२०७७ माघ ४, आईतवार

महिलाको अनुकरणीय काम– ‘सम्पादकीय’

पौरख सानो होस् या ठूलो । थोरै देखियोस् या धेरै । पौरख, पौरख नै हो । कर्म, कर्म नै हो । कर्मले सबै सम्भावनाका ढोकाहरु उघारिदिन्छ । जस्तासुकै असम्भवहरु पनि सम्भावनाभित्र पर्छन् । साना–तिना योजनामा बनेका कर्म र योजनाहरु पनि पौरखमा परिणत हुन्छन् ।

यस्तै कर्म गरेर पौरखी बनेका छन् सुर्खेत चिसापानीका महिलाहरु । उनीहरु संगठित रुपमै पौरखी बनेर काम गरिरहेका छन् । उनीहरुले ग रेको कतिपय कुराहरु अनुकरणीय पनि छन् । यहाँको वीरेन्द्रनगर नगरपालिका–५, चिसापानीका महिलाहरुले व्यवसायिकरुपमा दुनाटपरी व्यवसाय गरेर आयआर्जन गर्न थालेका छन् ।

रामजानकी दुनाटपरी समूहका माध्यमबाट महिलाहरुले दुनाटपरीलाई व्यवसायका रुपमा सञ्चालन गरेका छन् । लद्यु उद्यमी सीप सिकेर उनीहरुले अहिले त्यसैबाट जीवन चलाउँदै आएका छन् । सुरुमा घरको चुलो र चौकोमा सीमित रहँदै आएका महिलाहरु पछिल्लो समयमा सीप सिकेर लघु उद्यम व्यवसायलाई आफ्नो पेशाको रुपमा लिएका छन् ।

घरमा पारिवारिक बन्धनमा बाँधिएका महिलाहरु हिजोआज जीवनोपयोगी सीपलाई व्यवहारमा कार्यान्वयन गरेका छन् । उनीहरु न अहिले आफै पश्चाताप परेर बस्छन्, न त अरु कसैले गरेको कामको चर्चा मात्रै गरेर बस्छन् । विभिन्न समस्याका बीचबाट हुर्किएका उनीहरुले दुना टपरीको उत्पादन र बिक्री गरेर भएपनि केही गर्न सक्ने आँट देखाएर त्यही सुरुवात गरे । साना–तिना पारिवारिक समस्या टार्नका लागि पनि ति महिलाहरुले सुरु गरेको काम अहिले संगठित रुपमै अगाडि बढ्न थालेको छ । यो कुराले सम्भावनाहरु छरपष्टरुपमा गाउँमै छन्, त्यसलाई समात्न सक्नुपर्छ भन्ने सिकाएको छ । चिसापानीका महिलाहरुले गरेको सह्रानीय र उदाहरणीय काम अरु सबैले पनि सिकुन् ।