२०७७ कार्तिक ११, मंगलवार

काबुल घटनामा बाँच्न सफल रोकाय भन्छन– मेरो शरिरमा साथीहरुका टाउका झरिरहे

amrit
                                                    

 सुर्खेत, साउन २१ ।
उनले सम्झिदै भने ‘‘बेहोस अवस्थामा आँखाले त देखिरहेका थिए, साथीहरुका छेद्बिचछेद टाउकाहरु मेरो शरिरमा लडिबुडि गर्दे झर्दै थिए ।’’ ‘‘साथीहरु अटल थिए, आआफ्नै सिटमा आसन थियो तर उनीहरुका टाउका थिएनन ’’ उनले निरन्तर भनिरहे । गत असार ७ गते अफगानिस्तानको काबुलमा भएको आक्रमणबाट बाँचेर सुर्खेत आइपुगका अमृत रोकायको बयान हो यो । बुधबार मात्रै सुर्खेत घरमा आइपुगेका रोकायले घटनाको सम्पूर्ण दृश्यहरु शब्दद्वारा देखाइदिए ।

ईनयाँ नेपालको  टिम उनको घरमै पुगेर जिज्ञासा राख्दा उनले उनलाई अरु कुनै पश्न राख्नु परेन । उनले घटनाको सम्पूर्ण दृश्यको निरन्तर बर्णन गरिरहे । कतिवेला कतिवेला पीडा मिश्रित आक्रोश, कतिवेला बाँच्दाको खुसी देखिन्थ्यो उनको अनुहारमा । अमृत काबुल घटनाबाट बाच्ने ६ जना नेपाली मध्येका एक हुन् । त्यतिबेला भएको आक्रमणमा अन्य १५ जना जनाको मृत्यु भएको थियो । जसमा १३ जना नेपाली र २ जना नेपाली मुलका भारतीय थिए । अमृतसंगै ६ जना नेपाली उक्त आक्रमणबाट बाँच्न सफल भए ।

अहिले काठमाडौंको बल्खु स्थित बयोदा अस्पतालमा उपचार गराइरहेका अमृतले हामीसंगको भेटमा मृत्युलाई चिन्ने अवसर पाएको बताए । मृत्यु हुन्छ भन्ने थाहा पाएपनि मृत्यु के हो र कसरी हुन्छ भन्ने प्रत्यक्ष भोगेको उनले बताए । मृत्यु भएर पनि एक पटक पुनः बाँचेको भन्दै रोकायले मृत्युलाई नजिकबाट देखेको बताए । ‘‘म मरेर बाँचेको हुँ, पत्यार लाग्दैन, मृत्यु एक सेकेण्डको कुरा छैछ,’ उनले भने–‘बाँच्नुमा खुसी छ, मैले मृत्युलाई नजिकबाट चिने ।’’

Amrit
तस्बीर ः उपचार गराइरहेको अवस्थामा सुर्खेत वीरेन्द्रनगरका अमृत रोकाय ।

गत असार ७ गते, नेपाली समय अनुसार विहानको करिब ६ बजे उनीसहित साथीहरु बसमा ड्यूटिका लागि जादै थिए । उनीहरुको भन्दा अगाडि एउटा बस गयो । त्यसमा २१ जना थियो । थप एक जना स्थानीय ड्राइभर । त्यसपछि अर्काे गाडि गयो । जसमा सुरक्षा सर्चका लागि प्रयोग गरिएका कुकुरहरु थिए । त्यसपछि मात्रै २१ जनासहितको आफूहरुको गाडि गएको रोकाएले बताए । बसले केही दुरी मात्रै पार गरेर मुख्य सडकमा मोडिदै गर्दा घटना भएको रोकायले बताए ।

घटनाको बर्णन गर्दै उनले भने –‘हामी दुई वटा गाडि अगाडि गइसकेपछि हिड्यौं, केही दुरी पास गरेपछि बस मुख्य सडकमा मोडिदै थियो, बस अलि स्लो भयो, त्यहाँ चहलपहल थिएन, त्यति नै बेला विष्फोट भयो । शरिरमा करेन्ट लागे जस्तो भयो । आँखाले सबै देखिरहेको थिए तर होस् आएन ।’’ घटना भइसकेपछि आफूले देख्दा वरिपरि र अगाडिका साथीहरुका कसैका टाउका नभएबो बताए ।

नजिकका साथीहरुका टाउकाहरु छेद्विच्छेद अवस्थामा आफ्नो शरिरमा लडिबटि गर्दै झरिरहेको देखेको भन्दै उनले एक सेकेण्डै यस्तो दर्दनाक अवस्थाको अवाक दृश्यअवलोकनकर्ता हुन बाध्य भएको बताए । एकैछिन पछि ड्राइभरलाई सुपरबाईजरले बाहिर लिएको र आफूलाई बोलाएको इसरा थाहा पाएपछि आफू बाहिर निस्किएको उनको भनाई छ । निस्कदा सबैको टाउको नभएको देख्दा आफूलाई बाँचेको छु भन्ने हुँदाहुँदै पनि आफ्नो पनि टाउको छैनहोला भन्ने महसुस भएको उनले बताए ।

