२०७७ माघ १४, बुधबार

सामुदायिक स्कूलका शैक्षिक प्रयत्नहरु

कक्षा ५ को कक्षाकोठामा पसेँ । विद्यार्थीहरु उभिए । अभिभावदनको आदानप्रदान भयो । त्यसपछि उभिरहेकै अवस्थामा राष्ट्रिय भावनाले ओतप्रोत भएको गीत एकै स्वरमा गाउन थाले । मैले पनि उनिहरुले गाएको गीतमा भएका शब्द र तिनका भावहरु खोतल्दै उनिहरुसँग कुराकानीको सुरुवात गरेँ ।

jitbahadur shaha‘तपाईहरुले गाएको गीतमा जस्तै तपाइहरु साँच्चीकै देश र जन्मभूमिलाई माया गर्नुहुन्छ त ? कर्मठ र परिश्रमी हुनुहुन्छ त ? शहिदहरुको सपना पूरा गर्नका लागि तयार हुनुहुन्छ त ?’ कक्षा ५ का विद्यार्थीहरु सवैले ‘हामी तयार छौं, हामी हाम्रो देश र जन्मभूमिलाई माया गर्छौैँ र हामी कर्मठ र परिश्रमी पनि छौं’ भनेर जवाफ दिए । यसरी जवाफ दिएकोमा मैले उनिहरुलाई धन्यवाद दिएँ र यसका लागि ‘तपाईहरु नियमित रुपमा विद्यालयमा आउनु पर्छ, सिक्ने कुरामा सधैं सक्रिय हुनुपर्छ र बाबाआमा र गुरुहरुले भनेको राम्रा कुराहरुलाई अल्छी नगरी पालना गर्नुपर्छ’ भनेर अनुरोध गरेँ ।

उनिहरुले ‘हुन्छ सर’ भने । अर्को कक्षामा गएको, त्यहाँ पनि त्यही क्रम दोहोरियो । सिद्धेश्वर ने.रा. आधारभूत विद्यालय सान्नेघारी, गुटु, सुर्खेतका विद्यार्थीहरुले कक्षाकोठामा आउने नयाँ आगन्तुकहरुलाई स्वागत गर्ने यो शैली मेरो निम्ति नौलो थियो र अनुकरणीय पनि ।

माध्यमिक विद्यालय गुटुको कक्षा एकमा पसेको, कक्षाको अगाडि पट्टी सफा तामाको लोटामा भरी पानी देखियो । त्यही लोटामा फूलहरु राखेर कलस जस्तै बनाएर सजाइएको थियो । मैले ‘यो लोटामा भरी पानी राखेर कलस जस्तै सजाएर किन राखेको’ भनेर सोध्दा प्र.अ. ओमबहादुर दर्लामीको जवाफ थियो – ‘बिहान कक्षा सुरु हुने बित्तिकै सवैले यो कलसलाई हातमा लिएर शान्तिको कामना गर्दछन् ।

‘हामी कसैसँग झगडा गर्ने छैनौं, सवैसँग मिलेर बस्नेछौं, सवैको भलो सोच्नेछौं, एकअर्कालाई सहयोग गर्नेछौं’ आदि कुराको बाचन गर्दै अन्तमा हरेकले आफ्नो नाम र शान्ति सँगसँगै बाचन गर्दछन् । यसबाट उनिहरुले बाचन गरे झै उनिहरुमा त्यस प्रकारका बानी र स्वभावहरुको विकास भइरहेको छ ।’ त्यस विद्यालयले कक्षा १ देखि कक्षा ५ सम्म सञ्चालन गरेको यो क्रियाकलापले बालबालिकाहरुमा मानबीय मूल्य र मान्यताहरुको विकास गर्नका लागि महत्वपूर्ण सावित भएको कुरा विद्यालय परिवारले महसुस गरेको छ र विद्यालयले यो कार्यक्रम अन्य कक्षाहरुमा समेत विस्तार गर्ने तयारीमा देखिन्छ ।

