२०७७ मंसिर ८, सोमबार

सन्तुलित जीवनका विविध पक्षहरु

‘हामी घरबाट निस्कदा बच्चाबच्चीहरु ओछ्यानबाट उठेकै हुन्नथे । फर्केर आउन ढिला हुन्थ्यो, यतिखेर उनीहरु निदाइसकेका हुन्थे । यसक्रमले २० वर्ष पार गर्दा नगर्दै उनीहरुले हामीलाई छोडेर गइसकेछन् ।’

jitbahadur-shaha-768x312शिव खेराको उल्लिखित भनाइ कुनै यौटा परिवारको मात्र अवस्था नभइ अहिलेको स्थितिमा विकास, व्यस्तता र वित्तको पछि लागेका हरेक परिवारको घरघरको कथा भएको छ । विशेष गरी पाश्चात्य मुलुकतिर हेर्ने हो भने मानिसहरु अहिले आवश्यकता भन्दा बढि नै हुनेगरी समयका दास भएका छन् ।

उनीहरुले एक दिनमा एक मिनेट तलमाथि गरे भने पनि दिनभरिको कार्यतालिका र पारिश्रमिकमा समेत असर पर्ने भएको कारण मानिसहरु मेसीन जस्ता भएका छन् । एवम् रीतले बालकालिकाहरु पनि युवा भए भने उनीहरुको अवस्था पनि त्यस्तै हुन्छ र जन्म दिने बाबुआमालाई समय र सद्भाव दिएर आफूसँग राख्न नसक्ने गरी इतिहासको पुनरावलोकन हुन्छ । यसैको परिणामस्वरुप पैसा दिएर राखिएको कुनै कामदारको सहयोगमा बुढाबुढीहरु जीवन विताउन बाध्य हुन्छन् । कि त भने उनीहरु सरकारको शरणमा परेर बृद्धाश्रममा जीवन विताउछन् ।

वित्तिय अवस्थाको सुदृढिकरण नै सवै कुराको औषधी होइन रहेछ । दृष्टान्त दिनुपर्दा सन् १९२३ मा विश्वका सवैभन्दा धनाढ्य आठजना व्यक्तिहरु एउटै समारोहमा भेला भएका थिए । ती आठजना धनाढ्यहरुको कुल सम्पत्ति जोड्दा तत्कालीन अमेरिकी सरकारको पूजीभन्दा बढि हुन्थ्यो । ती आठजना धनीहरु जीवनमा सबै हिसावले धनी भने हुन सकेनन् । त्यसपछिका २५ वर्षभित्रै उनीहरुको जीवन धराशायी भयो ।

आठ जना मध्येकै धनाढ्य व्यक्ति जेसी लिभरमोर, इभार क्रुजर र लिवन फ्रेजरले जीवनदेखि दिक्क भएर आत्म हत्या गर्न पुगे । रिचर्ड ह्विट्नी र अल्बर्ट फलले गैरकानूनी काम गरेर जेल परे । हावर्ड हब्सन पागल भए । चाल्र्स श्वाब र आर्थर क्यूटन आफूले गरिरहेको व्यवसायबाट टाट पल्टिएर फेरि उठ्न नसक्ने गरी थला परे । यो कुराको अध्ययन गर्दा आर्थिक अवस्थालाई मात्र महत्व दिएर अघि बढ्ने मानिसहरुको जीवनको क्षितिज अँध्यारो भएको आभास हुन्छ ।

जीवनलाई सन्तुलित रुपमा अघि बढाउनका लागि मानिसले आर्थिक अवस्थाका साथै पारीवारिक, शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक पक्षलाई समेत विर्सनु हुदैन । मानिसहरु भन्छन् – यी ६ वटा पक्षहरु जीवनका ६ वटा टायरहरु जस्तै हुन । यी मध्ये ३ वटा टायरहरुलाई वेवास्ता गरियो भने अर्थात ३ वटा टायरहरुको अवस्था नाजुक भयो भने व्यक्तिले जीवनको सन्तुलन गुमाउछ ।

जसरी एउटा गाडीका आधा जति टायरले सडक छोडे भने दुर्घटना हुने सम्भावना बढ्छ त्यसरी नै जीवनका उल्लिखित ६ वटा टायरहरुमध्ये आधाजति टायर मात्र कमजोर भए वा भनौं जीवनबाट टाढा भए भने बाँकी टायरले जीवनलाई थेग्न सक्दैनन् र अन्ततः माथि उल्लेख गरिएका कुनै बेलाका विश्व विख्यात आठ जना धनाढ्यहरुको जस्तै गरी मानिसको जीवन कुनै पनि बेला दुर्घटनामा पर्न सक्छ । उल्लिखित धनाढ्यहरुको आर्थिक पक्ष त आवश्यकता भन्दा बढि नै बलियो थियो तर अरु पक्षहरु नाजूक भएकै कारण उनीहरुको अवस्था पनि खस्किएको हो भन्दा साँचो बोलेको ठहर्छ ।

