२०७७ मंसिर १०, बुधबार

भारत जान कर्णालीका युवाहरुको लर्काे

kalikot (1)सुर्खेत माघ १७ । गरिबिको रेखामुनी रहेको कर्णाली अञ्चलका युवाहरु दिनप्रति लर्काे लागेर भारत जान थालेका छन् । हिउँदको महिनामा भारत जाने युवाहरुको संख्या बढ्दै गएको हो ।

कर्णालीमा उत्पादन हुने अन्नबालीले ६ महिनामा पनि नपुग्ने भएकोले छाक टार्न युवाहरु नै मजदुरीका लागि भारत जान बाध्य भएका हुन् । केही युवाहरुले गाउँघरमै मजदुरी गर्ने गरेको भएपनि अधिकांश युवाहरु घर परिवारलाई भुलेर धेरैै समय भारतमै बस्न बाध्य भएका छन् ।हिउँद लागेसंगै भारत जान सुरु गरेका कर्णालीका युवाहरुको लर्काे अझै पनि रोकिएको छैन ।

गाउँमा यो समयमा केही काम नभएपछि कर्णालीका युवा तथा जेष्ठ नागरिकहरु समेत ज्यान पाल्नकै लागि भएपछि मजदुरीका लागि भारततिर जाने गरेकाछन् । युवाहरु दिनप्रतिदिन सुर्खेत हुँदै भारत जाने गरेकाछन् । गाँउमा खेतबारीमा उत्पादन भएको आम्दानी ६ महिनापनि नपुग्ने अवस्थामा विद्यालय पढन्को लागि कापी कलम किन्न सक्ने क्षमता नहुँदा अधिकंश युवाहरु विद्यालय छोडेर भारत ज्याला मजदुरीका लागि भारत जाने गरेका छन् ।

उनीहरु मध्ये अधिकांश भारतमा गएर मजदुरी गरीकमाएर घर फर्किन्छन । कतिको त विभिन्न कारण उतै मृत्यु समेत हुने गरेको छ । कोही नफर्किएर भारतमै जीवन विताउने समेत गरेकाछन् । परिवार पाल्ने खर्च नभएपछि कमाई गरेर घर फर्कने आशामा भारत पुगेका युवाहरुले विभिन्न हण्डर र ठक्कर समेत खाने गरेका छन् ।

घरमा हिउँदको समयमा केही पनि काम नभएपछि बालबच्चा सहित भारतमा काम गर्ने जान बाध्य भएको कालिकोट जुबिथाका ५० वर्षका तिते परियारले बताए । तिते परियारका घरमा ५ जना परिवार छन । त्यही परिवारको रोजीरोटीका कारण दैनिक भारत मजदुरी गरी परिवार पाल्ने गरेको बताउछन ।

तितेका २ वटा श्रीमती र २ वटा छोरी पाल्न सारै गा्रहो भएपछि बिगत १९ वर्षदेखि भारतमा ज्याला मजदुरी गरी परिवार खर्च चलाउदै आएको दुखेसो पोखे । घरमा भएका श्रीमती र छोरीहरुलाई पाल्न धौधौ भएपछि बाँच्ने विकल्पको रुपमा भारत मजदुरी गर्ने बाटो रोज्दै आएको उनले बताए । ‘‘घरमा के खाऊ के लाउ हुन्छ,’ उनले भने–‘भारतमा जान्छु कहिले कमाई हुन्छ कहिले कमाई हुदैन, यसरी नै परिवार पालेको छु ।’’ उनले बुढेसकालमा पनि बाध्यता भएर भारत जानुपरेको गुनाशो गरे ।

गाउँमा कपडा सिलाएर जीवन चलाएर गुजरा गर्ने गरेका उनी विस्तारै कपडा सिलाउने काम पनि घट्दै गएपनि भारत जान थालेका हुन् । उनले आफ्नो जग्गा समेत नभएकोले परिवार पाल्न १९ वर्षदेखि भारतमा मजदुरी गरेर परिवार पालेको बताए ।

भर्ता २ कालिकोट २ का १९ वर्षे राजेन्द्र शाही पढ्ने उमेरमा भारत जान बाध्य छन् । घरमा बिहान बेलुका खाने खर्च नभए पछि कक्षा ५ मा अध्ययन गर्दागर्दै विद्यालय जान छोडेका उनले बुवा पनि भारतै नोकरी गरेर बस्न थालेपछि घरमा आमा र आफ्नो जीवन धान्नका लागि सानै उमेरमा भारत जान बाध्य भएका हुन् । ‘‘गरिबीका कारण ६ महिना भारतमा काम नगरी जीवन धान्न सकिन्न,’ उनले भने–‘भारत गएर कमाएरै हाम्रो दैनिकी चलाउने हो ।’’

यस्तै मजदुरीका लागि भारत जान हिँडेका अर्का युवा केशब परियार आफू पनि कक्षा १० मा अध्ययन गर्दै गर्दा छोडेको गुनासो बताए । ६ जनाको परिवार भएका उनी घर व्यवहार चलाउन भारत जान जागेको बताए । उनले आफूहरुको भारत जाने बाध्यता पेसा जस्तै भइसकेको बताए ।

भर्ता २ का १९ वर्षका टंक परियारको घरमा १२ जनाको ठुलो परिवार छ । ६ महिना पनि खर्च नपुग्ने भइपछि १७ वर्षका भाई सन्तोष परियारलाई आफू सँगै लिएर भारत जान लाग्दा उनी पनि सुर्खेत बसपार्कमा भेटिए । ‘‘के गर्नु ठुलो परिवार छ, गाउँघरमा केही काम पाइदैन,’ उनले भने–‘सानै उमेरमा भारतमा जाने भारी बोक्ने काम गरिरहेको छु ।’’