२०७७ मंसिर १५, सोमबार

पुस २७ देखि २९ सम्म माघी मेला सभामुख घर्तीले उद्घाटन गर्न

15724272_1190505564396052_1244309230_n सुर्खेत,  । यही पुसको २७ गतेदेखि २९ गत ेसम्म यहाँको वीरेन्द्रनगरमा माघे संक्रान्तिका अवसरमा माघी मेला लाग्ने भएको छ । नेपाल मगर संघ , सुर्खेतको आयोजनामा मेला सञ्चालन गर्न लागिएको हो ।

मगर समुदायको विशेष पर्वका रूपमा रहेको माघीका अवसरमा मेलाको आयोजना गर्न लागिएको मेला मूल आयोजक समितिले जानकारी दिएको छ । मेलाका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मेला प्रचार–प्रसार उपसमितिका संयोजक दीपबहादुर राना मगरले आफ्नो संस्कृति र पहिचानलाई बचाई राख्नका लागि मेलाको आयोजना गरिएको बताए ।

उनले आफूहरूले मगरहरूको पहिचान स्थापित गर्नका लागि पनि यो मेलाको आयोजना गरिएको बताए । आधुनिक युगमा पहिचानको इन्कार गर्नु मानव सभ्यतालाई समाप्त पार्नु भएको भन्दै सबै जाति समुदायको भाषा, संस्कृति, इतिहास र सामाजिक मूल्य– मान्यताको समुच्चरूप पहिचानलाइसबैले सम्मान गर्न सिक्नुपर्ने बताए ।

यो मेलामा १२ देखि १५ वटा स्टलसमेत राखिनेछ । मेलामा राखिने स्टलहरूमा मगर जातिका खानाका परिकाहरू सहितका होटलहरू हुने प्रचार–प्रसार संयोजक रानाले जानकारी दिए । यस्तै केही स्टलहरूमा मगर समुदायले उत्पादन गरेका वस्तुहरू पनि राखिने छ ।

मेलाको उद्घाटन सभामुख ओनसर घर्ती मगरले गर्ने भएकोले प्रचार – प्रसारलाई तीब्रता दिइएको छ । मेलाको प्रचारको लागि पुस २६ गते दिउँसो २ बजे मोटरसाइकल ¥याली निकालिने आयोजकले जानकारी दिएको छ ।
मेलाको उद्घाटनको दिन २७ गते बिहान १० बजे स्थानीय मंगलगढी चोकबाटै झाँकी सुरू हुने आयोजकले जनाएको छ । मेला अवधिमा धनुषवाण प्रतियोगिता, छेलो प्रतियोगिता, एकल नृत्य र गीत प्रतियोगिता पनि आयोजना गरिने छ ।
यस्तै, मेलामा राष्ट्रिय कलाकारहरूको प्रस्तुति पनि हुनेछ ।

साथै स्थानीय साँस्कृतिक कार्यक्रमहरू पनि हुनेछन् । मेलामा सोरठी, ख्याली, सालैजो, कौडा, ठाडो भाका, दोहोरी आदि गीतहरू पनि प्रस्तुत हुने जनाइएको छ ।