२०७७ माघ ४, आईतवार

विद्यालय नभएको गाउँ

sakshar-750काठमाडौं, २३ पुस । पूर्वाधारमा जिल्लाकै पिडडिएको मानिने महोत्तरीको तारेचौरी गाउँमा न विद्यालय छ न त कुनै बालकक्षा । तर, बस्तीमा सबै जना साक्षर छन् ।

आजको कान्तिपुरमा खबर छ– चारकोसे झाडीनजिकैको यो एकलास गाउँमा ६० जाघेका वृद्धवृद्धाले आफ्नै सामुन्ने लेखपढ गरेको देख्दा जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहाल आश्चर्यमा परे ।‘मैले बुझेसम्म यो नै जिल्लाको पूर्ण साक्षर गाउँ हो,’ जंगली बाटो छिचोल्दै बुधबार तारेचौरी पुगेका दाहालले भने, ‘यहाँको शैक्षिक जागरुकता अरुका लागि समेत प्रेरक हुन सक्छ ।’

एक तामाङसहित मगर जातिका ६० घरधुरी बसोबास रहेको तारेचौरीका टेकमाया, भद्रीमाया, मीनमाय, मनमाया लगायत वृद्धवृद्धाले जिशिअ सामुन्ने लेखपढ गरेर देखाइदिए । गाउँको शैक्षिक समस्याबारे खुलेर छलफल गरे ।

१५ देखि ६० वर्षभित्रका ९५ प्रतिशतले लेखपढ गर्न जाने साक्षर बस्ती घोषणा गर्ने राष्ट्रिय नीति छ । स्थानीय युवक चित्रबहादुर जर्घाका अनुसार उक्त गाउँमा ९८ प्रतिशत साक्षर छन् । ‘साह्रै बुढा र केही सुस्त मनस्थितिका बाहेक सबैलाई धेरथोर लेखपढ गर्न आउँछ,’ उनले भने ।