२०७७ माघ ११, आईतवार

जुनी कम्युनले कानुनी मान्यता पाएन

DSC05554 (1)जाजरकोट माघ १२ । पश्चिम जाजरकोटमा रहेको जुनी कम्युनले विगत द्वन्द्वकालमा व्यवस्था परिवर्तनका पक्ष्यमा भयानक सामुहिक हत्याकाण्डको सामाना त गर्यो तर, व्यवस्था परिवर्तन पछि जुनी कम्युनले कानुनी मान्यता पाउन सकेन ।

डरलाग्दो युद्धको सबुद प्रमाणका रुपमा रहेको जुनी कम्युनले कुनै कानुनी मान्यता नपाएपछि कानुनी मान्यताका लागि सहकारी डिभिजन कार्यालय सुर्खेतमा जुनी बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका रुपमा दर्ता त भएको छ तर, बहुँउदेश्य सहकारी संस्थाले पाउनु पर्ने सरकारी सेवा हालसम्म कुनै पनि पाउन सकेको छैन । २०६५ सालमा दर्ता गरिएको जुनी बहुँउदेश्य सहकारीको संचालक समितिका अध्यक्ष नैनसिंह घर्ती हुन् भने सञ्चालक समितिमा ९ सदस्य रहेका छन् । उक्त बहुँउदेश्य सहकारीमा १ सय २५ जना सेर सदस्यहरु रहेका छन् ।

उक्त कम्युन २०६५ सालमा कानुनी रुपले बहुँ उदेश्य सहकारीमा परिणत भएता पनि २०६७ साल सम्म सामुहिक श्रम र सामुहिक स्वामित्वको रुपमा चल्दै आएको थियो । २०६७ साल देखि हालसम्म सामुहिक श्रम र निजी स्वामित्वको तरिकाबाट चल्दै आएको तत्कालिन कम्युन ईन्चार्ज ओइलसिंह घर्ती जानकारी दिए ।

तत्कालिन दंगा प्रहरीद्धारा गरिएको सामुहिक हत्यावाट २२ जनाले ज्यान गुमाएको पीडालाई कम तथा सामुहिकीकरण गर्न कम्युनको अवधारणा आफुले अघि सारेको बताउदै तत्कालिन त्यस एरिया सेक्रेटरी समेत रहेका अमरसिंह राठोरले भने–“सामुहिक हत्याकाण्डबाट बलिदान गरेकाहरुको घरपरिवार तथा बालबच्चाहरुको शिक्षा, स्वास्थ्य, लत्ताकपडा र दैनिक उपभोग्य खाद्य बस्तुको आपुर्तीलाई सहज र साझा बनाउन पार्टीको योजनामा २०५६ साल चैत्र १२ गते जुनी कम्युनको विधिबत रुपमा गठन गरिएको हो ।”

द्धन्दको समयमा गाउँमा भएको भयानक सामुहिक हत्यावाट भएको मानविय क्षतिले घरमा भएका महिला तथा बालबालिकाहरुका लागि आवश्यक पर्ने खाद्य वस्तुको आपुर्ती गरिदिने मान्छे घरमा नभएपछि र गाउँमा भएका मान्छेहरु पनि गाउँ छोडेर भाग्न थालेपछि पार्टीका तर्फबााट कम्युनको अबधारणा अगाडी सार्नु परेको नेता राठौरको भनाई रहेको छ ।

२०५५ साल असार ३ गते दह गाविसको वडानं–२ जुर्कका खेतमा धान रोपीरहेका ८ जना हलि, बाउसे र एक जना गर्खाकोट छिर्कका नागरिकलाई गर्खाकोटबाट आएको दंगा प्रहरीले गिरिफ्तार गरेर साँदलाग्ने लेकमा लिएर माओवादीको आरोपमा सामुहिक हत्या गरेको थियो ।

यो भयानक मानव हत्याकाण्ड जुनीको लागि पहिलो कत्याकाण्ड थियो । माओवादी आरोपमा साँदलाग्ने लेकमा लिएर प्रहरीद्धारा सामुहिक हत्या गरिएकाहरुमा जुर्कका रामबहादुर बुढा, खड्कबहादुर बुढा, लालबहादुर बुढा, हर्कबहादुर बुढा, हस्तबहादुर बुढा, भावल बुढा, लालु बुढा, पुर्णबहादुर घर्ती र गर्खाकोट छिर्कका हर्क दमाई रहेका थिए ।

