२०७७ मंसिर ९, मंगलवार

चेतना भया असल अभिभावकको अपरिहार्यता

jeet-bdr-shaha-358x300नवज्योती स्कूलको अभिभावक दिवस समारोहमा उपस्थित भए र विद्यालय र विद्यार्थीहरूले गरेका क्रियाकलापहरूको अवलोकन गर्ने अवसर मिल्यो । उक्त अवसरमा विद्यार्थीहरूले धेरै क्रियाकलापहरू देखाए । देशलाई छातीमा राखेर मीठामीठा गीत गाए ।

आकर्षक भेषभूषामा सजिएर छमछमी नाचे । मिलाएर उद्घोषण गरे । भाषण पनि मिलाएरै गरे । यसका साथसाथै उनीहरूले बालविवाहलाई विषयवस्तु बनाएर ठूली नामको गीति नाटक पनि प्रस्तुत गरे । उमेर नपुगी सानैमा विवाह गरेर घर गएकी चेली (ठूली) पानी पधेरो गर्ने क्रममा लडेर अपाङ्ग हुन्छिन् । तत्पश्चात ठूलीलाई घरबाट लखेटिन्छ ।

घरबाट लखेटिएर अपाङ्ग र अपहेलित जीन्दगी विताउनु पर्दाको कहालीलाग्दो दिनचर्या सम्झदै नाटककी ठूली भक्कानिएर रून थालेपछि उनीसँगै दर्शकदिर्घामा भएका सवै मानिसहरू रोए । नाटकमै त्यसरी सानैमा विवाह गरिदिएर छोरीको जीवन बरबाद बनाएको पश्चातापमा ठूलीका बाबुआमाहरू रोए ।

नाटकमा पछुतोभावले रोएका ठूलीका आमाबाबा सँगसँगै समारोहमा उपस्थित अभिभावकहरू पनि रोए । त्यस्तै भयो, मैले पनि मन थाम्न सकिँन । सम्मानस्वरूप नवज्योतीले दिएको दोसल्लाको छेउले आँशु पुछ्दै नाटक अवधिभरि म पनि रोएँ । देशविदेशका विविध दूरदर्शन च्यानलहरू, पत्रपत्रिकाहरू र सञ्चारका अन्य साधनहरूको अवलोकन गर्दा लाग्छ बालबालिकाहरू क्षमता र प्रतिभाका दृष्टिकोणले आफूलाई अब्बल र उत्कृष्ठ देखाइरहेका छन् ।

उपयुक्त अवसर पाएको अवस्थामा बालबालिकाहरूले यतिधेरै उच्च तहका कला र क्षमता देखाउन सफल भइरहेका हुन्छन् कि त्यो क्षमता उनका गुरूहरूले पनि देखाउन सकिरहेका हुदैनन् । त्यस्तै अब्बल दर्जाको क्षमता देखाइरहेका थिए नवज्योतीका बालबालिकाहरूले पनि । उनीहरूको अभिनय कला हेर्दा महसुस भइरहेको थियो कि उनीहरू पनि वर्षौँदेखि अभिनय क्षेत्रमा काम गरिरहेका अभ्यस्त कलाकारहरू हुन । सवैभन्दा खुशीको कुरा त, आफ्ना बालबालिकाहरूले प्रदर्शन गरेका कला, प्रतिभा र क्षमताहरू हेर्नका लागि दर्शक दिर्घामा खचाखच अभिभावकहरू थिए ।

यो दृश्य हेर्दै गर्दा यस विद्यालयका बालबालिकाहरू भाग्यमानी रहेछन् जस्तो लाग्यो । कारण उनीहरूले आफ्ना क्षमता र प्रतिभाहरू आफ्नै बाबाआमा अनि आफ्नै गुरूहरूलाई देखाउने अवसर पाइरहेका थिए । बाबाआमा सँगसँगै रहेर जिन्दगी विताउने र उनीहरूलाई आफ्ना क्षमता र प्रतिभाहरू खुलेर देखाउने अवसर कमै मात्र बालबालिकाहरूले पाउने गर्दछन् । बाबाआमाहरूको माया पाइरहेका बालबालिकाहरूको प्रसङ्ग उठिरहदा बिहानै प्लाष्टिकको झोला बोकेर कुडाकर्कट टिप्नका लागि फोहरको डुङ्गुरतिर यात्रारत बालबालिकाहरूको तस्वीर पनि मनको फोटो अलबममा हेर्न पुग्छु ।

