२०७७ कार्तिक ७, शुक्रबार

को हुन् प्रचण्ड ? नवनिर्वाचित प्रधानमन्त्रीको नालिबेली

prachanda-4-343x225काठमाडौं, २० साउन, — नवनिर्वाचित प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जन्म कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं २ लिवाडेमा विसं २०११ साल मंसिर २६ गतेका दिन भएको थियो । पिता मुक्तिराम दाहाल र माता भवानीदेवी दाहालको कोखबाट जेष्ठ पुत्रका रूपमा जन्मेका प्रचण्डको न्वारनको नाम छविलाल दाहाल थियो ।

प्रचण्ड सानै छँदा उनको परिवार कास्कीको ढिकुरपोखरीबाट चितवनमा बसाइ सरेको हो । लामो समयको राजनीतिक सहकर्मी डा. बाबुराम भट्टराईसँगै प्रचण्डले विसं २०२६ सालमा एसएलसी पास गरेका थिए । प्रचण्डले ललितपुरको पाटन संयुक्त क्याम्पसबाट २०३० सालमा आइएस्सी पास गरे । उनले कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर, चितवनबाट विसं २०३३ सालमा बिएस्सी—एजीको अध्ययन गरे ।

त्यसपछि उनी विसं २०३३ सालदेखि २०३५ सालसम्म गोरखाको आरुघाटमा एक स्कुलमा अध्यापन गर्न थाले जहाँ खिलराज रेग्मी सरकारका संस्कृति पर्यटन मन्त्री रहेका रामकुमार श्रेष्ठ प्रधानाध्यापक थिए । अध्यापनकै क्रममा प्रचण्ड २०३८ सालमा नेकपाको पूर्णकालीन सदस्यता लिएर अध्यापन र राजनीतिलाई सँगसँगै अगाडि बढाए । यद्यपि प्रचण्डमा २०२८ सालमा नै वामपन्थी राजनीतिको छाप परिसकेको थियो ।

चितवनमा रहँदा धनबहादुर विक र रूपलाल विश्वकर्मासँगको संगतका कारण प्रचण्ड वामपन्थी राजनीतितर्फ आकर्षित भए । २०३५ सालदेखि प्रचण्डले पूर्णकालीन तथा भूमिगत जीवन शुरु गरे । त्यसपछि उनको सम्पर्क कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठसँग भयो । नेकपाको चौथो महाधिवेशनपछि भक्तबहादुर श्रेष्ठसँग प्रचण्ड निकट रहे । २०३९ सालमा निर्मल लामा र मोहनविक्रम सिंहबीच विवाद आएपछि प्रचण्डले मोहनविक्रम समूहमा लागे ।
मोहनविक्रम सिंहसँग विवाद भएपछि प्रचण्ड मोहन वैद्यसँग नजिक हुन पुगे जतिबेला वैद्य मोहनविक्रमबाट छुिट्टएर नेकपा ’मशाल’ ९मोटो मशाल० का महामन्त्री भएका थिए । २०४२ सालमा मोटो मशालले गोप्य ढंगले सशस्त्र विद्रोहको तयार गरेको थियो । त्यो सूचना प्रहरीले पाएपछि मशालका दर्जनौं कार्यकर्ता पक्राउ परे । यसलाई माओवादीहरू सेक्टर काण्डको रूपमा स्मरण गर्छन् । सेक्टर काण्डपछि वैद्यले नैतिकताका आधारमा राजीनामा दिई प्रचण्डलाई पार्टीको महामन्त्री पद जिम्मा लगाए । त्यसयता प्रचण्ड लगातार माओवादीको नेतृत्वमा छन् ।

२०४६ सालको जनआन्दोलनपछि चार कम्युनिस्ट पार्टीहरू ’मशाल’, चौथो महाधिवेशन, सर्वहारावादी श्रमिक सङ्गठन र विद्रोही मसाल मिलेर नेकपा एकता केन्द्र बन्यो । प्रचण्ड महामन्त्री बने । सशस्त्र संघर्षमा जाने नजाने विवादका कारण नेकपा एकता केन्द्र विभाजित भयो, प्रचण्डहरूले माओवादीको नाममा जनयुद्ध शुरु गरे । नारायणकाजी समूह सशस्त्र संघर्षमा जान मानेन, जनमोर्चाको रूपमा सक्रिय भयो । २०५२ मा सशस्त्र ’जनयुद्ध’ थाल्नुभन्दा केही समयअघि प्रचण्डले गोरखाको गाईपुरमा केही युवालाई सैन्य तालिम दिएका थिए ।

माओवादी सशस्त्र संघर्षमै रहेको समयमा विसं २०५७ सालमा प्रचण्ड नेकपा माओवादीको अध्यक्ष निर्वाचित भए । प्रचण्ड नेतृत्वको माओवादीले देशमा एक दशकसम्म सशस्त्र संघर्षको नेतृत्व ग(यो । २०५७ सालमा भारतको जालन्धरमा सम्पन्न माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनले प्रचण्डपथको राजनीतिक सिद्धान्त पारित ग(यो । सोही अनुरूप माओवादीले २०५८ सालमा आफ्नो छुट्टै ‘जनमुक्ति सेना’ गठन ग—यो, जसको सर्वोच्च कमान्डर प्रचण्डलाई नै बनाइयो । माओवादीको जनसेनाका केही लडाकु नेपाली सेनामा विलय भए ।

२०६२ साल मंसिरमा संसदवादी दलसँग सातबुँदे सहमतिमार्फत संविधानसभा निर्वाचन गर्ने शर्तमा प्रचण्ड २०६३ साल असार २ गते प्रधानमन्त्री निवास बालुवाटारमा सार्वजनिक भएका थिए । २०६४ साल चैत्र २८ गते सम्पन्न संविधानसभा निर्वाचनमा प्रचण्ड काठमाडौ १० र रोल्पा २ बाट निर्वाचित भए ।
२०६५ साल साउन ३१ गते प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री र दोस्रो कम्युनिस्ट प्रधानमन्त्रीको रूपमा निर्वाचित भए । सेनापति रुक्माङ्गद कटवाल प्रकरणमा तत्कालीन राष्ट्रपति डा। रामबरण यादवसँग विवाद बढेपछि प्रचण्डले २०६६ वैशाखमा प्रधानमन्त्री पदबाट राजीनामा दिए ।

२०७० सालको संविधानसभा निर्वाचनमा प्रचण्ड सिराहा—५ बाट विजयी भएपनि काठमाडौं १० बाट पराजित भएका थिए । नेपाली काँग्रेससहित केही साना दलको समर्थनमा २०७३ साउन १९ गते प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री निर्वाचित भएका छन् । प्रचण्ड अत्यन्त तेजिलो स्मरणशक्ति भएका र प्रखर वक्तृत्व क्षमता भएका नेताको रूपमा चिनिन्छन् । भारतीय पत्रकार अनिर्वाण रोयले प्रचण्डको जीवनीमा आधारित ‘प्रचण्ड एक अज्ञात विद्रोही’ नामक पुस्तक लेखेका छन् ।