२०७७ माघ १४, बुधबार

पर्व, समाज र सभ्यता– ‘सम्पादकीय’

संस्कृतिका मान्यताहरू समाजसँग जोडिएका हुन्छन् । धर्मप्रतिको आस्था पनि सामाजिकरूपमा एकता र सद्भावका लागि हो, जुनसुकै धर्म माने पनि समाज एउटै बाटोमा हिँडाउने हो । त्यो भनेको नेपाली अमनचयन र सद्भावपूर्ण समाज विकास गर्ने हो । भर्खरै देशैभर क्रिसमस डे मनाईएको छ । इसाईहरूले आफ्नो महान् पर्व क्रिसमस डे सुर्खेतमा पनि धुमधामका साथ मनाएका छन् । सुर्खेतमा रहेका विभिन्न चर्चहरूमा शुभकामना आदान–प्रदान गरी उनीहरूले क्रिसमस डे मनाएका हुन् । दुई हजार १६ वर्ष अघि जेरूसेलमको बेथेलहेममा येशुको जन्म भएको विश्वास छ ।

कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए । आम मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफै क्रुसमा चढेको विश्वास गरिन्छ । येशुलाई जिजस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी सम्बत् चलाइएको विश्वास छ । नेपालमा ४ सय वर्ष अघिदेखि क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रीष्टियन महासंघको भनाइ छ ।

सोहीअनुसार पछिल्लो समय नेपालका गाउँ–गाउँमा पनि चर्चहरूमा क्रिसमस डे भव्यरूपमा मनाउने गरिएको छ । अहिले नेपालमा ८ हजार ५ सय गिर्जाघर र ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको तथ्याङ्क छ । सुर्खेतमा पनि इसाई धर्मावलम्बीहरूको संख्या बढेको छ । इसाईहरूका े पर्व भए तापनि सुर्खेतमा सबै धर्मावलम्बीहरूले शुभकामना आदान –प्रदान गरेका छन् ।

केहीले धर्म निरपेक्षता र संघीयताको बहससँगै धार्मिक सहिष्णुतामा खलल पुग्ने विश्लेषण गरिए पनि सुर्खेतमा यस्ता पर्वहरूले अझ धार्मिक सहिष्णुता र सद्भावलाई बलियो बनाएको छ । हिन्दूले मनाउने दशैंतिहार होस् चाहे मुस्लिम समुदायले मनाउने इद या त बौद्धिष्टहरूले मनाउने ल्होसार नै किन नहोस्, सबैले मनाउने भनेको सबैको एकता र सद्भावयुक्त समाज निर्माण गर्नु नै हो । सबैका आ–आफ्नै मान्यता छन्, सबै पर्वका आ–आफ्नै विशेषता छन् । सबैले नेपाली फुलबारीलाई एउटै एकताको मालामा उनेर राख्नुपर्छ ।