२०७७ मंसिर १०, बुधबार

सामुदायिक विद्यालयमा छड्के निरीक्षण १९ विद्यालयका ५० शिक्षक अनुपस्थित

15781320_633583113509515_1604268745959540444_nसुर्खेत,  । जिल्ला शिक्षा कार्यालय, सुर्खेतले दोस्रोपटक जिल्लाका सामुदायिक विद्यालयहरूमा छड्के अनुगमन गरेको छ ।

जिल्लाका सामुदायिक विद्यालयको अवस्थाबारे पत्ता लगाउन र आगामी दिनमा विद्यालयहरूलाई सही मार्ग निर्देशन गर्नका लागि जिल्ला शिक्षा कार्यालय, सुर्खेतले विद्यालयहरूको छड्के अनुगमन गरेको हो ।

जिल्ला शिक्षा कार्यालयले मंगलबार सुर्खेतका लाटीकोइली स्रोत केन्द्र अन्तर्गतका आधारभूत ११ र मावि ८ वटा गरी १९ वटा विद्यालयहरूको अनुगमन गरेको हो ।

अनुगमन गरेका विद्यालयहरूका ५० जना शिक्षकहरू अनुपस्थित भएको जिल्ला शिक्षा कार्यालय, सुर्खेतले जनाएको छ । जिल्ला शिक्षा कार्यालयका निरीक्षक, स्रोतव्यक्ति र अन्य कर्मचारी गरी २६ जनाको सहभागितामा भएको अनुगमनका क्रममा गाग्रेतालमा रहेको चन्द्रगंगा माध्यमिक विद्यालयमा अहिलेसम्म पनि विद्यालय व्यवस्थापन समिति गठन नभएको पाइएको छ ।

जिल्ला शिक्षा कार्यालय, सुर्खेतले पुसको ३ गतेसम्म विद्यालय व्यवस्थापन समिति गठन गर्न निर्देशन दिए पनि यविद्यालयमा अहिलेसम्म पनि विद्यालय व्यवस्थापन समिति गठन नभएको पाइएको छ । अब पुस मसान्तसम्म पनि विद्यालय व्यवस्थापन समिति गठन नभए विद्यालयको खाता रोक्का गर्ने जिल्ला शिक्षा कार्यालयले यसअघि नै जानकारी गराइसकेको छ ।

यस्तै, अनुगमनका क्रममा अन्यत्र दरबन्दी भई लाटीकोइली विद्यालयमा काजमा रहेका शिक्षकहरू १२ जना रहेको पाइएको छ । लाटिकोइली स्रोत केन्द्र उपत्यकाभित्रै पर्ने भएकोले राजनीति गर्न सजिलो हुने भएकोले पनि यहाँका विद्यालयहरूमा काजमा शिक्षकहरू आउने गरेका हुन् ।

यस्तै, हरिडिलभूमि आधारभूत विद्यालय तातापानी र पुष्पबाटिका प्रावि मनिकापुरले प्रार्थना सभा नै सञ्चालन नगर्ने गरेको पाइएको छ । अनुगमनका क्रममा जम्मा विद्यार्थी संख्यामध्ये अनुगमन गरिएका विद्यालयहरूमा ८१.२५ प्रतिशत उपस्थित भएका थिए ।

यस्तै, अनुगमनका क्रममा विद्यालयहरूको भौतिक अवथा राम्रो देखिएको छ भने शौचालय प्रयोगको अवस्था दयालाग्दो छ । केही विद्यालयमा फर्निचर कमी, वातावरणीय सरसरफाइ सन्तोषजनक देखिएको छ । धेरै विद्यालयहरूले विद्यालयको सामाजिक परीक्षण र लेखापरीक्षण गर्न बाँकी रहेको, अधिक विद्यालयमा एकोहोरो लेखा प्रणाली र छात्रवृत्ति वितरणसमेत नभएको पाइएको छ ।

विद्यालयको शैक्षणिक योजनामा कमी, शिक्षण सुधार योजना नबनेको, पाठ्यक्रम र सामग्रीको न्यून प्रयोग गर्ने गरिएको, प्रधानाध्यापकहरूबाट अवलोकन न्यून हुने गरेको, विद्यालय सुधार योजना अध्यावधिकमा कमी, कार्यान्वयनमा कमी भएको पाइएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । यस्तै नतिजा विश्लेषण कमी, अधिकांश शिक्षण विधि परम्परागत रहेको पाइएको छ ।

प्रशासनिक अभिलेखीकरणमा कमजोरी, बैठकमा शैक्षिक एजेण्डा उठाइएको, शिक्षकको कार्य विभाजन ठीकै, सह–क्रियाकलाप अपर्याप्त रहेको पाइएको जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले जानकारी दिए । केही विद्यालयमा भने राम्रा अभ्यासहरू पनि भएको पाइएको छ । शुक्रबारीय कार्यक्रम, शिक्षक डायरी, सरसफाइमा सक्रियता, फिल्टर पानी, क्षेत्र भ्रमण, अभिभावक अन्तरक्रिया, विद्यार्थी परामर्श, जिम्मेवारी बाँडफाँड लगायतका क्रियाकलापहरू पनि भएको पाइएको जिल्ला शिक्षा अधिकारी शाहको भनाइ छ ।

विद्यालयहरूमा शौचालय प्रयोग र सरसफाइमा कमी, खेलमैदानको अभाव, सिकाइ उपलब्धि नबढेको, शुद्ध पिउने पानीको समस्या, प्राविमा विद्यार्थी संख्या कमी, स्टाफ समन्वयमा कमी, अभिभावकको चासोमा कमी, अभिलेखीकरणमा समस्या, दरबन्दीमा रहेका शिक्षकहरूबाट अंग्रेजी माध्यममा पठनपाठनमा समस्या रहेको पाइएको छ । यसैबीच, जिल्ला शिक्षा कार्यालय, सुर्खेतले अनुपस्थित भएका शिक्षकहरूसँग स्पष्टीकरणको माग गरी थप कारवाही अघि बढाइने जनाएको छ ।