२०७७ मंसिर १०, बुधबार

शिक्षा क्याम्पसमा स्ववियु निर्वाचनको किचलो, कार्यतालिका अनुसार अगाडि नबढेपछि विद्यार्थी आक्रोशित

सुर्खेत, फागुन ३ । यही फागुन १४ गतेका लागि घोषणा गरिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन सम्बन्धी सुर्खेत क्याम्पस (शिक्षा) मा किचलो सुरु भएको छ ।

त्रिभूवन विश्वविद्यालयले निर्वाचनका लागि निकालेको तालिका अनुसार निर्वाचन समिति र क्याम्पस प्रशासन अगाडि नबढेपछि निर्वाचन हुन नहुनेमा सशंकित हुँदै विद्यार्थीहरु आक्रोशित भएका हुन् । विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी) ले २६ गते नै तालाबन्दी गरेपछि निर्वाचन कार्यतालिका अवरुद भएको थियो । तालाबन्दी भएको अवस्थामा काम गर्ने कि नगर्ने भन्ने विषयमा विद्यार्थीहरुबीच पूर्ण सहमति हुन नसक्दा समस्या उत्पन्न भएको छ ।

देशभरका केही क्याम्पसहरुमा प्रक्रिया अनुसार काम अघि बढिरहेको र सुर्खेत क्याम्पस (शिक्षा) मा काम अबरुद्ध भएपछि विद्यार्थीहरुले कार्यतालिका अनुसार काम अघि बढाउन माग गर्दै विरोध गरिरहेकाछन् । यो अवस्थामा तोकिएको समयमा निर्वाचन नहुने भन्दै विभिन्न विद्यार्थी संगठनहरुले आपत्ति जनाएकाछन् ।

निर्वाचन कार्यातालिका अनुसार फागुन १ गते नै मतदाता सूची प्रकाशन गर्नुपर्ने थियो तर सोमबार पनि प्रकाशन भएको छैन । २ गते सम्म पनि मतदाता नामावली प्रकाशन नभएपछि विद्यार्थीहरु आक्रोशित भएका हुन् । क्याम्पस प्रशासन विद्यार्थीहरुबीच भएको छलफलले पनि केन्द्रबाट कुनै लिखित निर्देशन प्राप्त नभएसम्म निर्वाचनका कार्यक्रम अगाडि नबढाउने निर्णय भएको छ । त्यसमै अनेरास्ववियुले असहमति जनाएको थियो ।

सोमबारसम्म पनि नामावली प्रकाशन नभएपछि अनेरास्ववियु र माओवादी केन्द्रको अखिल (क्रान्तिकारी) ले नाराबाजि गरेका थिए । अनेरास्ववियुले सुर्खेत क्याम्पस शिक्षाका क्याम्पस प्रमुख टंकप्रसाद आचार्यलाई एक घण्टा क्याम्पसमै थुनिदिएको थियो । कार्यतालिका अनुसार अगाडी नबढेको भन्दै अनेरास्ववियुले उनलाई क्याम्पस हातामा थुनेको हो ।

विद्यार्थीहरुले स्ववियु कार्यालयमा लागेको ताला पनि फोडेकाछन् । तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर, कुनैपनी बाहानामा निर्वाचन रोक्न पाइदैन, क्याम्पस प्रशासन मुर्दाबाद, निर्वाचन समिति मुर्दावाद, असक्षम निर्वाचन समिती राजिनामा दे, क्याम्पस प्रमुख राजिनामा दे जस्ता नारा लगाएर विद्यार्थीहरुले विरोध गरेको थियो ।

विद्यार्थीहरुले क्याम्पस प्रशासनले विभिन्न बाहाना गर्दै प्रकृया अगाडी बढाउन आलटाल गरेको आरोप लगाएका छन् । अखिलका जिल्ला अध्यक्ष प्रेम खड्काले तोकिएको समयमा निर्वाचन नभए आफूहरुले स्ववियु घोषणा गर्ने बताए ।

यस्तै अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष तथा सुर्खेत क्याम्पस (शिक्षा) का स्ववियु सभापतिका उम्मेद्वार महेश जिसीले अहिले आलटाल गरेर १४ गते निर्वाचन नभए अखिल (क्रान्तिकारी) ले सारिएको मितिमा निर्वाचनमा सहभागी नहुने चेतावनी दिए । नेपाल विद्यार्थी संघले भने खासै आपत्ति जनाएको छैन ।