२०७७ मंसिर ११, बिहीबार

संशोधनको प्रस्ताव फेल गराउन प्रतिपक्षलाई प्रधानमन्त्रीको चुनौती

15644448_1185810211532254_1604645947_n

सुर्खेत,  । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संशोधन प्रस्ताव फेल गराएर देखाउन चुनौती दिएका छन् ।

यहाँको वीरेन्द्रनगरमा मंगलबार प्रेस सेन्टर कर्णाली प्रदेश नं. ६ ले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले संशोधन प्रस्ताव छलफल र बहसका लागि संसदमा दर्ता गरेको भन्दै उचित नठान्नेहरुले सक्ने भए फेल गराउन चुनौती दिए ।

संविधान संशोधनको प्रस्ताव मधेसी, आदिवासी जनजातिहरुलाई समेट्नका लागि ल्याइएको भन्दै प्रचण्डले प्रस्तावका विषयमै छलफल र बहस नगरी अस्वीकार गर्नु मुर्खता भएको संकेत गरे ।‘‘संशोधन प्रस्ताव दर्ता भएको छ, सक्नुहुन्छ भने संसदबाटै फेल गर्नुहोस् न,’’ प्रतिपक्ष एमालेलाई संकेत गर्दै प्रचण्डले भने, ‘‘छलफल र बहस नै हुन नदिन त भएन नि त ।’’ दाहालले संसदीय व्यवस्थामाथि विश्वास गर्ने एमालेले संशोधन प्रस्ताब संसदमा पेश गर्नै नदिएर प्रक्रियाको खिल्ली उडाएको बताए ।

अहिले जनताले पनि आन्दोलनबाट समस्याको समाधान हुन्न भन्ने बुझिसकेको भन्दै उनले एमालेलाई आन्दोलनबाट नभई संसदबाट संशोधन प्रस्तावको बहस गर्न आग्रह गरेका छन् ।यस्तै, संशोधन प्रस्तावकै विषयमा उनले आफूले कुनै नयाँ प्रस्ताव नल्याएको भन्दै एमालेले नै गरेको प्रस्तावलाई अगाडि सारेको दावी गरे ।

यसअघि एमालेका अध्यक्ष केपी शर्माले ओलीले प्रस्ताव गरेको भन्दै उनले त्यसको समर्थन स्वर्गीय सुशिल कोइरालाले गरेको दावी गरे । पहिले एमालेले नै प्रस्ताव गर्दा स्वीकार्य हुने तर अहिले प्रचण्ड नेतृत्वको सरकारले प्रस्ताव गर्दा किन स्वीकार नगर्ने भन्दै उनले प्रश्नसमेत गरेका छन् ।

यसैबीच, पत्रकारहरुको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको निर्वाचन घोषणाको तयारी गरिएको जानकारी दिएका छन् ।
पुरानै ढाँचाअनुसार निर्वाचन गर्ने तयारी गरिएको भन्ने पत्रकारको प्रश्नमा उनले त्यो कसैले प्रस्ताव गरेको तर आफूले सोच्दै नसोचेको बताए ।

उनले स्थानीय तहकै निर्माणअनुसार निर्वाचन घोषणा हुने दावी गरे । स्थानीय तहअनुसार निर्वाचन नभए संविधान कार्यान्वयनमा चुनौती हुने भन्दै उनले पुरानो ढाँचामा निर्वाचन घोषणा नहुने बताए ।निर्वाचन आयोगले नै चैतको महिनामै निर्वाचन गर्न असम्भव भएको बताएको भन्दै उनले बैशाखको महिनासम्म निर्वाचन हुने बताए ।

प्रधानमन्त्री प्रचण्ड कर्णाली प्रदेश नं. ६ को पार्टीको बैठक तथा प्रशिक्षणमा सहभागी हुन वीरेन्द्रनगर आएका थिए । उनी ६ नम्बर प्रदेशका केन्द्रीय सदस्यहरुको बैठक सकेर मंगलबार नै धनगढीतिर लागेका छन् ।