्न नसक्ने आरोप लगाएका थिए । यी एजेण्डाहरु राष्ट्रिय अधिबेशनमा बहस गर्नुपर्ने एजेण्डा भएपनि जिल्लामा बहस ल्याइएपछि एकता हुन नसकेको सहसचिव चन्दले बताए ।

यस्तै भेलामा जिल्लाको अध्यक्ष को हुने भन्ने विषयमा समेत विवाद भएपछि कुरा टुङ्गोमा पुग्न सकेको छैन । अध्यक्षका लागि राप्रपाका अध्यक्ष कविराम पुरी र राप्रपा नेपालका अध्यक्ष मानबहादुर खड्काले दावी गरेका थिए । उनीहरु दुवै जनाले आफ्नो अडान नछोडेपछि जिल्लाको विवाद मिलाउने जिल्लामा केन्द्रको उच्च स्तरीय व्यवस्थापन समितिलाई दिइएको छ ।

केन्द्रीय सदस्यहरुको टिमले पनि विवाद मिलाउन नसकेपछि उच्च स्तरीय समितिलाई जिम्मा दिइएको चन्दले बताए ।
एकता भेलामा पुर्व मन्त्री पत्तेसिंह थारु, पूर्व राज्य मन्त्री कुन्ति शाही, केन्द्रीय सदस्य मुकुन्दश्याम गिरी लगायतका नेताहरु सुर्खेत आएका थिए ।