२०७७ माघ ११, आईतवार

५ महिनामै करिब २ हजार प्रतिलिपी नागरिकता वितरण यसकारण बढे प्रतिलिपी नागरिकता लिनेहरू

 15871164_1197505043696104_1308277646_nसुर्खेतमा एक वर्ष अघिदेखि बढेको नागरिकताको प्रतिलिपी लिने दर अझै घट्न सकेको छैन । गत वर्ष झण्डै नया नागरिकता बराबर प्रतिलिपी वितरण गरेको जिल्ला प्रशासनले यो चालु आर्थिक वर्ष २००७४ मा पनि उत्तिकै दरमा प्रतिलिपी नागरिकता वितरण गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, सुर्खेतका अनुसार गत साउनदेखि मंसिरसम्म जम्मा नयाँ नागरिकता दुई हजार ८ सय २९ वटा वितरण गरेको छ । त्यसमध्ये एउटा मात्रै ववौहिक अंगिकृत रहेको छ भने बाँकी सबै नागरिकता वंशजका आधारमा वितरण गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले जानकारी दिए ।

यसै चालु आर्थिक वर्षको यो पाँच महिनाको अवधिमा नागरिकताको प्रतिलिपी लिनेहरूको संख्या पनि धेरै रहेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म एक हजार ९ सय ४१ वटा नागरिकताको प्रतिलिपी वितरण भएका छन् ।

चालु आर्थिक वर्षमा प्रतिलिपीसहित जम्मा चार हजार ७ सय ७० नागरिकता वितरण भएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए । नागरिकताको प्रतिलिपी लिनेको संख्या बढ्नुमा मुख्य दुई पक्षकै कमजोरी रहेको छ । नागरिकहरूले नागरिकलाई हिफाजत गर्न नसक्ने अर्थात् नागरिकताको महत्व नै नबुझ्ने भएकोले नागरिकता हराएर अर्काे प्रतिलिपी लिने गरेका छन् ।

नागरिकहरूले नागरिकताको प्रतिलिपी सजिलै पाउन सकिने भएपछि त्यसको हिफाजतसमेत नगर्ने गरेको जिल्ला प्रशासन कार्यालय, सुर्खेतका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी हितराज पौडेलले बताए । यस्तै, कतिपय युवाहरूले आफूहरू विदेश जान लागेको र नागरिकतामा अंग्रेजीमा पनि विवरण हुनुपर्ने भन्दै नागरिकताको प्रतिलिपी लिन आउने गरेको प्रशासकीय अधिकृत पौडेलले बताए ।

पुरानो नागरिकतामा नेपाली भाषामा मात्रै विवरणहरू उल्लेख गरिएकोले विदेश जाने निहुँमा नागरिकताको प्रतिलिपी लिनेहरू पनि धेरै रहेका छन् । यस्तै, विभिन्न शिविरका समयमा बनाएका नागरिकताहरूमा फोटो छिटो नै मधुरो हुँदै सबै रङ्ग नै मेटिने गरेको पाइएको छ ।

साथै पुराना नागरिकताहरू एक पात्ते कमजोर भएकोले पनि छिटो च्यातिने, हातले लेखेका नागरिकताहरूको अक्षरहरू मेटिएकाले पनि प्रतिलिपी लिनु नागरिकहरू बाध्य भएका छन् । पुरानो मोडेलका नागरिकताहरू छिटो च्यातिने र अक्षर मेटिने भएकोले पनि प्रतिलिपी लिनेहरू बढेको पौडेलको भनाइ छ । यदि कसैले धेरै पटक प्रतिलिपी लिएको भेटिएको खण्डमा भने केरकार गरे मात्रै नागरिकता दिने गरेको पौडेलले बताए ।

‘‘नागकिहरूले नागरिकताको हिफाजत नगर्दा हराउने भएकोले पनि प्रतिलिपी लिनेको संख्या बढेको छ,’’ उनले भने, ‘‘पुरानो मोडेलका नागरिकतामा हातले लेखेका अक्षर मेटिने, च्यातिने हुँदा पनिसमस्या देखिएको हो, यदि कसैले धेरै पटक प्रतिलिपी लिन लागेको पाइए हामी केरकार गरेर मात्रै दिन्छौँ ।’’ यसैबीच, जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा सरूवा भएर आएका प्रमुख जिल्ला अधिकारी पन्तले बुधबार पत्रकारहरूसग परिचयात्मक कार्यक्रम गरेका छन् ।

सुर्खेत आएको एक महिनापछि पत्रकारहरूसग परिचयात्मक कार्यक्रम गर्दै उनले शान्ति सुरक्षामा ठूलो चुनौती नभएको बताएका छन् । साथै उनले जिल्लाबाट अंगीकृत नागरिकता वितरण गर्न नसकेको बताए ।

यसैबीच, यो चालु आर्थिक वर्षकअन्य प्रगतिको बारेमा पनि जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । चालु वर्षको मंसिरसम्म राहदानीको दु्रत सेवाका लागि एक हजार तीन सय ३४, साधारण सेवा ९ सय ९१ गरी जम्मा २ हजार तीन सय २५ वटा सिफारिस गरिएको जानकारी दिएको छ । यस्तै, २८ नाबालकको परिचय–पत्र बनाएको जिल्ला प्रशासनले जानकारी दिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पन्तले जिल्लाका सबै कार्यालयहरूले तीन÷तीन महिनामा कार्यप्रगति सार्वजनिक गर्नुपर्ने बताएका छन् ।