२०७७ माघ ३, शनिबार

अमिलियामा डेडदर्जन साहित्यिक संस्थाद्वारा साहित्यिक कार्यक्रम

22दाङ  मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा क्रियाशील डेडदर्जनजति साहित्यिक संघ÷संस्थाहरूको आयोजनामा मिति २०७३ पौष १६ गते शनिवार दाङ जिल्लाको सतवरिया गा.वि.स.को अमिलियामा एक वृहत् साहित्यिक कार्यक्रम सम्पन्न भयो ।

अमिलिया साहित्य मिलन नाम दिइएको उक्त कार्यक्रम राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजना एवं अन्य पन्ध्रवटाभन्दा बढी साहित्यिक संस्थाहरूको सहआयोजनामा संयुक्तरूपमा संचालन भएको थियो भने पाँचदर्जन स्रष्टाहरूको सहभागिता रहेको थियो ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षता तथा प्र.ले.स.नेपालका केन्द्रीय उपाध्यक्ष पद्मप्रसाद शर्माको प्रमुख अतिथ्य, नागरिक समाज देउखुरीका संयोजक निमबहादुर थापा र साहित्यकार जागेश्वर शर्मा घिमिरेको बिशिष्ठ आतिथ्यमा संचालित उक्त कार्यक्रममा दाङ, बाँके, बर्दिया, सुर्खेत, कपिलवस्तु, जाजरकोट र कैलाली समेतका गरी तीन दर्जनभन्दा बढी स्रष्टाहरूले गीत, गजल, कविता, मुक्तक आदि आ–आफ्ना रचनाहरू वाचन गरेका थिए ।

यसैगरी कार्यक्रमको आयोजना गर्ने अन्य साहित्यिक संस्थाहरूमा देउखुरी साहित्य तथा संस्कृति मञ्च, मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान, थारु भाषा तथा साहित्य संरक्षण मञ्च दाङ, शिवगढी साहित्य संगम कपिलवस्तु, सर्वदा साहित्य संगम बाँके, देउखुरी गजल अभियान दाङ, सहयात्रा साहित्य समूह नेपालगञ्ज, गजल अभियान दाङ, राजापुर साहित्य प्रतिष्ठान बर्दिया, प्रगतिशील लेखक संघ दाङ, प्रगतिशील लेखक संघ बाँके, नयाँ धर्ती साहित्य समाज सुर्खेत, वाणगंगा साहित्य परिषद् कपिलवस्तु, दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान तुल्सीपुर यसैगरी जग्रार साहित्यिक बखेरी कैलाली र परदेशी साहित्य समाज भारत थिए । रचना वाचन कार्यक्रमको अध्यक्षता स्थानीय मा.वि.अमिलियाका प्र.अ.गोपाल न्यौपानेले गर्नुभएको थियो ।

दाङ र बाँके जिल्लाको सिमाना क्षेत्र अमेलियामा भएको उक्त साहित्यिक कार्यक्रमा सहभागी स्रष्टाहरूले यसप्रकारको संयुक्त संस्थागत साहित्यिक कार्यक्रमबाट राष्ट्रिय एकताका सवालमा टेवा पुग्नुका साथै स्रष्टाहरूबीच आपसी सद्भाव बढ्न जाने कुरामा निकै नै प्रभावकारी भएको ठहर गर्दै खुशी व्यक्त गरेका थिए । साथै स्रष्टाहरूले त्यहाँ वाचित रचनाहरूको एक वर्षभित्र एउटा पुस्तकाकार सङ्ग्रह प्रकाशन गर्ने र कार्यक्रमको निरन्तरतामा जोड दिने बचनवद्घता समेत प्रकट गरेका थिए ।

सो अवसरमा दाङका साहित्यकार जागेश्वर शर्मा घिमिरेद्वारा लिखित अँध्यारो चार प्रहरको नामक कविता सङ्ग्रहको विमोचन समेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पद्मप्रसाद शर्मा र आयोजक राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष कमलमणि देवकोटाले उक्त कृतिको संयुक्तरूपमा विमोचन गर्नुभएको थियो भने कृतिको समीक्षा साहित्यकार हरिकृष्ण ज्ञवालीले गर्नुभएको थियो ।
देउखुरी साहित्य तथा संस्कृति मञ्चका उपाध्यक्ष शेरबहादुर चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सहजीकरण राप्ती साहित्य परिषद्का सदस्य शिवराज पन्थी र सहयात्रा समूह नेपालगञ्जका हरिप्रकाश भण्डारीले गर्नुभएको थियो भने उपस्थित स्रष्टाहरूका लागि भोजनको व्यवस्था स्थानीय अखिल गायत्री परिवार अमिलियाले गरेको थियो ।