२०७७ माघ ४, आईतवार

भुकम्प प्रभावित दृष्टिविहीन बालबालिकाहरुको सहयोगार्थ पुस ९ गते खुल्लामञ्चमा साँगितिक कार्यक्रम हुने

unnamed-2काठमाडौं, १ पुस । नेत्रहिन युवा संघ नेपाल र मार्क ईन्टरटेनमेन्ट एण्ड इभेन्टस् प्रा.ली.ले भुकम्प प्रभावित दृष्टिविहिन वालवालिकाहरुको सहयोगार्थ यही पुस ९ गते साँगितिक कार्यक्रम गर्ने भएको छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले देशकै ख्याँतिप्राप्त ब्याण्डका साथमा दृष्टिविहीन राष्ट्रिय कलाकारहरुका साथमा अन्य प्रस्तुति पनि हुने जानकारी दिएको छ । उक्त साँगितिक कार्यक्रम खुल्लामञ्चमा हुने जानकारी आयोजकले दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष कलाधर भण्डारीले अपांगता भएका व्यक्तिहरु त्यसमा पनि दृष्टिविहीन बालबालिकाहरु भुकम्पबाट बढि प्रभावित रहेको उल्लेख गर्दै भने,‘दृष्टिविहीन बालबालिकाहरुलाई हालसम्म पनि भुकम्प पूर्व तयारी र कसरी आफूलाई सुरक्षित राख्ने भन्नेबारेमा पनि कुनै किसिमका तालिम तथा सिप पाएका छैनन् ।’
अध्यक्ष भण्डारीका अनुसार उक्त कार्यक्रम दिउँसो ३ बजेदेखि सुरु हुनेछ । कार्यक्रममा देशकै ख्याँतिप्राप्त ब्याण्ड १९७४ ए.डि, कुटुम्ब, क्रमशको प्रस्तुति रहने उनले जानकारी दिए ।

उनले आफूले टेकेर हिँड्ने सेता छडी नभएको, ब्रेल लिपिमा लेख्ने सामाग्री गुमाएका तथा भुकम्पमा कसरी सुरक्षित रहने भन्ने जानकारी नहुँदा पटक–पटक आउने पराकम्पनले उनीहरुको पीडा झनै बल्झाईरहेको बताए ।
उनले यीनै भुकम्प प्रभावित दृष्टिविहीन बालबालिकाहरुको सहयोगका लागि दृष्टिविहीन युवाहरुद्धारा सञ्चालित नेत्रहिन युवा संघले आयोजना गरेको सहयोग साँगितिक कार्यक्रम हुन गैरहेकोले यसलाई सबै क्षेत्रबाट सक्दो सहयोग गर्न अपिल गरे ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले भुकम्प प्रभावित दृष्टिवीहीन बालबालिकाहरुको समस्या सबैभन्दा गम्भिर समस्या भएको बताउँदै उनीहरुको सहयोगको लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

उनले भने,‘यो समस्या केवल दृष्टिविहिनहरुको मात्रै नभई सबैको हो भन्ने कुरा महशुस गरिनुपर्छ, समाजका सबै तह र तप्काका व्यक्तिहरुले सहयोग गर्नुपर्छ ।’ उनले आफूले मिडियाको तर्फबाट सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा भुकम्प प्रभावित दृष्टिविहीनहरुले पनि आफ्ना धारणा तथा गुनासोहरु राखेका थिए । उनीहरुले आफूहरुलाई भुकम्पको बेला के गर्नुपर्छ भनेर र कसरी सुरक्षित बस्ने भनेर कसैलेपनि नसिकाएको गुनासो पोखे ।

उनीहरुले भविष्यमा कुनै बेला आईहालेमा आफूहरु नै बढि जोखिममा रहेको चिन्ता व्यक्त गरे । साथै आफू भन्दा अझै जोखिममा रहेका यी वालवालिकाहरुको लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनीहरुको आग्रह थियो ।
त्यस्तै कार्यक्रममा संघका महाचिव रामचन्द्र गैरे भुकम्प प्रभावित बालबालिकाहरुको लागि सहयोगको ज्यादै खाँचो रहेको औंल्याउँदै भने,‘स्वास्थ्य, सरसफाई, तथा दृष्टिविहीन किशोरीहरुको प्रजनन स्वास्थ्यसम्बन्धी समस्याहरुले उनीहरुलाई निकै अप्ठ्यारो पारेको, यसले गुणस्तरीय शिक्षामा असर पारेको र सम्मानजनक जिवनमापनि चोट पुगिररहेको छ ।’

उनले यीनै बालबालिकाहरुलाई हातले छोएर सिकाउनुपर्ने व्यवहारिक ज्ञानसम्बन्धी तालिम प्रदान गर्नु, मनोविमर्श सेवा प्रदान गर्नु, सेता छडी प्रदान गर्नु, शैक्षिक सामाग्री, जाडोका न्यानो लुगा प्रदान गर्न रकम जुटाउने उद्देश्यले साँगितिक कार्यक्रम गर्न लागिएको जानकारी दिए ।