२०७७ मंसिर १०, बुधबार

समस्या समाधानको नेतृत्व सभामुख– ‘सम्पादकीय’

संविधान संशोधनको विषयपछि मात्रै धेरै राजनीतिक गाँठाहरु फुक्ने देखिन्छ । यसका लागि विभिन्न पहलहरु भईरहेका छन् । राजनीतिक दलहरु सत्ता पक्ष र प्रतिपक्ष भइरहँदा सभामुख ओनसरी घर्ती संविधान संशोधनको कुरा संसदबाटै फुकाउने प्रक्रियामा लागेकी छन् । यस्तो कुरामा दलहरु जिम्मेवार हुनुपर्नेमा अहिलेसम्म पनि आ–आफ्ना हठले विभिन्न समस्या उत्पन्न भईरहेका छन् । यदि संविधान संशोधन नभए देशले विभिन्न समयमा विभिन्न संकटहरु व्यहोरिरहनुपर्ने देखिन्छ । केही दिन अगाडि संशोधनका लागि प्रस्ताव संसदमै पेश भएको छ ।

सभामुखलाई झुक्याएर विधेयक पेश गरेको आरोप लागिरहेको छ । तर सभामुख ओनसरी घर्ती मगरले संविधान संशोधन सहमतिमै हुने बताएकी छन् । नेपालको संविधानको कार्यान्वयनका लागि पनि सम्पूर्ण राजनीतिक दलहरु सहमतिमा आउनुपर्नेमा सभामुखको चासो, सुझाव छ ।

संविधान संशोधनका विषयमा अहिले राजनीतिक दलहरुबीच फरक– फरक बुझाई भएकोले विवाद भएको देखिन्छ । दलहरुबाटै सहमतिको लागि प्रयत्न हुने हो भने यसले मात्रै खासमा निकास निस्कन र पछिसम्मका लागि पनि राजनीतिक समस्याको समाधान हुन सक्छ ।

जनताभन्दा माथि कोही पनि हुन सक्दैन । र सबैले जनता केन्द्रित राजनीतिक गर्नुपर्छ । फेरि पनि दलहरुले समाधानको विन्दु पत्ता लगाउनतर्फ ख्याल गर्नुपर्छ । त्यसमा सभामुख भनेको सहमतिका लागि प्रयत्न गर्ने एउटा महत्वपूर्ण पात्र हुन् । सभामुखलाई सहज बनाउने र संविधान संशोधन गरेर निर्वाचन केन्द्रित कार्यभारमा सबैको चासो र ध्यान केन्द्रित होस् । अनि मात्रै अहिलेसम्म देखिएका साना–तिना राजनीतिक समस्या समाधान हुन सक्छन् । दलहरुले सहमतिको सहज वातावरण बनाईदिने र त्यसको नेतृत्व सभामुखले गर्ने कुराले मात्रै अहिलेको समस्याको समाधान हुन सक्छ ।