साँच्ची यी बालबालिकाका बाबाआमा र अभिभावकहरू को होलान ? उनीहरूले आफ्ना यी चिचिला सन्ततीहरूलाई किन माया नगरेको होला ? किन विद्यालयमा नपठाएको होला ? यिनीहरूलाई सम्झेर उनीहरूको मन किन नपग्लिएको होला ? जस्ता प्रश्नहरूले आफैलाई बेचैन बनाइरहन्छ ।

जता बस्यो त्यतै रमाइलो । पछिपछि त उनीहरूलाई सडक नै प्यारो लाग्ने भइसक्दोरहेछ । दुःख भोग्दाभोग्दा जिन्दगी डर र त्रासविहीन भइसक्दो रहेछ । चोरीको अभियोगमा प्रहरी थानामा ल्याइएका दुइजना सडक बालबालिकालाई प्रहरी नायव उपरीक्षक बहादुर जङ्ग मल्लले तिमीहरूको नाम के हो भनेर सोध्दै गर्दा ती केटाहरू एक अर्कासँग जिस्किदै जवाफ दिन्छन् – ‘ए केटा भन् त मेरो नाम के रे छन् । पैसा तिरिएको छ, विद्यालय पठाइएको छ, त्यो भन्दा अरू के गर्ने भन्ने अभिभावकहरू पनि समाजमा धेरै भेटिन्छन् ।

बालबालिकाका लागि पैसा तिर्नु र विद्यालय पठाउनु भन्दा पनि ठूलो कुरा बाबाआमाबाट माया र स्नेह पाउनु ठुलो कुरा रहेछ । बालबालिकाहरू बाबाआमाबाट आफ्ना समस्या र चाहनाहरू बुझेर तदनुसार व्यवहार गरून भन्ने चाहना अपेक्षा गर्दछन् । बाबाआमा भने मानसम्मान र सम्पत्ति आर्जनका निम्ति विहानदेखि बेलुकासम्म भौतारिरहेका हुन्छन् । लाग्छ, उनीहरू मानसम्मान र सम्पत्तिका लागि भौतारिनु भनेको खुशी प्राप्तिका लागि हो ।

तथापि भोली उनीहरूका सन्ततिहरू उनीहरूको माया र स्नेह नपाएर बाटो विराएर हिडे भने उनीहरूको मानसम्मानको हालत के हुने हो ? सन्तति बरालिएको अवस्थामा सम्पत्ति र सुनको सिरानी हालेर निदाउन सकिने हो कि होइन ? यस्ता कुराहरूमा हामी जति गम्भीर हुनु पर्ने हो त्यति हुन सकिरहेको देखिदैन ।

हाम्रो देशका सामुदायिक विद्यालयहरूको अवस्था नाजुक हुनुमा अभिभावकहरूको उदासिनता पनि एक प्रमुख कारण हो । आफ्ना सन्ततिहरूको शिक्षाको जानकारीका निम्ति आफै विद्यालयमा जाने त टाढाको कुरा छ, विद्यालयले बोलाउदा पनि कतिपय अभिभावकहरू विद्यालयमा जादैनन् । विद्यालयले गर्ने गतिविधिहरूको बारेमा पनि त्यति जानकारी र चासो पनि हुदैन उनीहरूलाई । यसरी अभिभावकको निष्क्रियताबाट देखिएको खाडललाई पुर्ने दुष्प्रयास अहिलेका राजनीतिक दलहरूले गरिरहेको देखिन्छ ।

त्यही भएर पनि शिक्षामा राजनीति हुल्ने कामको सिल्यान्यास एकहदसम्म विद्यालयहरूबाट भइरहेको छ । म त भन्छु, अभिभावकहरूले बालबालिकाको विकासका निम्ति खेल खेल्नु पर्ने मैदानमा राजनीतिकर्मीहरूले खेलिरहेका छन् । त्यसैले पनि जुन उद्देश्यका साथ विद्यालयहरू सञ्चालन हुनु पथ्र्यो त्यो उद्देश्य पूरा हुन सकिरहेको छैन । नीति जति राम्रो भए पनि नियत खराव भएपछि उपलब्धि सकारात्मक देखिने कुरा पनि भएन ।