सन्तुलित जीवनको पहिलो टायर व्यक्तिको पारीवारिक अवस्था हो । व्यक्तिले सुदृढ पारीवारिक अवस्थाबाट प्रेम प्राप्त गर्दछ । प्रेमले मानिसलाई भविष्य प्रति आशक्ति जगाउदै जिउन प्रेरित गर्दछ र जिम्मेवारीप्रति समेत सचेत बनाउछ । यसका साथै पारिवारिक अवस्थाले मानिसलाई जीवकोपार्जनमा समेत अभिप्रेरित गर्दछ ।

जीविकोपार्जनको नाममा परिवार भन्दा आर्थिक पक्ष महत्वपूर्ण भयो भने परिवारिक पक्ष माथि उल्लेख गरिए जस्तै कहालीलाग्दो हुन्छ । त्यस्तो बेला न त आमाबाबुले सन्ततीहरुलाई समय दिन सक्छन् न त सन्ततीहरुले नै आमाबाबुलाई नै । अहिले धेरैका परिवारहरु विखण्डनको अवस्थामा छन् । पतिपत्नीको बीचमा दिनहु जस्तो कलह हुन्छ र उक्त कलह पारपाचुकेमा गएर टुङ्गिन्छ ।

पारपाचुकेमा गएर टुङ्गिएको कलहले कि त जीवनमा अर्को कलह निम्त्याउछ कि त भने बैराग्यपनले जीवनमा प्रवेश गर्दछ । अतः जीवनको पहिलो टायरको रुपमा रहेको पारिवारिक पक्षलाई कति महत्व दिने भन्ने कुरामा व्यक्तिले सजग र चनाखो हुनु अति आवश्यक छ । व्यक्ति यसमा सफल भयो भने उसको जीवनलाई सन्तुलनमा राख्ने एउटा टायरको अवस्था राम्रो भएको ठहर हुन्छ ।

सन्तुलित जीवनको दोश्रो टायरको रुपमा व्यक्तिको आर्थिक पक्षले भूमिका निर्वाह गर्दछ । यो पक्षले एकातिर मानिसलाई व्यस्त त बनाउछ नै यसबाट मानिसका कतिपय भौतिक आवश्यकताहरुलाई परिपूर्ति गर्नमा समेत सहयोग पु¥याउछ । यसको अलावा व्यक्तिको जीवनलाई तुलनात्मक किसिमले सहज र सुविधायुक्त बनाउन मद्दत गर्दछ ।

आर्थिक पक्षको सन्तुलित प्रयोगले मानिसलाई सामाजिक र मानवीय पक्षमा समेत गतिशील हुन सहयोग गर्दछ । कतिपय विपन्न मानिसहरुलाई आर्थिक हिसावले राहत प्रदान गर्न सकियो भने जीवनमा एकप्रकारको आनन्दको अनुभूति हुन्छ । यसका साथै जीवनको तेश्रो टायर भनेको व्यक्तिको शारीरिक पक्ष हो । व्यक्तिलाई उत्साहपूर्वक जिउनका लागि स्वास्थ्यले साथ दिनु पर्दछ ।

शरीर स्वस्थ हुन सकेन भने अस्वस्थ शरीरभित्र स्वस्थ मनको जन्म हुन असम्भव त होइन तर असजिलो भने हुन्छ । जीवनमा खुशी र प्रशन्नता अनुभूत गर्नका लागि समेत मानिसको शारीरिक पक्षले उसलाई साथ दिनु पर्दछ ।

मानव जीवनको चौथो टायर भनेको उसको मानसिक पक्ष हो । मानसिक पक्ष भन्नाले उसको ज्ञान, बुद्धि र विवेक हो । यसलाई स्पष्ट रुपमै भन्नुपर्दा मानिसको शिक्षा एवम् उसको चेतनाको स्तरले उसको मानसिक पक्षलाई जनाउछ । मानिस समसामयिक हिसावले जानकार र विवेकशील हुन सकेन भने उसको बचाइ सार्थक हुन सक्दैन ।

