२०७७ माघ ४, आईतवार

भोलि नै चुनावको मिति घोषणा हुन्छ : बलदेव

निर्वाचनको मिति घोषणा भएको आधा घण्टाभित्रै सरकारलाई      दिएको समर्थन लिएर आन्दोलन घोषणा गर्छौं : मोर्चा

neta ko newsकाठमाडौं, ८ फागुण। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले सरकारले भोलि नै निर्वाचनको मिति घोषणा गर्ने स्पष्ट पारेका छन्।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै खनालले आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको काँग्रेस–माओवादी केन्द्रको बैठकले भोलि बस्ने मन्त्रिपरिषदको बैठकले नै निर्वाचनको मिति घोषणा गर्ने जनाएका हुन्। उनले भने,‘चुनावको लागि सबै प्रक्रिया पूरा भैसक्यो, यसको लागि निर्वाचन आयोग र सूरक्षा निकायका प्रमुखहरुसँग कुरा गरेर जेठको पहिलो हप्ता गर्नेगरि भोलि निर्वाचनको मिति घोषणा गरिनेछ।’ उनले मुलुक अब चुनावमा गएको समेत उद्धघोष गरे। खनालले थपे,‘चुनावबाटै निकास निस्किन्छ्।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै खनालले सबै दलहरुलाई विश्वासमा लिएर नै सरकारले चुनावको मिति घोषणा गर्न लागेको जनाए। उनले भने,‘निर्वाचनको मिति घोषणा गर्नेबारेमा हामीले मधेशी मोर्चासँग पनि छलफल गरेका छौं, उहाँहरुले पहिला संविधान संशोधन भन्नुभएको छ, संशोधन नभईकन चुनावमा नजाने भनेर उहाँहरुले भन्नुभएको छ, उहाँहरुसँग पनि आज कुरा हुन्छ।’ उनले स्थानीय तह पूर्नसंरचनामा मधेशी मोर्चाले आपत्ति जनाएकोले उनीहरुले भनेबमोजिम जनसंख्याको आधारमा पूर्नसंरचना गर्ने समेत जनाए।

खनालले मधेशी मोर्चालाईपनि चुनावमा लिएर जाने वातावरण बनाउनको लागि प्रधानमन्त्री अहोरात्र खटिरहेको समेत जनाए। उनले भने,‘अब चुनावलाई रोक्नुहुँदैन्, संविधान कार्यान्वयनको लागि पनि समयमै तीन तहको निर्वाचन गर्नुपर्ने भएकोले सबै दलहरु गम्भिर भएर प्रस्तुत हुनुपर्छ।’ उनले जेठको पहिलो हप्ताभित्रै चुनाव हुनेगरि सरकाले भोलि निर्वाचनको मिति घोषणा गर्न लागेको समेत जिकिर गरे।

खनालले भोलि पनि निर्वाचनको मिति घोषणा नगरिए सरकारलाई प्राविधिक रुपमा कठिनाई हुने बताउँदै थपे,‘भोलि निर्वाचनको मिति घोषणा गरेपनि मोर्चाको माँगलाई सम्बोधन गर्नको लागि सदनमा संविधान संशोधन प्रस्तावलाई छलफल गरेर टुँगो लगाईन्छ।’ खनालले संविधान संशोधन प्रस्ताव केही परिमार्जनसहित प्रक्रियामा अघि बढाउनेबारे छलफल भैरहेको समेत जनाए।

मधेशी मोर्चाका नेता राजकिशोर यादवले सरकारले चुनावको मिति घोषणा गरेको आधा घण्टाभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनको घोषणा गर्ने चेतावनी दिएका छन्।

यादवले भने,‘यदि संविधान संशोधन नभईकन मिति घोषणा भए, मोर्चाले त्यसको आधा घण्टाभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनको कार्यक्रम घोषणा गर्छ, अब हुने आन्दोलनले जनविद्रोहको स्वरुप लिन्छ।’ उनले अघि थपे,‘तर अझैपनि हामी यो सरकारले त्यसो गर्दैन भन्नेमा आशावादी छौं, गर्यो भने सरकारले सबैभन्दा ठूलो संकट व्यहोर्छ।’

उनले सरकारले निर्वाचनको मिति घोषणा गरेपनि निर्वाचन कुनै हालतमा हुन नसक्ने ठोकुवा गरे। यादवले थपे,‘स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदन पनि विवावस्पद छ, त्यसलाई सच्याउनको लागि सरकारले गठन गरेको समितिको प्रतिवेदनपनि सावर्जनिक भएको छैन, अनि के को चुनाव गर्ने ?’ उनले केन्द्रले नै स्थानीय तहको निर्वाचन गरेर संघीयता नै फाल्न खोजेको आरोप लगाए।

यादवले थपे,‘हामी चुनावको विरोधी होईनौं, तर पहिला समस्याको समाधान गरेरमात्रै सार्थक निर्वाचन गर्नुपर्छ।’ उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधन हुनै सक्दैन भनेर झूठको खेती गरिरेको आरोप लगाउँदै भने,‘एमालेले जनतालाई भीडाउने काम गरिरहेको छ, एमाले के हो भन्ने कुरा राधाकृष्ण मैनालीको पुस्तक पढ्दा थाहा हुन्छ, त्यतिमात्रै होईन गोल्छाको अन्र्तवार्ता पढ्दा थाहा हुन्छ, एमालेले हामलाई राजनीति सिकाउनुपर्दैन्।’

