२०७७ मंसिर ९, मंगलवार

सरस्वती पूजा, अभिभावक र बालबालिका

jeet-bdr-shaha-358x300-1बसन्त पञ्चमी अर्थात सरस्वती पूजाको दिन । एकाविहानै देखि बालबालिकाहरु हातमा फूल, अक्षता र अगरबत्ती लिएर सरस्वतीको मन्दिरतिर लर्को लागि रहेका देखिन्छन् । उनिहरुले मन्दिरमा सरस्वती मातालाई पूजा अर्चना गर्दै सरस्वतीमातासँग धेरै कुरा माग्छन् । विद्या माग्छन्, शिक्षा माग्छन्, राम्रो विद्यालय माग्छन्, राम्रो शिक्षक माग्छन्, अन्ततः समुन्नत जीवन माग्छन् ।

सरस्वती पूजाको दिन उनीहरु आफ्ना अभिभावक र गुरुहरुसँग पनि आशिर्बाद माग्छन् –राम्रो हुने, असल हुने, जेहेन्दार हुने, प्रतिभावान हुने आदि आदि । गुरु र अभिभावकहरु पनि तथास्तु अर्थात पूरा हओस भनेर बरदान दिन्छन् । यसरी नै हरेक वर्ष बसन्त पञ्चमीको दिन हाम्रा देशैभरका बालबालिकाहरु आफ्ना आस्थाका धरोहर – सरस्वती माता, गुरु र अभिभावकसँग आशिर्बाद मागिरहेका हुन्छन् । सरस्वती माता त बोल्दिनन् । नबोले पछि आफ्ना भक्तजन ती बालबालिकाहरुलाई के भन्छिन् थाहा हुदैन । गुरु र अभिभावकहरुले भने मुखै खोलेर ‘तिमी असल हुनु, तिम्रो इच्छा पूरा हओस, भाग्यमानी हुनु’ आदि आदि भनेर आशिर्बाद दिन्छन् । तथापि हाम्रा बालबालिकाहरु भने चाहे जस्ता र भने जस्ता हुन सकिरहेका छैनन् ।

हामी मानिसहरु पनि हाम्रा आस्थाका धरोहर देवीदेवताहरुसँग थरिथरिका चिज माग्दा रहेछौं । चाहिने कुरा पनि माग्दा रहेछौं नचाहिने कुरा पनि माग्दा रहेछौं । हामी मध्ये धेरैले त कविशिरोमणी लेखनाथले भने झै ‘मंै खाउँ मै लाउँ सुखसयल वा मोज म गरूँ, मंै बाँचू मंै नाँचू अरु सव मरुन दुर्वलहरु’ भन्ने नियतका साथ आशिर्वाद माग्दा रहेछौं । त्यसैले पनि देवीदेवताहरुलाई भक्तजनका मागहरु पूरा गर्न हम्मेहम्मे पर्दोरहेछ ।

कानूनसम्मत र न्यायसङ्गत मागहरु नहुने भएकोले हाम्रो समाजमा जस्तै देवीदेवताको समाजमा पनि सधैं सङक्रमण काल नै हुन्छ होला सायद । गतिला र समाज सुधारका लागि आशिर्वाद माग्ने भक्तजनहरु भन्दा अगतिला र व्यक्तिगत स्वार्थसिद्धिका लागि आशिर्बाद माग्नेहरु धेरै हुने भएपछि देवीदेवताहरुलाई पनि निर्णय गर्न गाहे पर्छ होला । उनिहरु पनि हामी सङक्रमण कालका मानिसहरु झै लामो समयसम्म अनिर्णयको बन्दी हुनुपर्छ होला सायद । सायद त्यही भएर पनि होला हाम्रा बालबालिकाहरुले सरस्वती मातासँग गरेका अनुरोधहरु पनि पूरा हुन हम्मेहम्मे परेको ।

