२०७७ मंसिर ९, मंगलवार

लोप हुन लागेको देउडा संस्कृति– ‘सम्पादकीय’

पुराना पुस्ताले जे कुरा सम्मान गर्छ, हामी त्यो भुलिरहेका छौँ । सभ्यता, संस्कृति र परम्परा हाम्रा सम्पत्ति हुन् भन्ने थाहा त छ तर ति सम्पत्तिलाई कसरी हिफाजातका साथ राख्ने भन्ने चिन्ता हामीमा कत्ति पनि छैन । त्यसको प्रमाण भनेको अब हामीले पुराना संस्कृति र कलाहरुलाई नेपालको कुनै ठूलो संग्रहालयमा गएर पनि पाउनेवाला छैनौँ । अहिले यस्तै प्रकारका समस्याहरुले हामीलाई कालान्तरमा धेरै समस्या पार्नेवाला छ ।

पछिल्लो समय यस्तै संकटमा परेको छ, देउडा संस्कृति । नेपालको मौलिक भाका मध्य र सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा मात्रै गाउने खेलिने गरिन्छ । यसलाई संस्कृतिमा मध्यपश्चिम तथा सुदूरपश्चिमको ढुकढुकी देउडा गीत पनि भन्ने गरिन्छ । यो पछिल्लो समयमा आएर लोप हँुदै गएको छ । देउडा संस्कृतिलाई माया गर्ने श्रष्टाहरुलाई आधुनिक कला, संस्कृतिमा टिक्न र बिक्न समस्या भएपछि देउडा गीत पछिल्लो समयमा लोप हँुदै आएको हो । समयको परिवर्तनसँगै बजारको मागअनुसारका रिमिक्स, आधुनिक, लोक गीतसंगीतहरुले छुट्टै पहिचान बोकेपछि मध्य तथा सुदूरपश्चिमकै देउडा संस्कृति पछिल्लो समयमा संकटमा परेको छ ।

मेला पर्वमा रमाउन गाइने ठाडी भाका, देउडालाई बिर्सेर दोहोरीमा पछिल्लो समयमा लोक दोहोरी, आधुनिक, गजल तथा अन्य विभिन्न किसिमका गीतहरु बजारमा गुञ्जिन थालेपनि देउडाको अस्तित्व नै संकटमा परेको पाइन्छ । बजारमा प्रविधिको विकास भएपछि देउडा संस्कृति संकटमा पर्दै गएको छ । प्रविधिको कारणले नै मध्यपश्चिम तथा सुदूरपश्चिमको देउडाको अस्तित्व घट्दै गएको स्थानीयबासिन्दाहरुले गुनासो गर्ने गरेका छन् । पछिल्लो पुस्ताले देउडा लगायतका संस्कृति संरक्षणमा चासो व्यक्त नगर्ने भएपछि पनि यस्तो समस्या आएको हो । निजी क्षेत्रबाट विभिन्न प्रयासहरु जारी छन् । तर राज्यले नै औपचारिकरुपमा कार्यक्रम बनाएर यस्ता संस्कृतिको इतिहास बचाउन जरुरी छ । यदि हामीले अहिले यसरी देउडाजस्तो मौलिक संस्कृतिको जगेर्ना गर्न सकेनौँ भने पछि चाहेर जति महङ्गो मूल्य चुकाए पनि यो संस्कृति पाउनेवालाछैनौं ।