२०७७ मंसिर १४, आईतवार

निर्वाचन कार्यालयको तयार– ‘सम्पादकीय’

केन्द्रमा निर्वाचनका बारेमा बहस अझ घनिभूत हुन थालेको छ । सरकार र प्रतिपक्ष सरकार र मधेसी दल तथा अन्य सबैसग यो बहस चलिरहेको छ । निर्वाचन आयोगले पनि आफ्नो तयारी थालिसकेको छ । मातहतका कार्यालयहरूलाई विभिन्न सुझाव र आन्तरिक प्राविधिक तयारी थालेको कार्यालयले देशैभरीका आफ्ना मातहतका निकायलाई पनि तयारी थाल्न भनिसकेको छ । देशैभरी विभिन्न तयारी भईरहेका छन् ।

नीतिगत र अन्य तयारी थालेको सरकारले जिल्ला–जिल्लामा मतदाता नामावलीको काम पनि थालेको छ । छुटेका फोटो सहितका मतदाताहरूको नामावलीको काम सरकारले थालेको हो । सुर्खेतमा पनि यही पुस १७ गतेदेखि विभिन्न गाविस तथा नगरपालिकाहरूमा फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन हुने भएको छ । यसअघिको फोटो सहितको मतदाता नामावलीमा समावेश हुन छुटेका नागरिकहरूका लागि प्रत्येक गाविसको गाविस कार्यालय तथा नगरपालिकाको वडा कार्यालयहरूमा नामावली सङ्कलन कार्यक्रम सञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालय, सुर्खेतले जनाएको छ । १६ वर्ष उमेर पुगेका तथा नागरिकता प्राप्त गरेका व्यक्तिले नागरिकताको सक्कली प्रमाणपत्र देखाएर स्वयम् आफै उपस्थित भई नामावलीमा नाम दर्ता गर्न सक्ने कार्यालयले जनाएको छ ।

सुर्खेतमा अहिले ६४ हजार नागरिक फोटोसहितको मतदाता नामावलीमा समावेश हुन छुटेको कार्यालयको भनाइ छ । नामावलीमा समावेश भएका व्यक्तिको मृत्यु भएमा, बसाईसराई भएमा, विवाह गरेर गएमा, नाम, ठेगानामा त्रुटी भएमा अद्यावधिक तथा दावी विरोध गर्न सकिनेछ ।

दावी विरोध गर्ने व्यक्तिको प्रमाणित कागजपत्र सक्कल समावेश गर्नुपर्ने निर्वाचन कार्यालयको भनाइ छ । यो कामलाई सकेर निर्वाचन गर्ने र निर्वाचन शान्तिपूर्ण धाँधलीरहित बनाउन निर्वाचन कार्यालयले देशैभर त्यही प्रकारले संयन्त्र परिचालन गर्न जरूरी छ । त्यसपछि मात्रै निर्वाचन विवादरहित र शान्तिपूर्णरूपमा सम्पन्न गर्न सकिन्छ । मतदाता कोही नछुटुन्, कोही नदोहोरिउन् भन्ने उद्देश्यले कार्यालयले गर्ने काममा सबैको सहकार्य पनि उत्तिकै आवश्यकता छ ।