माध्यमिक विद्यालय गुटुले कतिपय शुक्रबारे क्रियाकलापहरुमा मञ्च एक, प्रतिभा अनेक कार्यक्रम पनि सञ्चालन गर्ने गर्दछ । यसबाट विद्यार्थीहरुले सक्रिय सहभागिता जनाउदै आफूसँग जे छ त्यो प्रतिभा देखाउने गर्दछन् । एउटै कार्यक्रममा साहित्यिक सिर्जना, नृत्य, अभिनय, गीत–सङ्गीत, चित्रकारिता लगायतका प्रतिभाहरुको प्रस्तुति गर्दा कार्यक्रम नै रङ्गीन प्रकारको हुने गर्दछ भन्नु हुन्छ प्र.अ. ओम दर्लामी ।

यसका अतिरिक्त माध्यमिक विद्यालय गुटुले प्रार्थना समयमै हरेक दिन विद्यार्थीहरुको जन्म दिनको शुभकामना आदानप्रदान कार्यक्रम समेत सञ्चालन गर्ने गर्दछ । जुन दिन ज–जसको जन्म दिवस परेको छ उनिहरुलाई अगाडि बोलाएर टिका लगाउदै अरु सवैले ‘ह्याप्पी बर्थ डे टु यू’ भनेर शुभकामना दिने यो प्रचलनले विद्यार्थीहरुको बिचमा सामिप्यता बढ्न गएको कुरा विद्यालयका अधिकांस शिक्षकहरुको भनाइ छ । विद्यार्थीहरुको भर्ना अभिलेखको आधारमा विद्यालय आफैले उनिहरुको जन्म दिनको पहिचान गरी यो कार्यक्रम सञ्चालन गर्ने गर्दछ ।

सुर्खेतकै माध्यमिक विद्यालय साल्कोटले प्रार्थना अवधिमै तेरहसय विद्यार्थीहरुको हाजिरी करीव २ मिनेटमै सम्पन्न गर्ने गर्दछ । यसका लागि विद्यार्थीहरु कक्षागत रुपमा लाइनमा बस्छन् । बढि भए सेक्सनगत र कम भए कक्षागत रुपमा विद्यार्थीहरु लाइनमा हुन्छन् । प्रार्थनाको समयमा लाइनमा उभिरहेका विद्यार्थीहरु हाजिर सुरु भनेपछि आआफ्नो स्थानमा बस्छन् । एकजना शिक्षकले माइकबाट रोल नम्बर भन्छन् ।

मानौं कि रोलनम्बर एक भनेपछि सवै कक्षा र सेक्सनका रोल नम्बर एक भएका विद्यार्थीहरु उभिन्छन् । त्यतिबेला हाजिरी बही समातेर उभिएका शिक्षकले हाजिरीमा अभिलेखन गर्दछन् । रोलनम्बर उच्चारण गर्दा उभिएको देखिएन भने गयल हुन्छ र अरु कसलै उभिएर बिदा छ भनेर निवेदन देखाएमा बिदा जनाइन्छ । यो माध्यमिक विद्यालयले शुक्रबारे क्रियाकलापको नाम नै फनि फ्राइडे राखेको छ ।

फनि फ्राइडे अन्तर्गत यो कार्यक्रम सञ्चालन गर्ने भनेपछि विद्यार्थीहरुमा शुक्रबारे क्रियाकलाप प्रति सकारात्मक भएर सहभागी हुने बानीको विकास भएको रहष्य उद्घाटन गर्नु हुन्छ त्यस विद्यालयका शिक्षक गणेश ढकाल ।

सुर्खेतकै सरस्वती माध्यमिक विद्यालय घाटगाउका प्र.अ. रत्नप्रसाद गौतमले जिल्ला शिक्षा कार्यालयसँग कार्यसम्झौता गरेपछि उनले खाली पिरियडमा आफ्ना शिक्षकहरुको कक्षा अवलोकन गर्ने कार्यको सुरुवात गरेका छन् । यसबाट प्र.अ. र शिक्षकहरु दुवै पक्षले एकअर्कालाई लाभ भएको महसुस गरेका छन् ।