उनले एमालेले विषयवस्तुलाई बँग्याएर पहिलादेखि नै खाँदै आएको र अहिलेपनि जनताको अधिकार खोसेर सत्तामा जान खोजेको आरोप लगाए। यादवले भने,‘एमालेको यो सोच संक्रिण र नश्लीय सोच हो, एमालेको सबै कर्तुत नाँगाझारो हुँदैछ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव भीम आचार्यले सरकारले निर्वाचनको मिति घोषणा गरे आफ्नो पार्टीले स्वागत गर्ने स्पष्ट पारे। आचार्यले भने,‘सरकारले चुनावको मिति घोषणा गर्छ भने एमालेले त्यसको समर्थन गर्छ।’ उनले अहिले संसदमा टेबुल भएको संविधान संशोधन प्रस्ताव मधेशी जनताको हितमा नभएको जिकिर गरे।

आचार्यले संशोधन प्रस्तावले मधेशी जनताको कहिल्यैपनि हित नगर्ने जिकिर गर्दै भने,‘नेकपा एमाले मधेश विरोधी पार्टी होईन, संसदमा पेश भएको संशोधन प्रस्तावले मधेशी जनताको हित गर्छ भन्नु सरासर झूठ हो, यस्तो बेतुकका कुरा कसैले नगरे हुन्छ।’

सरकारले निर्वाचनको मिति घोषणा गरे मधेशी मोर्चाले भीषण आन्दोलन गर्छु भनेर चेतावनी दिईसकेको छ नि भनेर गरिएको एक प्रश्नमा आचार्यले भने,‘मधेशका गरिब र निर्दोष जनतालाई उक्साएर ५० लाख दिन्छु भनेर पहिला पनि आन्दोलन गरेको ईतिहास छ, अब मधेशी जनताले बुझिसकेका छन्, जनता अब आन्दोलनमा आउँदैनन्, आन्दोलन कुनै पनि हालतमा सफल हुँदैन्।’

उनले संविधान संशोधनमा उल्लेख गरिएको सबै विषयवस्तु नै गलत भएकोले गलत एजेण्डा कुनै हालतमा पनि पारित नहुने र आफ्नो पार्टीले हुन नदिने चेतावनी दिए।

खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले सरकार चुनावको मिति घोषणा गर्ने तयारीमा जुटिसकेकोले त्यसलाई सबै दलहरुले सहयोग गर्नुपर्ने धारणा राखे। उनले भने,‘भोली सरकारले चुनावको मिति घोषणा गर्छ, त्यसमा अब सबैले समर्थन गर्नुपर्छ।’

उनले भने,‘अब पनि चुनाव नगर्ने हो र आलटाल गरिरहने हो भने अहिलेसम्म प्राप्त गरेका सबै उपलब्धिहरु गुम्ने खतरा छ, यसलाई सबैले ध्यान दिनुपर्छ।’ उनले राप्रपाले राजासहितको प्रजातन्त्र भन्न थालेको उल्लेख गर्दै यस्तो अवस्थामा सबै सचेत भएर निर्वाचनमा होमिनुको विकल्प नभएको जिकिर गरे।

नेपाली काँग्रेसका नेता समेत रहेका मन्त्री खड्काले प्रतिपक्षी दल एमालेलाई मनाउन नसकिए संविधान संशोधन प्रस्ताव पारित हुन सक्दैन भनेर यसअघि पनि आफूहरुले भनिसकेको उल्लेख गर्दै थपे,‘निर्वाचनको विकल्प छैन, निर्वाचनसँगै जायज मागहरुपनि सम्बोधन गर्दै जानुपर्छ, यथास्थितिमा संशोधन प्रस्ताव पारित हुने कुनै आधार छैन, तर पनि सरकारले पारित गराउन पहल गरिरहेको छ।’

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले सरकारले चुनावको मिति घोषणा गरे नेपालमा भीडन्तको राजनीति सुरु हुने चेतावनी दिए। झाले भने,‘चुनावको मिति घोषणा गर्न सरकारले पाउँछ, तर राति गरेपनि हुन्छ, दिउँसो गरेपनि हुन्छ, तर भोलि चुनावको मिति घोषणा हुन्छ भने त्यो नहुने निर्वाचन हो।’

उनले जबरजस्ती चुनावको मिति घोषणा गर्नु भनेको सरकारले भीडन्तको राजनीति निम्त्याउनु भएको टिप्पणी गरे। झाले भने,‘जबरजस्ती चुनाव गरिए मधेशी जनतालाई सहिद बनाउने चुनाव हुनेछ, हजारौं मान्छेहरुलाई सहिद बनाउने बाहेक यो निर्वाचनले केही निकास दिँदैन्, हामी बरु सहिद बन्न तयार छौं तर मधेशमा चुनाव हुन दिँदैनौं।’

उनले मधेशको समस्या समाधान नगरी चुनावको मिति घोषणा गरिए काठमाडौं–मधेशको धागो कमजोर हुने बताए। झाले भने,‘अब पनि धोकाधडीको राजनीति लागु नगरौं, जबरजस्ती चुनाव घोषणा गरिए भीडन्तबाहेक केहप्ी हुँदैन्।’