९ जनाको ज्यान जानेगरी भएको डरलाग्दो मानव हत्याकाण्डको आलो घाउँ पुरिन नपाउदै तत्कालिन दंगा प्रहरीले २०५५ साल मंसिर १० गते दह–१ निपानेवाट दैलेख कालिका गाविस वडानं–९ स्यालामा जन्ती जान थालेका दुलाह सहितको बिबाहका १५ जना जन्तीहरुमा मानव सिकारी चार लगायो ।

बिवाहका दुलाह कमानसिंह घर्ती सहित १५ जना जन्तीलाई मजकोट र दशेराको बिचमा रहेको भालुकुईयाँलेकमा लिएर दंगा प्रहरीले १५ जनालाई लाईन लगाएर गोलीको सिकार बनायो । गोलीको सिकार हुने १५ जनाहरुमा दह–१ निपानेका दुलाह नैनसिंह घर्ती, बुद्धिराज घर्ती, लालबहादुर घर्ती, गोरखबहादुर घर्ती, केशबहादुर घर्ती, खडकबहादुर घर्ती, सुरसिंह घर्ती, सेतुसिंह घर्ती, पृर्थीबहादुर घर्ती, गंगबहादुर रोका, जयबहादुर घर्ती, जमाने रोका, प्रशाद रोका, रणबहादुर घर्ती र कोर्ताङका कृष्णबहादुर शाही रहेका थिए ।

त्यस क्षेत्रमा दंगा प्रहरीद्धारा गरिएका नरसंहारकारी दुई वटा सामुहिक हत्याका पिडित भिन्न दुई गाउँका नागरिक हुन् । दह गाविस–१ निपाने र २ जुर्कलाई छोटकरीमा माओवादीले जुनी नामाकरण गर्नुको साथै दुईगाउँका २२ घरपरिवारवाट स्थापना भएको जुनी कम्युन २०६७ साल सम्म आई पुग्दा जुनी कम्युनमा समावेश हुनेको घरधुरी संख्या १ सय २५ पुगेको थियो । त्यहि संख्या नै हाल जुनी बहुँउदेश्य सहकारीमा समावेश भएको छ ।

तत्कालिन माओवादी आधार इलाकामा सञ्चालन गरेको जनसत्ताको उच्चतम तथा बिकसित रुपमा जुनी कम्युनलाई लिईएको थियो । जहाँ सम्यवादको पुर्व अभ्यास गरिएको थियो । निजी स्वामित्वको अन्त्य गरिएको थियो । जुनी कम्युनलाई जनयुद्धकै प्रतिकका रुपमा लिएर तत्कालिन माओवादीले जिल्लामा जुनी जनसास्कृतिक पविार गठन गरेको थियो । त्यसैगरि जुनी सन्देश साप्ताहीक पत्रिका, जुनी नमुना बिद्यालय, जुनी कागज उद्योग, जुनी सहकारी पसल, जुनी बित्तिय कोष, जुनी गुन्द्री उद्योग, जुनी खुर्मा उद्योग, जुनी मेडिकल सञ्चालन गरेको थियो ।

त्यसैगरि जुनी कम्युनमा सामाजिक सँस्कारका रुपमा कलिलै उमेरमा विधुवा भएका एकल महिलालाई दोस्रो विवाह गर्न प्रोत्सान गर्नुका साथै बहुविवाह, बालबिवाह, अनमेल बिवाहको अन्त्य गरिएको थियो । सामाजिक कुप्रथाका रुपमा रहेको जातिय विभेदको रुपमा रहेका छुवाछुत प्रथा, दाईजो प्रथा रुढीवादी अन्धबिस्वासमा रहेको छाउपडी प्रथा, बोक्सी प्रथालाई अन्त्य गरिएको थियो ।

ब्यबस्था परिवर्तनका लागि जुर्क र निपानेवाट भएको बलीदानीनको पिडालाई त्यहाँका नागरिकहरुले जुनी कम्युनको अभ्यासवाट माक्र्पवादको साम्यवादी सिद्धान्त प्रति प्रतिवद्ध हुदै गएको आभाष बाहिरवाट जुनी पुग्ने मान्छेलाई हुने गर्दथ्यो । यसकारण पनि युद्धताका माओवादीका केन्द्रिय, क्षेत्रिय र जिल्ला स्तरका बैठक, प्रशिक्षण, भेला तथा सम्मेलनहरु जुनी कम्युनमै केन्द्रित गरिने गरिएको माओवादी नेताहरुको भनाई रहेको छ ।