प्र.अ.ले कक्षा अवलोकन गर्दा कतिपय कक्षाबाट आफूले सिकेको र कतिपय कक्षामा आफूले सिकाएको महसुस गरेका छन् भने अन्य शिक्षकहरुको महसुस पनि ठीक यस्तै प्रकारको रहेको छ । यसका साथै बाहिर जाने विद्यार्थीहरुका निम्ति अनुमति कार्डको व्यवस्था गरिएको छ । एकपटकमा एउटा विद्यार्थीले उक्त कार्ड गलामा झुण्ड्याएर गएपछि उ नफर्किदासम्म अर्को बाहिर जान पाउदैन ।

यस प्रकारको अनुमति कार्डको व्यवस्था जन माध्यमिक विद्यालय लगायत अन्य विद्यालयहरुले समेत प्रयोगमा ल्याएको देखिएको छ । यसका साथै प्रारम्भिक कक्षा पठन सीप प्रबर्धन कार्यक्रम अन्तर्गत प्राप्त भएका पाठ्यसामग्रीहरुले बालबालिकाहरुमा पढ्ने बानीमा सुधार भएको कुरा माध्यमिक विद्यालय घाटगाउ लगायत धेरै विद्यालयका प्र.अ.हरुसँगको भलाकुसारीबाट जानकारी प्राप्त भयो ।

मसिनोसँग आँकलन गर्ने क्रममा धेरै विद्यालयहरुले धेरै काम गरेको बोध भयो । जनजागृति मा.वि.दमारले विद्यालयमा ढिलोगरी आउने शिक्षक र बैठकमा ढिलो गरी आउने विव्यसका पदाधिकारीहरुलाई आर्थिक जरिवानाको व्यवस्था गरेर उनिहरुलाई सुधार गर्न सफल भएको देखिन्छ ।

आदर्श मावि मेहलीले हात हल्लाउदै कक्षाकोठामा जाने शिक्षकहरुलाई झोलाको व्यवस्था गरेर शिक्षकहरुलाई झोलामा शैक्षिक सामग्री सहित बोकेर जाने संस्कारको थालनी गरेको छ । यसले बिना झोला हातमा कितावकापी बोकेर आउने विद्यार्थीहरुलाई समेत झोला बोकेर आउने बानी बसालेको छ ।

शिव मावि लाटीकोइलीले हरेक कक्षा र सेक्सनका विद्यार्थीहरुमध्ये एक–एक जनालाई विषयगत रुपमा बेष्ट विद्यार्थी भनेर छनौट गरेको छ । कतिपय अवस्थामा कुनै विषयको कक्षा खाली भएको अवस्थामा सम्बन्धित विषयको बेष्ट विद्यार्थीबाट सहजीकरण गर्ने ब्यवस्था मिलाइएको छ । यो ब्यवस्था माध्यमिक विद्यालय इत्रामले पनि गरेको छ ।

सुर्खेतका अब्वल सामुदायिक विद्यालयहरुमध्ये सदरमुकाम देखि तीस किलोमीटर पश्चिम रहेको जनज्योती माध्यमिक विद्यालय बड्डीचौर करिव करिव पहिलोमै आउने गर्दछ । यो विद्यालयले आफ्नो पहल, नेतृत्व र स्वामित्वमा माछापालन, माहुरी पालन, बाख्रापालन, गाइपालन, तरकारी खेती, इट्टाभट्टा सञ्चालन, घाँस खेती लगायतका कार्यक्रमहरु सञ्चालन गरेको छ ।

