२०७७ मंसिर १४, आईतवार

यी हुन सुर्खेतका राम्रा र सुधार गर्नुपर्ने विद्यालय

16251144_1216817298431545_814444107_oसुर्खेत, माघ १२ ।जिल्ला शिक्षा कार्यालय सुर्खेतले एक महिनाभर जिल्लाका सामुदायिक विद्यालयहरुको अनुगमन गरी राम्रा र सुधार गर्नुपर्ने विद्यालयहरुको पहिचान गरेको छ ।

गत पुस महिनामा जिल्लाका विभिन्न स्रोत केन्द्रमा रहेका विद्यालयहरुको अनुगमन गरी शिक्षा कार्यालयले त्यस्ता विधालयहरुको पहिचान गरेको हो । जिल्लाका १४ वटै स्रोत केन्द्रमा केही विद्यालयहरुलाई अनुगमन गरी प्रत्येक स्रोत केन्द्रका एउटा राम्रो र एउटा सुधार गर्नुपर्ने विद्यालयहरुको पहिचान गरेको हो ।

अनुगमन गरिएका जिल्लाका एक सय १९ वटा विद्यालहरु मध्ये १४ वटा राम्रा र १४ वटा सुधार गर्नुपर्ने विद्यालहरु जिल्ला शिक्षाले पहिचान गरेको जनाएको छ । अन्य विद्यालयहरुलाई भने औषतमा राखिएको जिल्ला शिक्षा कार्यालय सुर्खेतका सूचना अधिकारी भोजप्रसाद लम्सालले जानकारी दिए ।

जिल्ला शिक्षा कार्यालय सुर्खेतले पहिचान गरेका विद्यालयहरुमा हरिहरपुर स्रोत केन्द्रको प्रावि सुगुरखाल विद्याल सुधार गर्नुपर्ने र सोही स्रोत केन्द्रको बराह आधारभूत विद्यालय राम्रो विद्यालयका रुपमा पहिचान गरिएको छ । यो स्रोत केन्द्रमा रहेका १० वटा विद्यालयहरुको अध्ययन गरिएको थियो ।

यस्तै अवलचिङ स्रोत केन्द्रमा ९ वटा विद्यालयहरुको पाम्कामा रहेको लालिगुराँस प्राथमिक विद्यालय हिलेपोखरी सुधार गर्नुपर्ने र पाम्का कै भर्जुनिमा रहेको सरस्वति प्राथमिक विद्यालयलाई राम्रो विद्यालयको रुपमा लिइएको छ । यस्तै वीरेन्द्रनगर स्रोत केन्द्रमा पनि ९ वटा विद्यालयको अनुगमन गरिएकोमा चनौटेको हस्तवीर प्रावि राम्रो र सरस्वति प्रावि तल्लो रानिमत्ता सुधार गर्नुपर्ने विद्यालयका रुपमा पहिचान भएको सूचाना अधिकारी लम्सालले जानकारी दिए ।

यसैगरी कल्याण स्रोत केन्द्रमा अनुगमन गरिएका ५ विद्यालय मध्ये सरस्वति प्रावि कर्मघारी राम्रो र जीवनज्योती प्रावि खोल्टेपानी सुधार गर्नुपर्ने विद्यालयका रुपमा पहिचान भएको छ । सहारे स्रोत केन्द्रमा ७ विद्यालयहरुको अनुगमन गरिएकोमा सहारेको जनसेवा आधारभूत विद्यालय राम्रो र मावि सिमघाट भने सुधार गर्नुपर्ने विद्यालयको रुपमा पहिचान गरिएको छ ।
गुमी स्रोत केन्द्रमा अनुगमन गरिएका विद्यालयहरु मध्ये लेखफर्साको आदर्श मावि राम्रो र आनन्द मावि गुमी सुधार गर्नुपर्ने विद्यालयका रुपमा पाइएको छ । यस्तै चोल्पा स्रोत केन्द्रमा अनुगमन गरिएका विद्यालयहरु मध्ये सेराको तुल्सि मावि राम्रो र दुर्पालाको जनता प्रावि सुधार गर्नुपर्ने विद्यालयका रुपमा पहिचान भएको छ ।

यस्तै रामघाट स्रोत केन्द्रका ६ विद्यालयहरुको अनुगमन गरिदा गणेश प्रावि सुधार गर्नुपर्ने र शिखर मावि रामघाट राम्रो विद्यालयका रुपमा पहिचान भएको छ । पलैैटे स्रोत केन्द्रका ७ विद्यालयको अनुगमन गर्दा कम्भिकोटको नेपाल राष्ट्रिय आधारभूत विद्यालय राम्रो र लामिदमारमा रहेको प्रावि सुधार गर्नुपर्ने विद्यालयका रुपमा पहिचान भएको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जनाएको छ । जिल्ला शिक्षा कार्यालय सुर्खेतको प्रतिवेदन अनुसार चौरासे स्रोत केन्द्रमा ८ वटा विद्यालयहरुको अनुगमन गरिएकोमा कालिका प्रावि राम्रो र नेपाल राष्ट्रिय प्रावि देविडाँडा सुधार गर्नुपर्ने विद्यालयका रुपमा पहिचान गरिएको छ ।

बजेडीचौर स्रोत केन्द्रमा १० विद्यालयहरुको अनुगमन गर्दा निमावि झ्यामा राम्रो र भेरीगंगा प्रावि गजौडा सुधारगर्नुपर्ने विद्यालयका रुपमा पहिचान गरिएको छ । यस्तै लाटिकोइली स्रोत केन्द्रमा अनुगमन गरिएका विद्यालयहरु मध्ये नेराप्रावि जामुनडाँडा राम्रो र सुब्बाकुनाको कालिका प्रावि विद्यालय सुधार गर्नुपर्ने विद्यालयको रुपमा रहेको छ ।

यसैगरी विद्यापुर स्रोत केन्द्रमा अनुगमन गरिएका विद्यालयहरु मध्ये गुदुको जीवनज्योती माध्यामिक विद्यालय राम्रो विद्यालय र कालेयामको सिद्देश्वरी प्राथमिक विद्यालय सुधार गर्नुपर्ने विद्यालयका रुपमा रहेको पाइएको छ । विजौरा स्रोत केन्द्रमा अनुगमन गरिएका विद्यालयहरु मध्ये लगामको सृजनशील प्राथमिक विद्यालय राम्रो र सुन्दापूरको सरस्वति प्रावि सुधार गर्नुपर्ने विद्यालयका रुपमा पहिचान भएको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जनाएको छ ।

जिल्ला शिक्षा कार्यालय सुर्खेतले विभिन्न चरणमा पुस महिनामा विद्यालयहरुमा छड्के अनुगमन गरी प्रतिवेदन तयार गरेको हो । उक्त प्रतिवेदन अनुसार लाटिकोइली स्रोत केन्द्रका विद्यालयहरुको सघन अनुगमन गरिएको थियो । जिल्लामा रहेको सामुदायिक विद्यालयहरुलाई सुधार गर्नका लागि राम्रो र सुधार गर्नुपर्ने विद्यालयहरुको पहिचान गरिएको कार्यालयले जनाएको छ । राम्रा विद्यालयलाई राम्रो बनाउन अभिप्रेरित गर्ने र तुलनात्मक रुपमा नराम्रा भएका विद्यालयहरुलाई सुधार गर्न प्रेरणा दिइने जिल्ला शिक्षा कार्यालयका सूचना अधिकारी भोजप्रसाद लम्सालले जानकारी दिए ।