युद्धताका सुगम जस्तो देखिन जुनी कम्युन हाल आएर फेरी निकै दुर्गम भएको छ । जिल्ला सदरमुकाम खलंगा देखि जुनी कम्युनमा पुग्नलाई तीन दिनको पैदल यात्रा गर्नु पर्दछ । दैलेख, कालिकोट र जुम्लाको सिमानासंग जोडिएको जुनीको हाट्बजार दैलेखको नौमुलेबजार हो ।

नौमुलेवाट घोडा, खच्चर्डमा सामान ढुवानी गर्न दिन भरिको यात्रा गर्नु पर्दछ । गाउँमा पुरै मगर भाषा बोल्ने समुदायको खानपिन र भेषभुषा पनि मगर समुदायकै प्रचलनमा रहेको छ । जुनी नामले सम्बोधन भएका जुर्कको ५ कक्षा सम्मको पढाई हुने अमर प्रावि र निपानेको ८ कक्षा सम्मको पढाई हुने पुतली निमाविमा शिक्षक दरबन्दी र भवन अभावमा पठनपाठनमा झारा टार्ने काममा सिमित भएको छ ।

जुनीका नागरिकहरुले गाडी भेटाउन दुई दिन पैदल हिड्न बाध्य हुनु पर्छ । जाजरकोटको छेडा चाँदे हुदै जुम्ला जोड्ने मोटरबाटो निर्माण भयो भने, जुर्क निपानेलाई छोएर जाने भएको हुदा उनीहरुका दुःखका दिन अन्त्य हुने सुन्दर सपाना सजाई रहेका छन । तर, उक्त बाटो निर्माण थालिएको १० बर्ष वितिसकेको छ, हालसम्म १५ किलोमिटर मात्र ट्याक खुलेको छ । जुनी पुग्न अझै ४० किलोमिटर भन्दा बढीबाटो खन्न बाँकी नै छ । बजेट विनियोजनमा छेडा चाँदे हुदै जुम्ला जोड्ने मोटरबाटोले प्राथमिकता नपाउदा मोटरबाटोको निर्माण कार्यले गति लिन सकिरहेको छैन । जुनीमा हालसम्म टेलिफोन टावर नहुँदा फोनले पनि काम गर्दैन ।

खाद्येवाली कम उत्पादन हुने जुनीका बासिन्दाले खाद्य डिपो, गाँउ जोड्ने मोटरबाटो, टेलिफोन टावर र सामुदायिक स्वास्थ्य चौकीको माग गरेको पनि धेरै समय भईसकेको तर, आफुहरुका मागहरु प्रति कसैले नसुनेको स्थानिय जयबहादुर घर्ती हिमाल ले जानकारी दिए । बिगत द्धन्दको वेला भयानक सामुहिक हत्याकाण्डद्धारा नरसंहार मच्चाउने राज्यले नै जुनीको समग्र बिकासमा छिटो ध्यान दिनु पर्ने हिमालले माग राखेका छन् ।

दहँ, कोर्ताङ र गर्खाकोटकै सबै भन्दा खुल्ला भु–भाग रहेको जुनीमै चाँदे, बिषबारी, चौरा, थलीजुर्क र बाखबाल जस्ता खुल्ला पाटनहरु रहेकाले भेडा, बाख्रा पालन ब्यबसायको लागि र बहुमुल्य ९पदमचाल्ना, चिराईतो, पाँचऔले, सतुवा जस्ता महत्वपुर्ण जडिवुटीहरु पाईने ठाउँ रहेको हिमालले जानकारी दिए । जिल्लाकै सबैभन्दा बढी मात्रामा बहुँमुल्य पत्थर टुर्मालिन पाईन स्थान पनि जुनीमै रहेको हिमालको दावी रहेको छ ।

दाँते ओखर, स्याउ, जापानीज कटुज, अलैची आदी जुनीमा निकै राम्रो सम्भावना रहेका फलफुलहरु हुन । त्यसैगरि जौं, फापर, कोदो, सिमी र आलु नै जुनीको मुख्य खेतीबाली हुन ।

सामुहिक हत्याकाण्डमा २२ जनाले ज्यान गुमाएको जुनी कम्युनवाट अन्य आक्रमण र भिडन्तहरुमा गरि जम्मा २८ जनाको ज्यान गएको छ भने, माओवादीका तर्फवाट तीन जनाको सफाय भएको छ ।

विगत जनयुद्धकालमा माओवादीले स्थापना गरेको रोल्पा थवाङको अजमरी जनकम्युन र रुकुम प्वाँङको बलीदान जनकम्युन भन्दा जाजरकोटको दहमा रहेको जुनी कम्युन पहिलो कम्युन हो ।