यहाँका प्राविधिक धारतर्फ अध्ययन गर्ने विद्यार्थीहरुलाई अध्ययनका अतिरिक्त आयआर्जन गर्ने अवसर समेत प्रदान गरेको छ । विद्यालयले हरेक वर्ष दुई करोडको कारोबार गर्दछ भने एक करोड त मुनाफा नै गर्दछ । पछिल्लो समयमा टोलटोलमा टोल शिक्षा समिति गठन गरेर अभिभावकहरुको बीचमा शैक्षिक चेतनाको दियो सल्काएर विद्यालयले गर्ने कामकारवाही प्रति अभिभावकको चासो र चिन्ता बढाउन सफल भएको दावी प्र.अ.नारायण सिग्देलको छ । समयाभावका कारण यो पङ्तिकारले यो विद्यालयको सूक्ष्म किसिमले सिंहावलोकन गर्न नसके पनि यो विद्यालयले राष्ट्रको नै ध्यानाकर्षण गर्न गराउन सफल भएको कुरामा कसैको पनि दुइमत देखिदैन ।

नारायण सिग्देलले जस्तै जन माध्यमिक विद्यालयका प्र.अ. यमकुमार श्रेष्ठ पनि आफ्नो विद्यालयलाई राम्रो बनाउन प्रयत्नरत देखिन्छन् । श्रेष्ठको विद्यालयले धेरै संस्थागत विद्यालयहरुबाट विद्यार्थीहरु आकर्षित गर्न सफल भएको छ । यति गर्दा पनि समुदायका कतिपय मानिसहरुले आफूले गरेका राम्रा काम नदेख्ने र विभिन्न निहु खोजेर बक्रदृष्टि लगाएर मात्र हेर्ने गरेको दुखेसो रहेको छ प्र.अ. यम श्रेष्ठको ।

प्र.अ. यम श्रेष्ठले भने जस्तै एउटा सामुदायिक विद्यालय समुदायको सहयोग र सद्भावको अभावमा बाँच्नु प¥यो भने सायद त्यो विद्यालय राम्रोसँग बाँचे पनि बाँच्नुको सार्थकतामा विभिन्न द्विविधाहरुको सिर्जना हुन्छ होला । यस्तै प्रसङगको उठान गर्दै प्र.अ.श्रेष्ठले एक समारोहमा आफ्नो आग्रह र पूर्वाग्रहको चश्मा निकालेर राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनिदिनका लागि सरोकारवाला सवैलाई अनुरोध गरेको सन्दर्भ यो पङ्तिकारको स्मृतिपटलमा ताजै छ ।

सन्दर्भ साहित्यको अध्ययन गर्दा शिक्षण एउटा कला पनि हो र शिक्षण एउटा विज्ञान पनि हो भनेर ब्याख्या गरेको भेटिन्छ । केही गरौं भन्नेहरुका निम्ति साँच्चिकै शिक्षण कला पनि हुँदोरहेछ र शिक्षण विज्ञान पनि हुँदो रहेछ । अन्यथा यो ठगीखाने पेशा हुँदोरहेछ । सुर्खेतका कतिपय प्रधानाध्यापक र शिक्षकहरुसँग छलफल र अन्तरक्रिया गर्दा उनिहरुमा केही गरौं भन्ने भावना र छटपटी देखिन्छ ।

यही भावना र छटपटीकै कारण उनिहरुमा शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउनका लागि विभिन्न कलाहरु प्रयोग गरिरहेका देखिन्छन् । समस्याको अनुभूति भयो भने समाधानका लागि सिर्जनात्मक तरिकाहरु पहिल्याउने उनिहरुमध्ये धेरैको बानी भइसकेको छ । सुर्खेतका विभिन्न सामुदायिक विद्यालयहरुले सम्पादन गरेका उल्लिखित क्रियाकलापहरु केही गरौै भन्ने भावना र छटपटीकै उपजहरु हुन् ।

केही गरौैं भन्ने यो भावना र यो छटपटी सवै सामुदायिक स्कूलतिर सर्दै गयो भने मलाई त लाग्छ सामुदायिक विद्यालयहरुले आफूलाई खुम्च्याउदै अपमान बोध गरेर बाँच्नु पर्ने छैन । सवैलाई चेतना भया ।