सरस्वती पूजाकै दिन सरस्वतीमातासँग राख्ने मागहरु पनि ब्यक्तिपिच्छे फरक फरक थिए होलान् । कुनै अल्छी शिक्षकले ‘मैले विद्यार्थीहरुलाई नपढाए पनि र विद्यालय नगए पनि मेरो मानसम्मान पनि बढिरहोस र तलव पनि आइरहोस्’ भनेर अनुरोध गरे होलान् । विद्यालयको नेतृत्व राम्रोसँग गर्न नसकेका कुनै विद्यालयको प्र.अ.ले पनि ‘विद्यालय जेजस्तो भएपनि म सधैं सधै प्र.अ. भइरहन पाउँ’ भनेर सरस्वती मातासँग अनुरोध गरे होलान् ।

बाहिर लोकतन्त्र भने पनि भित्र निरङकुशता चाहने राजनीतिक दलका नेता र कार्यकर्ताले ‘यो विद्यालयमा मेरो दलको भन्दा अरु कसैको पनि बीउसम्म पनि नभेटियोस्’ भनेर अनुरोध गरे होलान् । विद्यालयमा योगदान भन्दा पनि बदनाम कमाएका कुनै विद्यालयको विव्यसको अध्यक्ष एवम् पदाधिकारीले ‘म फेरि पनि विद्यालयको अध्यक्ष भएर विद्यालयमा हालीमुहाली गरिरहन पाउँ’ भनेर अनुरोध गरे होलान् । विचरा कोमल मनकी सरस्वती मातालाई भक्तजनका यस प्रकारका थरिथरि मागहरुले अप्ठ्यारोमा पारिरहेको छ होला । मानिसहरुले विद्यालयमा गर्ने क्रियाकलापहरुको आँकलन गर्र्दा आफ्ना भक्तजनहरुले सरस्वती मातालाई गाहे बनाइरहेको कुराको सहज रुपमा अनुमान गर्न सकिन्छ ।

सुर्खेतको माध्यमिक विद्यालय बजेडीचौर अहिले युद्ध हारेर आफन्त लगायत सवथोक गुमाएको एउटा घाइते सिपाही जस्तै देखिन्छ । विद्यालयको भलो चाहने धेरै मानिसहरुले त्यो विद्यालयको विद्यालय व्यवस्थापन समितिको गठन गर्दा सबै अभिभावक र सवै राजनीतिक आस्था राख्ने मानिसहरुको प्रतिनिधित्व गरौं भनेर धेरै प्रयत्न गरे । महिनौंसम्म खटे । अन्ततः उनिहरु सफल भएनन् । त्यहाँ चुनाव हुने भयो । राजनीतिक आस्थाका हिसावले प्यानल खडा गरियो । त्यही अनुसार नै आआफ्ना उम्मेदवारहरुको व्यापक प्रचारप्रसार सुरु भयो । प्रचारप्रसारमा अरु त लागे लागे, शिक्षकहरु पनि रातदिन खटेर लागे ।

राष्ट्रिय र स्थानीय चुनावहरुमा जस्तै रातविरात घरघरमा गएर मतदाताको सूचीमा भएका अभिभावकहरुलाई दाम दिने काम पनि भयो भन्छन् भुक्तभोगीहरु । अन्तमा मतदान हुने दिन बाकसहरु थापियो । मतदान गर्ने अभिभावकहरु अढाइसय जति भए पनि दर्शकको संख्या भने हजारभन्दा बढि थियो । अभिभावकहरुले आफ्ना मतहरु बाकसमा खसाले । मतदान सकिएपछि मत गणना सुरु भयो । मतगणनाको नतीजा सार्वजनिक भयो । एउटा पक्षले जित्यो भने अरुले हारे । अहिले त्यहाँका अभिभावकहरुको मनमा एउटा महसुस भइरहेको छ – ‘चुनावमा कसैले हा¥यौं होला त कसैले जित्यौ होला तथापि विद्यालयको निम्ति भने हामी सवैले हा¥यौं ।’