‘‘यताउता कसैले टाउको थिएन, त्यसभन्दा मुनि कसैलाई केही भएको थिएन,’ उनले भने–‘आफ्नो पनि टोकै छैनकि भन्ने महसुस भयो, हात लगाउँदा रगतले लतपतिएको थियो ।’’ घटना भएको एकैछिनमा स्थानीय प्रहरीले आफूसहित केही कम चोट लागेका घाइतेहरुलाई सरकारी अस्पतालमा पु¥याएको रोकायले बताए । अस्पतालमा गइसकेपछि उनले अर्काे एउटा दृश्य देखे ।

बसको ड्राइभर नजिकैको बेडमा थियो । ऊ सकुसल जस्तै थियो तर उसले ठुलो अभिनय गरेको अमृतले देख । कहिले यता दुख्यो, कहिले अर्काेतिर दुख्यो भन्दै ऊ छट्पटाए जस्तो गरिरहेको देख्दा उनलाई शंका पनि लग्यो । तर उसलाई रातमै उसका आफन्तले गायब गराए ।
ड्राइभर घटना स्थलमा पनि नाटक गरिरहेको दृश्य आफूले देखेको अमृतले बताए । ड्राइभरको अभिनयले उसप्रति शंका गर्ने धेरै आधार भएको उनले बताए । ‘‘त्यहाँ कुनै आत्मघातीले विष्फोट गराए जस्तो पनि थिएन’ उनले भने–‘तर ड्राइभर वरिपरिका सबैको मृत्यु भएर पनि ऊ सकुसल थियो, हामीले शंका छ भनेका हौं त्यहाँ पनि ।’’

त्यहाँको उपचार पछि घाइतेहरुलाई दिल्ली ल्याइयो । त्यहाँ आइसकेपछि मात्रै खास उपचार भएको रोकायले बताए । त्यहाँ पनि राम्रोसं उपचार नै नगरि आफूहरुलाई थाहा नै नदिएर नेपाल पठाइएको उनले बताए । यहाँ काडमाठौंको बल्खुमा रहेको बयोदा अस्पतालमा उपचार भइरहेको रोकायले बताए । यहाँ उपचार भइरहे पनि आफूहरुलाई रेखदेख र खर्चका लागि बेलायतबाटै एक जना आएको उनले बताए ।

उपचार खर्च यन्स्योरेन्स कम्पनीबाटै ब्यहोरिने भएकोले ऊ नेपाल आएको उनको भनाई छ । एक करोडसम्मको उपचार खर्च उसले व्यहोर्ने छ । तर अमृतसंगै गम्भीर घाईत भएका गोर्खाका मनबहादुर थापाको उपचारका लागि ७५ लाख बढी खर्च भएको छ । उनको शरीरका सबै भागमा प्वाल भएको भन्दै रोकायले एक करोडले उपचार हुन सम्भव नभएको बताए ।

आफूलाई बाँचेकोमा खुसी लागेको भएपनि मनबहादुर भने खुसी नभएको रोकायले बताए । ‘‘मलाई त खुसी लागेको छ त्यत्रो घटनाबाट बाँचियो तर मनबहादुरलाई बाँचेकोमा खुसी लागेको छैन,’ उनले भने–‘उपचारमा ७५ लाख खर्च भयो अब २५ लाखले पुग्ने सम्भावना नै छैन, सहयोग कसैले गर्दैन उसले त उतै मरेको भए हुन्थ्यो भन्दै रुन्छ ।’’

काबुल घटनामा परेका रोकाय र अन्य नेपालीहरु बेलायतको कम्पनीबाट त्यहाँ क्यानेडियाको दुताबासको सुरक्षाका लागि खटिएका थिए । उनीहरुका लाग बाटो मात्रै खतरा थियो । अन्य क्षेत्र निकै सुरक्षित भएको रोकायले बताए । अहिले उपचारको व्यवस्था बेलायतबाटै भएको छ । आफूहरु क्यानडाका लागि आक्रमण परेको र क्यानडाकै लागि धेरैले मृत्यु बरण गर्नु परेको भन्दै रोकायले नेपाल सरकारले क्यानडा सरकारसंग समन्वय गरिदिनुपर्ने बताए । अहिले बेलायतले क्यानडाका लागि मरेको र घाइते भएको भनेर वास्था नगर्ने र क्यानडाले बेलायतको कम्पनी भएको भनेर वास्था नगर्दा समस्या भएको उनको भनाई छ ।

घटना भएको बेला नेपाल सरकारले राम्रो काम गरेपनि त्यसपछि घाइतेहरुका लागि केही नगरेको भन्दै उनल अबको सरकारले आफूहरुलाई सहयोग गर्न रोकायले आग्रहसमेत गरे ।