२०७७ माघ ४, आईतवार

‘बाहिर घुम्न जाने र कमाउने रहर सपना भो शुक्रराजको

limbu-358x300सुर्खेत वीरेन्द्रनगर चिसापानीको एकान्त जंगल नजिकै रहेको राम जानकी सामुदायीक उपभोक्ता समुहको काठलाई कुरेर बसेका शुक्रराज लिम्बुलाई मानिसहरु बाटोमा हिडेको देख्दा आफूपनि त्यसरी हिड्न मन लाग्छ । हिडेर मन लागेको ठाउँ पुग्ने मनको रहर लिम्बुको मनैमा छ । आफ्नो घर बनाएर बस्ने सपना पनि कलिलै उमेरमा चकनाचुर भएको छ ।

लिम्बुको उमेर ३८ वर्ष मात्रै भयो । उनको ५ जना परिवार छ । आमा र भाई बुहारी छन् । ‘पेटभरी खान पाइदैन । बजारमा माग्न जाँदा आमाले घरबाट निस्की हाल भिकारी भन्नु हुन्छ’ लिम्बुले अनलाइन डबलीसँगको कुराकानीको सुरुमै भने । ‘भाई बुहारीले कमाई गरेका छन् । म किन जन्मेको रहिछु, पापी भगवानबाट ठगिएको भाग्य जस्तो लाग्छ’ लिम्बुले भने । उनले आफ्नी आमा बिरामी भएकाले आफू भोकै जीवन बिताउन बाध्य भएको बताए ।

कसैले दया मानेर खाने कुरा दिने गरेका छन् । कसैले हकारेर पठाउने गरेको शुक्रराजको भनाई रहेको भन्दै लिम्बुले भने, ‘म यस्तो नभएको बाहिर विदेश गएरै भएपनि कमाई गरेरै भएपनि आमालाई पाल्ने मेरो सपना थियो, पूरा भएन ।’

लिम्बु जन्मजात अपाङ्ग हुन् । भाई बुहारीहरुले खाना पनि राम्रो मनले नदिने र उल्टै पिट्न खोज्ने गरेको उनले सुनाए । ‘के गरौं, म यस्तो नभएको भए पैसा कमाएर भाईबुहारी आमालाई सहयोग गर्ने थिए’ आँशु झार्दै उनले भने । आमाले भिकारी भन्दै गाली गर्ने गरेको दुःखेसो पोखे ।उनकाे लागि घरबाट निस्केर जाने ठाउँ कतै छैन ।

लिम्बुले राम जानकी सामुदायीक उपभोक्ता समुहको काठ हेरचाह गरिरहेका छन् । कहिले कही महिनाको ५ सय रुपैयाँदेखि १५ सय रुपैयाँसम्म पाउछन् । त्यही पैसा पनि भाई बुहारीले खोसेर लिने गरेको उनले बताए ।

आँखाबाट आसु झार्दै लिम्बुले भने, ‘बाहिर घुम्न जाने र कमाउने रहर सपना भो, म किन जन्मे हुँला ।’ उनले धेरै दिन भाेकै बसेकाे र थाेरै दिनमात्र पेटभरी खाएकाे अनुभूति सुनाए ।