अहिले बजेडीचौरका मानिसहरुको मन विभाजित छ । जसरी भिन्न भिन्न बाकसमा मतहरु बाँडिए त्यसरी नै दैनिक व्यवहारमा समेत मान्छेहरु बाडिएका छन् । बाँडिएका भन्दा पनि भाँडिएका छन् झै लाग्छ । एउटा चिया पसलमा एकाविहानै बसेर चियाको चुस्कीसँगै आपसमा भलाकुसारी गर्दै शुभदिनको सुरुआत गर्ने बजेडीचौरबासीहरु अहिले त्यसरी बसेर भलाकुसारी गर्न सकिरहेका छैनन् । उनिहरुका भलाकुसारी गर्ने विसौनी र चौतारीहरु फरक फरक भएका छन् । कारोबार गर्ने पसलहरु पनि आआफ्ना भएका छन् । सवै भन्दा ठूलो कुरा त जुन जुन उम्मेदवारहरुले पराजय भोग्नु प¥यो तिनका बालबालिकाहरु विद्यालयमा त आउछन् तथापि उनिहरु पनि पराजित मनस्थितिमा आउछन् । शिक्षकहरु पनि विजय र पराजयको मनस्थितिमै विद्यालयमा आउछन् ।

यो सवै दृश्य टुलुटुलु हेरिरहेका माध्यमिक विद्यालय बजेडीचौरका शिक्षक रुद्र केसी भन्छन् – ‘अरुले के भन्छन् थाहा छैन तथापि मलाई भने यसपालीको विद्यालय व्यवस्थापन समितिको चुनावमा समग्रमा हाम्रो विद्यालय, हाम्रा शिक्षक र हाम्रा बालबालिकाहरुले नराम्ररी पराजयको पीडा ब्यहोर्दै बाँचिरहेका छौं ।’ उनका कुरा सुनेपछि मलाइ पनि अरुले जे जस्तो भोग्नु परे पनि बालबालिकाले पराजयको पीडा भोग्नु नपरे हुन्थ्यो भन्ने महसुस भइरहेको छ ।

हाम्रा कारणले बालबालिकाले हार्नु परेका पीडाहरु खोज्दै गर्दा बग्रेल्ती भेटिन्छन् । एकदिनको कुरा हो, विद्यालय समयमा मध्यपान गर्ने शिक्षकहरुलाई जिल्ला शिक्षा कार्यालयमा बोलाएर सुध्रिनका लागि परामर्श दिने, अन्यथा मध्यपानको नसा र शिक्षण पेशामध्ये एउटालाई त्याग्नु पर्ने गरी कबुलियतनामा गराउने अभियान अघि बढाएरहेको सिलसिलामा यो पङितकारको कार्यकक्षमा एकजना जना मध्यपानको बानी भएको शिक्षक विद्यालयको चिट्ठी सहित हाजीर भएका थिए । ती शिक्षकको साथमा प्लस टूमा अध्ययनरत उनकी छोरी पनि आएकी थिइन् । हामीले उक्त शिक्षकलाई सबै कुरा सोध्यौं । उनले कहिलेकाही नसा सेवन गरेर विद्यालय जाने कुरा पनि स्वीकार गरे । हामीले नसा र शिक्षण् पेशा सँगै जान सक्दैन भनेर उनलाई राजीनामा दिन भन्यौं ।

उनले ‘अवदेखि यसरी विद्यालय समयमा कहिल्यै पनि मध्यपान नगर्ने कागज गर्छु’ भने । सँगै बसिरहेकी उनकी छोरीलाई हेरेँ । उनको अनुहार पीडा, लज्जा र आत्मल्गानीले रातो भइरहेको थियो, आँखा रसिला भइरहेका देखिन्थे । मैले उनलाई सोधे – ‘बाबालाई के गर्ने हो त नानू ?’ उनले बोल्न असहज हुँदाहुदै पनि भक्कानिएर बोलिन – ‘यसरी पिउने काम नगरिदिए हुन्थ्यो बाबाले ।’