अर्थात अरु प्राणीभन्दा श्रेष्ठ भएर बाँच्नका लागि वा भनौं मानिसहरुको बीचमा समेत श्रेष्ठ भएर बाँच्नका लागि उसको मानसिक पक्षले अहम भुमिका निर्वाह गर्ने कुरालाई नकार्न सकिदैन । अर्को शब्दमा भन्ने हो भने मानिसका यहाँ उल्लेख गरिएका अन्य ५ पक्षलाई सक्रिय र अर्थपूर्ण बनाउनका लागि समेत मानिसको मानसिक पक्षले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
मानव जीवनको पाँचौ टायर भनेको उसको सामाजिक पक्ष हो । मानिस सामाजिक प्राणी भएकोले समाजमा उसले आफ्नो अस्तित्व र स्थानको स्वाभाविक रुपले खोजी गर्दछ । समाज हुने उसको प्रतिष्ठा, मानमर्यादा र पहिचानको स्तरले उसलाई जिउन प्रेरित गर्दछ र सुखदुखमा साथ दिने र हाँसो–आँशु बाड्ने काममा समेत मानिसको सामाजिक पक्षले उसलाई सहयोग गर्दछ ।

यसरी नै मानव जीवनको छैठौं टायर भनेको उसको आध्यात्मिक पक्ष हो । मानिसको आध्यात्मिक पक्षले उसलाई मूल्यमा आधारित जीवन बाँच्न प्रेरित गर्दछ । यतिमात्र नभइ मानिसलाई नैतिकता, इमान्दारिता र निष्ठापूर्ण जीवन जिउन प्रेरित गर्दछ । यस्ता जीवनहरु समाजका लागि मार्गदर्शक, ओजपूर्ण र प्रेरणादायी हुने गर्दछ ।

अव प्रश्न उठन सक्छ, यसरी माथि उल्लिखित ६ वटै टायरहरु सशक्त र मजबूत बनाउनका लागि के गर्ने त ? सर्वप्रथम त आर्थिक पक्षलाई साध्य अर्थात लक्ष्यको रुपमा नलिएर साधनको रुपमा लिन सक्नुपर्दछ । अर्थ अर्थात पैसा र सम्पत्ति भनेको मानिसको मालिक होइन कि मानिस पैसा र सम्पत्तिको मालिक हुन सक्नुपर्दछ ।

आज शिक्षा आर्जन गर्ने क्रममा नै बढि सम्पत्ति आर्जन गर्नका लागि आवश्यक पर्ने शिक्षा कसरी आर्जन गर्ने भन्ने चिन्ता मानिसहरुलाई हुने गर्दछ । यो उद्देश्यबाट प्रेरित भएर उ भोलि जति ठूलो पद र शक्तिमा पुगे पनि घुम्दै फिर्दै रुम्जाटार भने जस्तै उ सधैं पैसा र सम्पत्तिलाई केन्द्र विन्दू बनाएर काम गर्न थाल्छ ।

अन्ततः उ जति ठूलो विज्ञ भए पनि आफ्नो लागि त अमृत होला तर समाज र देशका लागि घातक बीष सावित हुन्छ । आज पढेलेखेका मानिसहरुबाट समाज र देशले जे अपेक्षा गरेको थियो त्यो प्राप्त गर्न नसक्नु भनेको मानिस भौतिक सम्पत्तिको दास हुनु एउटा महत्वपूर्ण कारण हो ।

हाम्रो शिक्षाले व्यक्तिलाई माथि उल्लेख गरेका जीवनका ६ वटै पक्षहरुलाई सन्तुलित रुपमा अगाडि बढाउने कला सिकाउनु पर्दछ । अन्ततः मानिसको अधिकतम लक्ष्य भनेको खुशी, प्रशन्नता र शान्ति हो । यसका लागि मानिसले जीवनका अरु पक्षलाई विर्सिएर आर्थिक पक्षको मात्र पछि लाग्नु भनेको काँशी जानका लागि कुतिको बाटो रोजे जस्तै हो ।

बरु आफूसँग भएको सुदृढ आर्थिक पक्षलाई विपन्नहरुको हित र आम मानिसहरुको सेवाका निम्ति साधनको रुपमा प्रयोग गर्न सकिन्छ । सायद त्यसैले पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका होलान् – ‘भन्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? आफू मेटाइ अरुलाई दिनु जहाँ छ ।’

अतः आज कतिपय धनाढ्य व्यक्तिहरुले आफ्नो आम्दानीको निश्चित प्रतिसत रकम समाज सेवाका निम्ति खर्च गर्ने उद्देश्य अघि सारे जस्तै जीवनमा खुशी, प्रशन्नता र शान्तिलाई आफ्नो अभिष्ठ बनाएका हरेक मानिसले आर्थिक पक्षलाई मात्र होइन कि आफ्नो परिवार, स्वास्थ्य, शिक्षा, समाज र आध्यात्मिक चेतलाई समेत विना कुनै पूर्वाग्रह सन्तुलित रुपमा महत्व दिएर अघि बढ्नुको विकल्प देखिदैन ।