२०७७ मंसिर १५, सोमबार

समाचार सूचना नदिने कार्यकारी अधिकृत दण्डित

राष्ट्रिय सूचना आयोगले सार्वजनिक सरोकारको सूचना नदिएको अभियोगमा वीरगन्ज उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत पिताम्बर अधिकारी र सूचना अधिकृत प्रकाशमान सिंहलाई दण्डित गरेको छ ।

आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटा, सदस्यहरु किरणकुमार पोखरेल र यशोदा तिम्सिनाको इजलाशले शुक्रबार दुवै सरकारी अधिकारीलाई १०–१० हजार रुपैयाँ जरिवानाका साथै विभागीय कारवाहीको आदेश गरेको हो । आयुक्त पोखरेलले सामान्य सार्वजनिक सरोकारका सूचना दिनसमेत सरकारी अधिकारीले अटेर गरेका हुनाले आयोग दण्ड दिन बाध्य भएको बताए ।

वीरगन्ज उपनपा १० का रामपुकार रौनियारले उपमहनागरभित्र व्यवसाय गर्न सकिने प्रक्रिया, राजस्व, नि:शुल्क रुपमा व्यवसाय गर्न पाउने मापदण्ड लगायतका विषयमा लिखित सूचना माग गरेका थिए । उपमहानगरपालिकाले उक्त सूचना नदिएपछि आयोगमा उजुरी गरेका रौनियारलाई सूचना दिन आयोगले समेत निर्देशन दिएको थियो ।

तर, आयोगको निर्देशनलाई समेत उपमहानगरले नटेरेपछि सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३२ बमोजिम कारवाही गरिएको हो । आयोगले जरीवाना असुल्न जिल्ला प्रशासन कार्यालयलाई र बिभागीय कारवाहीका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पत्राचार गरेको छ ।

ekantipur bat