२०७७ माघ ४, आईतवार

गाउँगाउँमा जनतासंग माओवादीले मनायो जनयुद्ध दिवस ‘सहिदको सपना पुरा गर्छाै’

सुर्खेत, फागुन २ । सुर्खेतमा माओवादीहरुले २२ औं जनयुद्ध दिवस कार्यकर्ताहरुसंग भेटघाट तथा कार्यक्रम गरी मनाएकाछन् । दिवसका अवसरमा माओवादी केन्द्रले गाउँगाउँमा कार्यकर्ताहरुबीच कार्यक्रम गरेर जनयुद्धका एजेण्डाहरु सस्थागत गर्दै सहिदहरुका सपना पुरा गर्ने प्रतिबद्धता जनाएको छ ।

janayoudhaप्रायः पार्टी कार्यालयमा रातो टिका लगाएर दिवस मनाउने गरेको माओवादीले यसपटक भने गाउँगाउँमा कार्यकर्ताहरुसंग जनयुद्ध दिवस मनाएको हो । यही फागुन २१ र २२ गते जिल्ला सम्मेलन गर्ने भएकोले पनि गाउँ सम्मेलन गरिएको माओवादी केन्द्रले जनयुद्ध दिवस पनि गाउँमै मनाएको हो । जनयुद्धका बाँकी एजेण्डाहरु पुरा गर्नका लागि जनताका घरघरमा पुग्ने रणनीति अनुसार जनयुद्ध पनि गाउँमै मनाएको माओवादी केन्द्रले जनाएको छ ।

जनयुद्ध दिवसका अवसरमा माओवादी केन्द्रले सुर्खेतको पश्चिम क्षेत्रको विद्यापुर र पूर्वी क्षेत्रको दशरथपूरमा बृहत कार्यक्रम गरेको छ । जनयुद्ध दिवसकै अवसरमा वडा सम्मेलनहरु पनि गरिएको छ । पश्चिम सुर्खेतको विद्यापुरमा नेताहरु जिल्ला इन्चार्ज नरबहादुर विष्ट, संयोजक कृष्ण जिसी, राष्टिय सम्मेलन आयोजक समिति सदस्य नविन विक, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव केशव शाही, उद्योग ब्यापार संगठन सुर्खेतका अध्यक्ष सूर्य थापा लगायतको उपस्थितिमा जनयुद्ध दिवस तथा सम्मेलनको उदघाटन गरिएको छ ।

यस्तै माओवादी केन्द्रले दशरथपूरमा सम्मेलनको उद्घाटन तथा जनयुद्ध दिवसका अवसरमा बृहत कार्यक्रम गरेको छ । कार्यक्रम नेकपा माओवादी केन्द्रका संसदीय दलका सचेतक तथा सांसद सीता नेपाली, राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य जीतबहादुर रानाको उपस्थितिमा सहिद परिवार र कार्यकर्ताहरुबीच सम्पन्न भएको हो ।

जनयुद्धको मर्म अनुसार उपलब्धीहरुको रक्षा गर्दै बाँकी एजेण्डाहरु संस्थागत गर्न माओवादी केन्द्य्रले कार्यकर्ता, सहिद परिवार, अपाङ र घाइतेहरुकाबीचमा प्रतिबद्धता जनाएको छ । आफूहरुले सहिदहरुका सपना पुरा गर्नका लागि जनयुद्धका बाँकी एजेण्डालाई पनि पूर्णता दिन कार्यकर्ताहरुबीच जनयुद्ध दिवस मनाएको राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य रानाले बताए । सहिदहरुको रगत खेर नफाल्ने भन्दै उनले जनयुद्धकै मर्मअनुसार आगामी दिनमा सहिदहरुका सपना पुरा गर्दै सबै एजेण्डाहरुलाई संस्थागत गर्ने प्रतिबद्धता कार्यकर्ताहरुबीच गरिएको उनले बताए ।

कार्यक्रममा सहभागी भएका सांसद सीता नेपाली, जिल्ला इन्चार्ज, नरबहादुर विष्ट, संयोजक कृष्ण जिसी लगायतका नेताहरुले पनि कार्यकर्ताहरु माझ जनयुद्धको मर्म र सहिदको सपना पुरा गर्ने प्रतिबद्धता जनाएका थिए ।

यता नेकपा क्रान्तिकारी माओवादी सुर्र्खेतका संयोजक खडानन्द लामिछानेले पनि जनयुद्ध दिवसका अवसरमा आफूहरुले माओवादी झण्डालाई झुक्न नदिने प्रतिबद्धता गरेको बताए । नेतृत्वबाट केही गलत भएपनि सहिदको रगत खेर नजाने प्रतिबद्धता सहित २२ औं जनयुद्द दिवस मनाइएको संयोजक लामिछानेले बताए ।

जनयुद्धको मर्म बचाइराख्न र सहिदहरुको सपना पुरा गर्नका लागि क्रान्तिकारीहरुबीचको धब्रीकरण गरेर अगाडि बढ्ने बाचा गरिएको उनले बताए ।