२०७७ मंसिर १६, मंगलवार

पढाई सीपका लागि टोल पढाई समूहहरु

बाँके (नेपालगन्ज) , फागुन ३ । बाँकेका सामुदायिक विद्यालय र मदरसामा कक्षा १ देखि ३ सम्म अध्ययन गर्दै आएका बालबालिकाको पढाई सीप बढाउन गठन गरिएका टोल पढाई समूहहरुको सक्रियताले गर्दा बालबालिकाको पढाई शिपमा सुधार आउने देखिएको छ ।

बालबालिकाको पढाई शिप निकै कमजोर देखिएपछि सो मा सुधार ल्याउनको लागि शुरु गरिएको प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत बाँकेमा गठन गरिएका टोल पढाई समुहहरु अहिले स्थानीय पढाई सामाग्री निर्माणमा ब्यस्त छन् ।  बालबालिकाहरुको पढाई तथा सिकाईलाई प्रोत्साहित गर्ने उदेश्यले हाल स्थानीय रुपमा सबै टोल पढाई समुहहरुले पढाई सामाग्रीहरु निर्माण कार्यलाई तिव्र गतिमा अगाडी बढाई रहेको बाँके युनेस्को क्लबले जनाएको छ ।

क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बालबालिकाको पढाईको गुणस्तरमा सुधार ल्याउन जिल्लामा ६ सय ७८ वटा टोल पढाई समूह निर्माण गरी ती समूह मार्फत बालबालिकाको पढाई शिप सुधारमा सक्रिय रुपमा लागेको बताएका छन् ।

युएसएडको आर्थिक सहयोगमा बाँकेका ३ सय ५९ वटा बिद्यालय र मदरसामा संचालन गरिएको प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तरगत टोल पढाई समुहले विद्यालय बिदाको दिनमा, चाडपर्वको बेलामा वा विद्यालय अघिपछि खेलेर बिताउने समयलाई बालबालिकाले टोल पढाई समूहको सहयोगमा पढ्ने तथा सिक्ने गरी पढाउन शुरु गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।  यसैविच बाँकेमा संचालित प्रारम्भिक कक्षा पढाई कार्यक्रमको संयुक्त जिल्ला अनुगमन समितिले सोमवार अनुगमन गरेको छ ।

बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्ख बहादुर थापाको नेतृत्वमा बिभिन्न कार्यालयका प्रतिनिधी र पत्रकार सम्मिलित रहेको अनुगमन समितिले जिल्लाको गनापुर गाविसमा रहेको दारुलउलुम गुलशने इस्ताकिया गनापुर टोल पढाई समुह र महादेवपुरी बालापुरमा रहेको शिवशक्ति टोल पढाई समुहको अनुगमन गर्यो ।

टोल पढाई समुहमा आवद्ध समुदायका अगुवाहरुले आफ्ना बालबालिकाको पढाई शिप सुधारका लागि निकै परिश्रम गरेको र स्थानीयस्तरमा पढाई सामाग्री निर्माणको कार्य राम्रो तरिकाले भैरहेको पाईएको अनुगमनपछि सहायक जिल्ला शिक्षा अधिकारी थापाले बताए । उनले टोल पढाई समुहको सक्रियताले बालबालिकाको पढाई शिप सुधार हुने संकेतहरु देखिन थालेको बताए ।

दारुलउलुम गुलशने इस्ताकिया टोल पढाई समुह गनापुरका संयोजक ईद्रिसी सल्मानीले टोल समुह गठन गरिएपछि पढाईमा बालबालिकाको चासो बढेको बताइन् । उनले समुह गठन भएपछि विदाका दिनमा बालबालिकालाई पढाउन सहज भएको जनाईन् ।

अनुगमन टोलीमा जिल्ला शिक्षा कार्यालयका श्रोत ब्यक्ति बिष्णु पौडेल, गैर सरकारी संस्था महासंघका क्षेत्रीय अध्यक्ष प्रमोद रिजाल, बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, वरिष्ठ उपाध्यक्ष सिराज खान, कार्यक्रम प्रबन्धक बल बहादुर भण्डारी, रवि तुलाधर, वेद प्रकाश पंगाली, प्रारम्भिक कक्षा पढाई कार्यक्रमका राजेश सोनी लगायतको सहभागिता रहेको थियो ।
प्रारम्भिक कक्षा पढाई कार्यक्रमले बाँकेका ३ सय ५९ सामुदायिक विद्यालय, मदरसा र गुरुकुलमा कक्षा १–३ मा अध्ययन गर्ने ६२ हजार बालबालिकाको शैक्षिक शिप विकासमा सहयोग गरिरहेको जिल्ला शिक्षा कार्यालय बाँकेले जनाएको छ ।