२०७७ मंसिर १०, बुधबार

संविधानलाई आलोचनात्मक रुपमा स्विकार गर्दै स्थानीय चुनावमा भाग लिने जनसमाजवादी पार्टीको घोषणा

unnamedकाठमाडौं, १० माघ। जनसमाजवादी पार्टी नेपालले संविधानलाई आलोचनात्मक रुपमा स्विकार गर्दै स्थानीय चुनावमा जाने घोषणा गरेको छ ।

सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर आफ्नो आधिकारिक राजनीतिक धारणा सार्वजनिक गर्दै उक्त पार्टीले सरकारले तत्काल निर्वाचनको मिति घोषणा गरे चुनावमा जाने घोषणा गरेको हो।

पार्टीका अध्यक्ष सुवासराज काफ्लेले नेपालमा धेरै कम्यूनिष्ट पार्टी भएको तर जनपक्षीय काम कसैलेपनि गर्न नसकेको गुनासो पोख्दै भने,‘अब हाम्रो पार्टीले देशमा आर्थिक,सामाजिक र राजनीतिक रुपमा आमूल परिवर्तन गर्ने कार्यक्रम ल्याएर आएको छ, पर्यटनको विकास र उर्जा शक्तिको उत्पादन गर्नमा हामी केन्द्रित हुनुपर्छ।’

अध्यक्ष काफ्लेले अघि भने,‘अहिले नेपालमा जतिपनि पार्टीहरु छन्, यीनीहरूले राम्रो र जनताको लागि काम गरेका भए आज हाम्रो पार्टी दर्ता गर्नुपर्ने थिएन्, जनतालाई लाग्न सक्छ, यो पार्टीले पनि आफ्नै दुनो त सोझ्याउँने होला नि भनेर तर यसमा कसैलेपनि आशंका नराख्नुहोला, हामी त मुखले बोेलेर होईन, काम गरेर देखाउँछौँ।’

त्यस्तै कार्यक्रममा राजनीतिक बिश्लेषक डा. सुरेन्द्र केसीले बिश्वमा कम्यूनिष्ट सत्ता प्रतिरक्षामा रहेको बताएका छन्। उनले भने,‘हाम्रो नेपाल पनि यो प्रतिरक्षाको शिकार भैरहेको छ, अर्कोतर्फ कम्यूनिष्ट भन्नेहरूले जनताको हित भन्दापनि आफ्नो स्वार्थको लागि काम गरिरहेकाले यस्ता नयाँ पार्टीको उदय हुने गर्दछन्।’

सय नम्बरमा परेको जनसमाजवादी पार्टी नेपालमा आवश्यक छ त भनेर पत्रकारले गरेको प्रश्नमा केसीले भने,‘आवश्यक थिएन, तर जनता पुराना दलहरू र दशर्कांैदेखि उही नेताको भाषण सुन्दासुन्दा वाक्क र दिक्क भईसकेका छन्, र यीनले केही गरेनन् अब हामी केही गरेर देखाउँछौँ भनेरपनि यस्ता शक्ति जन्मिन्छन्, यो स्वभाविक हो।’

पार्टीका उपाध्यक्ष केबी भटराईले पनि आफ्नो पार्टीले संविधानलाई आलोचनात्मक कोणबाट स्विकार गरेको बताउदै आगामी दिनमा यसले अरु राजनीति शक्ति भन्दा फरक बिचारका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

कुल ६५ सदस्य केन्द्रिय कार्यसमिति गठन गरेको जनसमाजवादी पार्टी नेपालले सात प्रेदेशका सात उपाध्यक्ष, एक महासचिव लगायत सबैको जिम्मेबारी पनि तोकिसकेको जनाएको छ।

कार्यक्रममा अर्का उपाध्यक्ष तथा प्रदेश नम्बर ६ का प्रदेश प्रमुख रणबहादुर रम्तेल, महिला उपाध्यक्ष विष्णु लामिछाने बिक, महासचिव गोविन्द पौडेल लगायतले पार्टीको धारणा र आगामी कार्यक्रमका बारेमा आफ्ना विचार राखेका थिए।