२०७७ कार्तिक ११, मंगलवार

सहकारीलाई रकम हस्तान्तरण

cropped-logo-1सुर्खेत, साउन १६ ।
हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोग र सुन्दर नेपाल संस्थाको सहजिकरणमा पश्चिम सुर्खेतको कुनाथरी गाविसमा सञ्चालित साना किसान उद्यमी सुदृढीकरण परियोजनाले दुईवटा सहकारी संस्थालाई पशु बीमा रकम र उपहार कोषको रकम हस्तान्तरण गरेको छ ।

शनिबार एक कार्यक्रमका बीच सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुषाल र हेफरका इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत चन्द्रा आचार्य को उपस्थितिमा सफलता सामाजिक उद्यमी महिला सहकारी संस्था र भेरीकिनारा समाजिक उद्यमी महिला सहकारी संस्थालाई पशु बीमा र उपहार कोषको रकम हस्तान्तरण गरिएको हो ।

सफलता सहकारीलाई २ लाख ९२ हजार ४ सय ५० र भेरी किनारालाई ४० हजार पशु बीमा बापतको रकम हस्तान्तरण गरिएको छ । यस्तै, उपहारकोष अन्तर्गत सफलतालाई १ लाख ९६ हजार ६ सय ७४ रुपैयाँ र भेरी किनारालाई १ लाख ४२ रुपैयाँ हस्तान्तरण गरेको हो ।

रकम हस्तान्तरणपछि सुन्दर नेपाल संस्थाका अध्यक्ष हेम प्रकाश भुषालले सहकारीमार्फत बेरोजगारीको समस्या समाधान हुने भएकाले क्रियाशिलताका साथ लाग्न आग्रह गरे । उनले महिलाहरुलाई गाउँमा पशुपालन र कृषि उत्पादनको सम्भावना भएकोले महिलाहरुलाई सहकारीमार्फत कृषिमा आवद्ध हुन आग्रह गरे ।

यस्तै, हेफर इन्टरनेशनल नेपालकी कार्यक्रम अधिकृत चन्द्रा आचार्य गाउँमै बाख्रा पालन गरी खसी उत्पादन गर्नसके मनग्य आम्दानी हुने र श्रीमानलाई विदेश पठाउन पनि नपर्ने बताइन् । हेफरले छिट्टै सहकारीमार्फत अर्को परियोजना लागु गर्न लागेको भन्दै महिलाहरुले गाउँमै राम्रो उत्पादन दिन सके हालकै क्षेत्रमा लागु हुने उल्लेख गरिन् ।

कार्यक्रममा साना किसान उद्यमी सुदृढीकरण परियोजनाका संयोजक पदमबहादुर दर्लामी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, सफलता सामाजिक उद्यमी महिला सहकारी संस्था र भेरी किनारा सामाजिक उद्यमी महिला सहकारी संस्थाका पदाधिकारी तथा शेयर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।