२०७७ माघ ३, शनिबार

विद्यालयमा काँग्रेसको राजनीति ६ महिनादेखि स्थायी दरबन्दी रिक्त

सुर्खेत, माघ १४ ।शिव उच्च माध्यामिक विद्यालय वीरेन्द्रनगर धुलियाविटका प्राध्यानाध्यापक बालाराम अधिकारीले स्रोत व्यक्तिमा नाम निकाले । गत साउनमा नाम निकालेका उनी अहिले कल्याण स्रोत केन्द्रका स्रोत व्यक्ति छन ।

माविका स्थायी अधिकारी स्रोत व्यक्ति भएपछि शिव माध्यामिक विद्यालयमा निमित्त प्राध्यानाध्यापकको जिम्मा विष्णु तिवारीले पाए । असोज महिनासम्म विद्यालय रिक्त रहेको मावि तहको स्थायी दरबन्दीको बारेमा खासै वास्था भएन । असोज महिनामा भने नयाँ शिक्षा ऐन अनुसार सर्वसम्मत रुपमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन भयो ।

गणेश नेपालीको अध्यक्षतामा गठन भएको विद्यालय व्यवस्थापन समितिले करिब एक महिना पछि रिक्त दरबन्दी पुरा गर्ने प्रयत्न सुरु ग¥यो तर यो रिक्त पद ६ महिनासम्म पनि पुरा हुन सकेको छैन । असोज पछि दशैतिहार विदा भएकोले विदा सकिएपछि प्रक्रिया सुरु गरिएको थियो । विद्यालयमा राजनीतिकरण भएकोले यो खाली दरबन्दीको पूर्ति हुन नसकेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षले विद्यालयमा रिक्त रहेको स्थायी दरबन्दी पूर्ति गर्नका लागि स्थायी शिक्षक नै ल्याउनुपर्ने प्रस्ताव गरे ।

तर त्यसका बिरुद्ध केही सदस्यहरु लागे । अध्यक्षलाई नै अल्प मतमा पारेर विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले विद्यालयमा स्थायी दरबन्दीको सट्टामा करार शिक्षक राख्नुपर्ने अडान राखेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्षको प्रस्ताव विरुद्ध गुट बनाएर नेपाली काँग्रेसको निर्देशनमा केही सदस्यहरुले विद्यालयमा स्थायी शिक्षक ल्याउन नदिएको स्रोतले जनाएको छ । स्रोत व्यक्ति भएका बालाराम अधिकारी अंग्रेजी शिक्षक भएकोले उनकै दरबन्दीमा अंग्रेजी विषयकै स्थायी शिक्षक राख्न खोज्दा काँग्रेस निकट सदस्यहरुले केही महिला सदस्यहरुलाई समेत मानसिक रुपमा प्रभावित पारी करार शिक्षक नियुक्त गर्न भन्दै हस्ताक्षर गराएको स्रोतको भनाई छ ।

स्थायी शिक्षकहरु त्यहाँ आउनलाई समेत तयार भइसकेको अवस्थामा ती सदस्यहरुका कारण निर्णय हुन सकेको छैन् । विद्यालय व्यवस्थापन समितिमै राजनीतिकरण भएपछि ६ महिनासम्म पनि स्थायी दरबन्दीको पूर्ति भएको छैन । यो विद्यालयमा मावि तहमा एक जना मात्रै स्थायी भएकोले स्थायी शिक्षक राख्दा अब आउने शिक्षक नै प्राध्यानाध्यापक हुने भएकोले पनि स्थायी राख्न नमानेको स्रोतले जनायो । अहिलेका निमित्त प्राध्यानाध्यापकले समेत विद्यालयमा करार शिक्षक राख्ने पक्षमा लागेका छन् । नयाँ स्थायी शिक्षक आए निमित्त प्रअ तिवारी प्रअ हुन नपाउने भएपछि उनी पनि अध्यक्षको विरुद्धमा लागेको बुझिएको छ ।

यस्तै स्रोत व्यक्तिमा नाम निकालेका पूर्व प्राध्यानाध्यापक अधिकारीले समेत पहिले आफ्नो दरबन्दी सार्न राजी भएको र अहिले राजनीतिक प्रभावकै कारण दरबन्दी सार्न राजी नभएको स्रोतको भनाई छ । अन्तको स्थायी दरबन्दी भएको शिक्षक शिव माध्यामिक विद्यालयमा ल्याउदा त्यहाँको दरबन्दी सार्नुपर्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

यता जिल्ला शिक्षा कार्यालयले विद्यालयमा स्थायी दरवन्दी रिक्त भएकोले स्थायी शिक्षक राख्दा राम्रो हुने बताएको छ । यसका लागि विद्यालय व्यवस्थापन समितिको निर्णय भए पुग्ने भन्दै जिल्ला शिक्षा कार्यालय सुर्खेतका सूचना अधिकारी भोजप्रसाद लम्सालले एउटा मात्रै मावि स्थायी दरवन्दी भएको विद्यालयमा स्थायी शिक्षक नै राख्दा राम्रो हुने बताए । साथै सट्टामा करार शिक्षक राख्दा पुनः विज्ञापन गर्नुपर्ने झन्झट पनि हुने र विद्यालयमा धेरै टिक्न नसक्ने हुने बताए ।

‘‘विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर स्थायी शिक्षक राख्दा राम्रो हुन्छ, सहज पनि हुन्छ,’ उनले भने–‘यो विद्यालय माविमा एउटै स्थायी दरबन्दी भएको विद्यालय हो, त्यहाँ सट्टामा करार शिक्षक राख्दा प्लस टु चलेको स्कुलमा एउटा पनि मावि स्थायी हुँदैन, करार राख्न विज्ञापन गरेर प्रक्रियामा जानु पर्छ, झन्झट छ ।’’

यस विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश नेपालीले आफूले विद्यालयको बृहत्तर विकासका लागि प्रयास गर्दा गर्दै पनि विद्यालय व्यवस्थापन समितिकै केही सदस्यहरुले साथ नदिएको बताए । पहिले आफैलाई समर्थन गरेका सदस्यहरुले नै अहिले बिरुद्धमा काम गरेकोले रिक्त रहेको मावि स्थायी दरबन्दी पूर्ति गर्न असफल भएको बताए ।