२०७७ माघ ८, बिहीबार

सुन्दरबाट भवनबाट सेवा पनि सुन्दर दिनुहोस् : आइजिपि अर्याल

सुर्खेतमा प्रहरी सेवा अब नयाँ भबनबाट
सुर्खेत, माघ २६ ।
nnnजिल्ला प्रहरी कार्यालय सुर्खेतको नयाँ भवनको मंगलबार उद्घाटन भएको छ । एक विषेश कार्यक्रमकाबीच नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) उपेन्द्रकान्त अर्यालले नयाँ भवनको उद्घाटन गरेसंगै अब नयाँ भवनबाट सुर्खेत प्रहरीले सेवा दिने भएको हो ।

यो नयाँ भवन कुल ३ करोड ७४ लाख ९१ हजार ७२९ रुपैयाँमा निर्माण सम्पन्न भएको हो । २०७१ साल मंसिर २६ गतेबाट निर्माण शुरु गरिएको भवन निर्माणको जिम्मा रोयल जेभी धनगढीले जिम्मा लिएको थियो । आर.सि.सी.फ्रेम स्टयक्चर अवधारणामा तीन तले कार्यालय भवन र दुई तले हिरासत ब्लकको निर्माण गरिएको प्रहरी निरीक्षक इन्जिनियर रोशन सारुले जानकारी दिए ।

भवन निर्माण प्रतिवेदन प्रस्तुत गर्दै प्रनि इन्जिनियर सारुले नवनिर्मित कार्यालय भवनको भुई तलामा कार्यालय प्रयोजनका निमित्त ७ वटा कोठाहरु रहेको जानकारी दिए । जसमा भवनको पहिलो तलामा कार्यालय प्रयोजनकै निमित्त थप ७ वटा कोठाह छन । यस्तै, तेश्रो तलामा २ वटा कोठा एट्याज शौचालय सुविधा सहितको गरी जम्मा ६ वटा कोठा रहेको सारुले जानकारी दिए । उनका अनुसार हिरासत ब्लकको भुई तलामा छुट्टै ५ वटा सुविधा सम्पन्न हिरासत कक्ष छन भने पहिलो तलामा बन्दो बस्तिका सामान सस्टोरका लागि ४ वटा कोठाहरु निर्माण गरिएको छ ।

भवनका सवै कोठाहरूमा प्रयाप्त प्रकाश र हावाका लागि उपयुक्त नापका आल्मुनियमका झ्यालहरुको व्यवस्था गरिएको छ । भवन निर्माणको क्रममा प्राबिधिक रेखदेखका निमित्त मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयबाट नै प्राबिधिक प्रहरी अधिकृतहरुले अनुगमन गरेका थिए ।

16522752_1231722246941050_742137951_nयसैबीच नवनिर्मित भवनको उद्घाटन पछि बोल्दै प्रहरी महानिरीक्षक (आइजिपी) उपेन्द्रकान्त अर्यालले नयाँ र सुन्दर व्यवस्थित भवनबाट आम नागरिकलाई सुन्दर सेवा दिन निर्देशन दिए । कार्यालयको भवनमा परिवर्तन भएर सेवाबाट नागरिकहरु सन्तुष्ट हुन नसके सुन्दर भवनमा लगानी भएको रकमको अर्थ नहुने भन्दै उनले सेवालाई पनि प्रभावकारी बनाएर नागरिकहरुलाई शान्ति, सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने बताए । ‘‘अब भवन जस्तै नविन सेवा दिनुपर्छ,’ उनले भने–‘पुरानै शैलीको सेवा भयो भने यो लगानीको अर्थ रहदैन, तसर्थ नागरिकको अपेक्षा अनुसारको सेवा दिनुहोस् ।’’

कार्यालयलाई भौतिक संरचनायुक्त बनाउनुको अर्थ कार्यसम्पादनलाई सहज र कार्यसम्पादनको स्तरलाई पनि परिवर्तन गर्नु भएको भन्दै उनले कार्यसम्पादनको स्तर बढाउन निर्देशन दिए । स्वभाविक रुपमा जनताको अपेक्षा प्रहरीसंग बढी नै हुने गरेकोले जनताको अपेक्षा र प्रहरीको सेवाबीचको खाडल मेटिने गरी कार्यसम्पादनमा लाग्न आइजिपी अर्यालले जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएकाछन् ।

साथै कार्यक्रममा अर्काे प्रशंगमा आइजिपी अर्यालले समय अनुसार परिवर्तन भएका अपराधहरु प्रहरीका चुनौतिका रुपमा रहेको बताएकाछन् । २० वर्ष अगाडि हुने अपराध घट्दै गएको तर अहिले फरक किसिमका अपराधहरु बढ्न थालेको भन्दै उनले यसले प्रहरीलाई चुनौति थपिएको बताए ।

अहिले विज्ञान, प्रविधिसंग सम्बन्धी, आर्थिकसंग सम्बन्धित सांगठनिक, अन्तरदेशीय र अन्तराष्टिय स्तरका अपराधहरु बढेको भन्दै आइजिपी अर्यालले प्रहरीसंग स्रोतसाधन नहुँदा चुनौती थपिएको बताए । ‘‘ फरक किसिमका अपराधहरु हुने गरेकाछन्, जुन प्रहरीका चुनौति हुन,’ उनले भने–‘अहिले विज्ञान, प्रविधि र आर्थिकसंग सम्बन्धित अन्दरदेशीय अपराधहरु बढेकाछन्, प्रहरीसंग त्यसलाई अनुसन्धान गर्ने प्रयाप्त स्रोत साधन छैन, यो हाम्रो चुनौती छ ।’’

यस्तै आइजिपी अर्यालले शान्ति, सुरक्षा कायम गर्ने दायित्व प्रहरीको मात्रै हो भन्ने बुझाईलाई हटाएर आम नागरिक र प्रहरीको सहकार्यमा शान्ति, सुरक्षा कायम गर्नुपर्ने बताए । समाजले पनि अपराधका लागि सम्झौता गर्न नसक्ने भएकोले समाजकै नागरिकहरु र प्रहरीको सहकार्यमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न अग्रसर हुनुपर्ने उनको भनाई छ ।
यस्तै कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक माधब नेपालले पनि नागरिक केन्द्रित, स्वच्छ सेवाका लागि प्रहरी लागि परेको बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) मोहन आचार्यले सुर्खेत प्रहरीले जनतासंगको सहकार्यमा मदिरा नियन्त्रण, सामाजिक अपराध तथा हिंसा नियन्त्रण गरेको बताएकाथिए ।

कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, विभिन्न सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलहरुका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय विकास अधिकारी अमृत लम्साल, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

तस्बीर : जिल्ला प्रहरी कार्यालय सुर्खेतको नयाँ भवन र उद्घाटन गर्दै आइजिपी अर्याल ।