हाम्रा अधिकांस विद्यालयहरू यही खराव नियतिको सिकार भइरहेका देखिन्छन् । स्वाभाविक रूपमा हाम्रा बालबालिकाहरू पनि समुन्नतिको दृष्टिले अभिभावकविहीन जस्ता भइरहेका छन् । विद्यालय शान्ति क्षेत्र राष्ट्रिय कार्यढाँचाले अघि सारेका अवधारणा र प्रतिबद्धताहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्नु पनि म त धेरै हदसम्म अभिभावककै जागरूकता र खवरदारीमा देखिएको कमजोरी हो जस्तो लाग्दछ ।

आफ्ना बालबालिकाहरू अध्ययन गर्ने विद्यालयमा कसैले पनि हस्तक्षेप गर्न पाइदैन भन्ने अडानका साथ अभिभावकहरू अघि बढ्ने हो भने त्यो विद्यालयमा कसैले पनि हस्तक्षेप नै गर्न पाउदैन, न त कसैले बन्द र हडताल नै गर्न पाउछ । हाम्रो परिवेशमा अभिभावकहरूबाट त्यो भूमिका निर्वाह हुन नसकेको अवस्था छ । विद्यालयको बारेमा जिम्मेवारी बहन गर्दा अरूलाई र सुविधा लिदा आफूलाई देखाउने स्थिति छ ।

मानौं कि सामुदायिक विद्यालय कसैको नाममा दर्ता नभएको ऐलानी जमीन हो, जसले सक्छ त्यसैले भोगचलन गरे हुन्छ । स्रोत र साधन भएसम्म सकेजति लुटे हुन्छ । मानौं कि सामुदायिक विद्यालय सम्पत्ति भएर पनि ताल्चा नलागेको घरको कोठा जस्तै हो, जो पनि भित्र पसेर जे गरेपनि कसैले केही भन्ने वाला छैन । दादागिरी देखाउने ठाउ कतै भेटिएन भने विद्यालयमा गएर देखाए हुने स्थिति छ ।

यो समयमा हाम्रा सामुदायिक विद्यालय र सामुदायिक शिक्षामा देखिएको सवैभन्दा ठूलो दुर्भाग्य नै यही हो । सचेत अभिभावक भएका विद्यालयहरू हाम्रो देशमा पनि राम्रा छन् । शिक्षाको सवालमा सचेत अभिभावकका सन्ततिहरूले हाम्रो देशमा पनि राम्रो गरेर देखाएका छन् ।

विद्यालय र बालबालिकाहरू गतिला हुनु भनेको यो देशको शिक्षा गतिलो हुनु हो । यो देशको शिक्षा गतिलो हुनु भनेको यो देशको जनशक्ति गतिलो हुनु हो । जनशक्ति गतिलो भयो भने अन्ततः देश गतिलो हुन्छ र देशको भविष्य गतिलो हुन्छ । शिक्षा गतिला नभएर देश गतिलो भएका दृष्टान्तहरू संसारमा भेटिदैनन् । बरू शिक्षा गतिलो भएको कारण देश गतिलो भएका दृष्टान्तले दुनिया भरिएको छ ।

त्यसैले म त भन्छु, बालबालिकाहरूलाई माया गरौं, उनीहरूका क्षमता र संभावनाहरूको उत्खनन् गरेर उनीहरूको जगेर्ना र विकास गरौं । बालबालिकाकालाई शिक्षा दिने विद्यालयलाई पनि माया गरौं । राम्रो बनाउनका लागि प्रयास गरौं । नराम्रो हुन नदिनका लागि खवरदारी गरौं । अभिभावक चाहे देशका होउन् वा बालबालिकाका, उनीहरूबाट गतिलो कर्म नभएको कुरा सर्वत्र जगजाहेर छ । मेरो शुभकामना, ढिलै भए पनि बुद्धि फर्कोस्, उनीहरूबाट पवित्र कर्म हओस्, यही पवित्र कर्ममै हाम्रो देश र हाम्रा बालबालिकाको भविष्य सुनिश्चित हुनेछ । सबैलाई चेतना भया ।