२०७७ मंसिर ९, मंगलवार

जाजरकोटमा आधा दर्जन सडक र पुल अलपत्र

bridge-1जाजरकोट माघ ११ । सम्बन्धित निकायको उदासिनता, ढिलासुस्ती र लापरवाहीले जिल्लाका महत्वपूर्ण सडक र पुलहरुको निर्माण कार्य अलपत्र परेपछि नागरिको सडक सपना अधुरै रहेको छ ।

लामो समयदेखि सुरु भएपनि अलपत्र अवस्थामा रहेका आधा दर्जन वढी सडक र पुलको निर्माण कार्य यथासिघ्र सम्पन्न गर्न स्थानीयले माग गरेका छन् । जिल्लाका रणनैतिक सडक र पुलमा प्रयाप्त बजेट विनियोजन नहुनु, बिनियोजित बजेटको पनि निर्माण कम्पनीको ढिलासुस्ती तथा लापरवाहीले म्याद सकिदा समेत काम सम्पन्न नहुनु र सडक डिभिजनको उदासिनताले गर्दा ति आयोजना अलपत्र परेका हुन् ।

जिल्ला सदरमुकाम गाडी पुगेको १० बर्ष विति सक्दा पनि सदरमुकाम बाहिरका स्थानमा यातायात सेवा पुग्न सकेको छैन ।
निर्माण शुरु भएको १० वर्ष सम्म पनि गुणस्तरीय काम नहुँदा अलपत्र अवस्थामा रहेको खलंगा– पाँचकाटिया सडक, खलंगा–पाँचकाटिया–पैक– ब्याउलीढुङ्गा–जुम्ला, खलंगा–पाँचकाटिया–बारेकोट–जुम्ला र छेडा–चाँदे–जुम्ला सडक जस्ता रणनैतिक सडक, जाजरकोट–डोल्पा भेरीकरिडोरमा अलपत्र बैरीताल चिसापानी पुल, छिन्चु–जाजरकोट सडकमा अलपत्र पासागाड सिम्ली खोलामा मोटरपुल समयमा नबन्दा जाजरकोटबासीको यातायात सपना पुरा हुन पाएको छैन ।

सदरमुकाम खलंगा आउन अहिले पनि ग्रामिण भेगका बासिन्दा पैदल हिड्नुको विकल्प छैन । कार्कीगाँउ ६ का अमरबहादुर बस्नेतले भने,–‘सडक निर्माणले गति लिन नसक्दा अधिकांश बासिन्दा पैदल हिड्न बाध्य छन्,’ उनले थपे–‘बिरामीलाई उपचारमा लैजान र उपभोग्य समान लिन अहिले पनि डोकोमा बोक्नु पर्ने बाध्यता छ ।’’

जाजरकोट–डोल्पा सडकको रिम्ना खण्डमा करीव ४ सय मिटर सडक पुलको पहुँच मार्ग नबनाएर बषौं देखि अलपत्र पार्दा सिधा यातायात संचालनमा समस्या भएको छ । रणनैतिक महत्वका छेडा –चाँदे –जुम्ला र खलंगा–पाँचकाटिया–जुम्ला सडकमा चालु आर्थिक बर्षमा रकम विनियोजन नै नगरेपछि स्थानिय आक्रोशित भएका छन् ।

अर्थ मन्त्रालयले बजेट विनियोजन गर्ने भन्दै सडक डिभिजनलाई आशयपत्र लेखिपठाएपछि करीव ७÷७ करोडका दुई ओटा टेण्डर भएका थिए तर रकम आउने निश्चित नभएको र अन्य प्रक्रिया पनि पुरा नभएको भन्दै ति ठेक्का रद्ध भएका छन् ।
आर्थिक बर्ष शुरु भएको ६ महिना विति सक्दा पनि जुम्ला जोड्ने रणनैतिक सडकमा बजेट नआएपछि स्थानिय बासिन्दा सडक डिभिजन र नेता प्रति आक्रोशित भएको नागरिक अगुवा राजेन्द्र बिक्रम शाहले बताए ।

जाजरकोटमा शहरी, क्षेत्रीय र प्रादेशिक गरी चार दर्जन बढी सडक आयोजनामा बजेट विनियोजन गरिएको भएपनि सम्भावित रणनैतिक सडकमा हाल सम्म बजेट विनियोजन नभएको डिभिजन प्रमुख अशिस थापा मगरले बताए ।

‘‘हामीलाई अर्थले बजेटको लागी आशय पत्र दिएको छ रद्ध भएको सडकको पनि पुनः टेण्डर गर्ने तयारीमा छौ’ डिभिजन प्रमुख थापाले भने–‘तपाईहरुको सडक आयोजनाको कामप्रतिको चासो र चिन्ता स्वभाविक छ ।’’

एउटै कार्यालयले जाजरकोट, रुकुम र डोल्पा हेर्नु पर्ने भएकोले जनशक्तिको हिसावले पनि हामीलाई केही समस्या छ । सुर्खेत दैलेख हुदै जुम्ला जाने सडक भन्दा जाजरकोट जुम्ला सडक दुरीको हिसावले निकै छोटो छ ।
जाजरकोट र जुम्ला जोड्ने रणनैतिक सडक निर्माण भएमा कर्णाली सँगको ढोका खुल्ने र आर्थिक विकासमा महत्वपूर्ण उपलब्धी हुने जिल्लावासीको विश्वास छ ।

जिल्ला सदरमुकाम खलंगामा गाडी पुगेको १० बर्ष पुगिसक्दा समेत सदरमुकाम जोड्ने कुनैपनि सडक बन्न सकेका छैनन् । जिल्ला सदरमुकाम आउन अहिले पनि स्थानिय पैदल हिड्न बाध्य भएको र सडक निर्माणले गतिलिन नसकेपछि सडक सरोकार समिति गठन गरेर जिल्लावासी जुर्मुराएका हुन् ।

जिल्लाबासीका माग सुनुवाई नभए कडा संघर्षमा उत्रिन बाध्य हुने सरोकार समितिले चेतावनी दिएको छ । बषौंदेखि अलपत्र परेका सडक र पुल निर्माणको माग गदै जाजरकोटबासीको तर्फबाट सडक सरोकार समितिले रुकुमको चौरजहारी स्थित सडक डिभिजन कार्यालय पुगेर सरकारको ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित निर्माण कम्पनीको लापरवाहीले अलपत्र पारिएका विभिन्न सडक र मोटरेबल पुल यथासिघ्र निर्माण गर्न माग गदै सडक डिभिजन मार्फत सरकारको ध्यानाकर्षण गराईएको सडक सरोकार समिति जाजरकोटका संयोजक अमरसिंह राठौरले बताए ।

विभिन्न वहाना देखाउदै निर्माण व्यावसायीले काम अलपत्र पार्ने गरेको र सरकारी निकायले पनि बेवास्था गर्ने गरेको कारण आफूहरुले ठुलो समस्या भोग्नु परेको स्थानीयको दुखेसो छ ।