मैले माथि उल्लेख गरेको घटनामा पनि केही गरौं भन्ने उमेर र सपना भएकी एउटी किशोरीले आफ्नो जीवनमा पराजय महसुस गरिरहेको दृश्य देख्नु पर्दा दुःख लाग्यो । हरेक सन्ततिको झै उनको पनि सपना छ – ‘मेरो बाबा असल हओस्, प्रतिष्ठित र सम्मानित जीवन बाँचिरहेको हओस् । बाबाले आर्जन गरेको मानसम्मान, प्रतिष्ठा र सम्पतिले आफ्नो जीवन समेत सम्मानित र प्रतिष्ठित बनाउन टेवा पुगोस् ।’ तथापि त्यो नभेटे पछि उनलाई आत्मग्लानी भयो त्यस्तो बाबाकी छोरी हुनु परेकोमा ।

पीडा र लज्जाबोध भयो आफ्नो सम्मान र प्रतिष्ठामा समेत बाबाको कारणले आँच आएकोमा । उक्त शिक्षकलाई एक हप्ता कार्यालयमा हाजीर बनाएर अन्ततः अवदेखि मध्यपान नगर्ने र गरेपछि यही कबुलियतनामालाई राजीनामा मानी स्वीकृत गरेमा मञ्जुर हुने भनेर कागज त गरायौं तथापि उनकी छोरी ती किशोरीले बिजय र आत्सम्मानको महसुस गर्न सक्छिन् कि सक्दिनन् त्यो भने यकिन गर्न सकिएन । ती किशोरीको आत्मग्लानीले भरिएको मन आत्मविश्वासले भरिन्छ कि भरिदैन त्यो पनि यसै भन्न सकिएन । आशा गरौं, सरस्वती माताको आशिबार्दले अनाहकमा एउटी किशोरीले जीवनमा पराजय महसुस गर्नुपर्ने छैन ।

हामीले गर्ने गलत क्रियाकलापका कारणले हाम्रा बालबालिकाहरुले पीडा र पराजय महसुस गर्नु परेका दृष्टान्तहरु खोज्दै गर्दा धेरै भेटिने गर्दछन् । कतै अभिभावकले समयमा विद्यालयमा बुझाउनु पर्ने शुल्क नबुझाइदिएको कारण बालबालिकाले अपमानित हुनु परेका घटनाहरु पनि भेटिन्छन् । कतै अभिभावकहरुको कलह र कचिङ्गलका कारण बालबालिकाहरु चेपुवामा परेका घटनाहरु पनि भेटिन्छन् ।

कतै अभिभावकमाथिको रिसका कारण बालबालिकाहरुलाई बन्धक बनाएका घटनाहरु पनि भेटिन्छन् । समग्रमा हाम्रा यी हरकतहरु शोभनीय होइनन् । हामीले केही गर्न नसके पनि हाम्रा बालबालिकाहरुलाई केही गर्न सक्ने गरी अघि बढाउनुको अर्को विकल्प देखिदैन । हाम्रो र हाम्रो देशको भविष्यलाई हरेक हिसावले सुन्दर र समुन्नत बनाउनका लागि उनीहरुको भविष्यलाई सुन्दर र समुन्नत बनाउनुको पनि अर्को विकल्प देखिदैन । त्यसैले बालबालिकाले पीडा र पराजय बोध गर्ने गरी कसैले पनि केही काम नगरौं र त्यो किसिमबाट मठमन्दिर पनि धाउने नगरौं । किनभने आजको बालबालिकाहरुको अनुहार र अवस्था हेरेर भोलिको देशको अनुहार र अवस्था आँकलन गर्न सकिन्छ । सवैलाई चेतना भया ।

jbshah072@gmail.com