२०७७ माघ ९, शुक्रबार

नहर, नदी र विद्यालय

फागुनको महिना । तराइको गाउँ । खेतबारीमा खाद्यान्न र तरकारी बाली लटरम्म छन् । सिचाइ गर्नका लागि नहरको व्यवस्था गरिएको छ । उक्त नहर नदीमा सानो बाँध बाँधेर नदीको पानी खेतबारी र बस्तीहरुमा आउने गरी तयार गरिएको छ । नहरको पानीले सिचाइको मात्र काम नगरी मानिसलाई नुहाउन, लुगा धुन र भाडावर्तन सफा गर्न समेत गाउलेहरुलाई सहयोग पु¥याएको छ ।

jitbahadur-shaha-768x312-1-768x312त्यतिमात्र नभइ कहिलकाही नदीबाट नहरमा आउने माछाहरु मारेर खान पनि नहरले गाउलेहरुलाई मद्दत गरेको छ । यस्तैमा एकपटक नहरमा बाटो विराएर अर्थात यो पनि नदी नै त होला भन्ने सोचेर ठूलो माछा आउछ । त्यत्ति ठूलो माछा कतिपय गाउलेहरुले त पहिलो पटक देखेका थिए । यसरी नहरमा ठूलो माछा आएको गाउभरि हल्ला हुन्छ । एकैछिनमा गाउभरिका मानिसहरु जम्मा हुन्छन् । नहरको पानी अर्कोतिर लगाएर नहरलाई सुकाउछन् । नहरमा पानी सुकेपछि ठूलो माछा छटपटाउन थाल्छ । तत्पश्चात गाउलेले ठूलो माछालाई हतियार प्रयोग गरेर मार्छन, टुक्र्याउछन् र सबैले खसि काटे झै गरी भागविलो लगाएर घरघरमा लैजान्छन् ।

बेलाबेलामा यस्तै ठूला माछा नहरमा आएर व्यर्थैमा ज्यान फाल्छन् । उनीहरु नहरमा आउदा लागेको हुन्छ कि नहर पनि नदी हो । नदीमा झै त्यहाँ पनि पानी सदाबहार हुन्छ । त्यहाँ पनि नदी र समुद्रमा झै पानीको गहिराइसम्म पौडिन, डुबुल्किन र तैरिन पाइन्छ । नदी र समूद्रमा झै नहरमा पनि आहार र विहारका लागि कुनै तकलिफ हुदैन । तथापि माछाले सोचे जस्तो नहर नदी र समुद्र जस्तो हुदैन । नहर सुक्ने गर्दछ तर नदी सुक्दैन ।

नदी र समुद्रमा माछा र जलचर प्राणीका लागि आहार र विहारका लागि कुनै पनि अभावको महसुस गर्नुपर्दैन भने नहरमा त्यस्तो कुराको अभाव टड्कारो हुन्छ । नदी प्रकृतिले बनाएको पानी हिड्ने बाटो हो भने नहर मानिसले बनाएको पानी हिड्ने बाटो हो । नदी सिर्जना हो भने नहर शिक्षा । नदी असीम आनन्द, शान्ति र सुविधाको द्योतक हो भने नहर अनिश्चितता, अभाव, समस्या र खतराको साइरन हो । यसरी नदी र नहरको भेद छुट्याउन नसक्ने माछा र अन्य यस्तै जलचर प्राणीहरु कहिलेकाही नहरतिर लाग्छन् र जीवनमा जोखिमको सामना गर्दछन् ।

बालमनोविज्ञानका अध्यता एवम् शिक्षा क्षेत्रका अग्रजहरु भन्ने गर्दछन, नदीले माछाका हरप्रकारका रहर र आवश्यकताको परिपूर्ति गर्न सके झै विद्यालयले पनि बालबालिकाका रहर र आवश्यकताहरुको परिपूर्ति गर्न सक्नुपर्दछ । नदीले माछालाई बाँच्न, पौडिन र रमाउनका लागि कञ्चन र पवित्र पानी उपलब्ध गराए झै विद्यालयले बालबालिकालाई रमाएर सिक्दै व्यक्तित्व विकास गर्नका लागि उपयुक्त वातावरण दिन सक्नुपर्दछ ।

खुशी र उत्साहका साथ चुनौतिहरुको सामना गर्नका लागि विद्यालयले विद्यार्थीहरुलाई विशेष कुशलताहरुको विकास हुने गरी अवसर दिन सक्नुपर्दछ जसरी नदीले माछालाई गहिराइ र आरोहअवरोहयुक्त छालहरुमा उफ्रिदै स्वाभीमानीपूर्वक बाँच्न सक्ने क्षमता प्रदान गर्दछ । जसरी नदीले माछामा भएका सम्भावना र प्रतिभालाई उच्चतम विकास गर्नका लागि मरिमेट्छ त्यसरी नै विद्यालयले पनि बालबालिकाभित्र रहेका प्रतिभा र सम्भावनाहरुको सहजतापूर्वक पहिचान र उत्खनन् गरी तिनीहरुको समूचित रुपमा विकास गर्न सक्नुपर्दछ ।

बालबालिकाका निम्ति विद्यालयहरुको परिकल्पना गरिदा माछाको निम्ति नदीको आवश्यकताको परिकल्पना गरिए झै गरिएको थियो । विद्यालयहरुको स्थापना र सञ्चालनको परिकल्पना पनि त्यसरी नै गरिएको थियो । जसरी माछाले नदीमा जीवन पाउछ, हाम्रा बालबालिकाले पनि विद्यालयबाट जीवन पाउनेछन् भन्ने सोचिएको थियो । माछाले नदीबाट झै बालबालिकाले विद्यालयबाट शान्ति, शीतलता र प्रशन्नता पाउने छन् भन्ने समेत अनुमान गरिएको थियो ।

तथापि समय घर्किदै जाँदा कतिपय बालबालिकालाई विद्यालय नदी जस्तो हुन नसकेको महसुस भइरहेको छ । साना–ठूला र थरिथरिका माछा एवम् अन्य सबै जलचर प्राणीहरुका विकासका लागि जसरी नदी एउटा साझा थलो हुन सकेको छ त्यसरी नै सबै बालबालिकाको विकासका निम्ति विद्यालयहरु साझा थलो हुन सकेनन् भन्ने टिकाटिप्पनीहरु टोलछिमेक र चियापसलहरुमा चर्को रुपमा उठिरहेको अवस्था छ ।

नदीमा माछा रमाए झै गरी बालबालिकाहरु विद्यालयमा रमाउन सकिरहेका देखिदैनन् । सबै थरिका माछाले नदीबाट झै सबै थरिका बालबालिकाहरुले विद्यालयबाट जीवन पनि पाउन नसकेको गुनासो सर्वत्र सुन्न, देख्न र भोग्न परेको स्थिति घाम जत्तिकै छर्लङ्ग छ ।

कतिपय बालबालिकाका निम्ति हाम्रा विद्यालयहरु नदीजस्ता हुन पर्नेमा त्यसो हुन नसकी नहर जस्ता भएका छन् । नदीमा झै नहरमा जसरी पवित्र र कञ्चन पानी, फराकिलो र गहिरो स्थान एवम् सुरक्षित र दीर्घ जीवन हुदैन त्यसरी नै हाम्रा विद्यालयहरु पनि बालबालिकाका उन्नति र प्रगतिका लागि उपयुक्त थलो हुन नसकिरहेको स्थिति देखिन्छ ।

यतिमात्र नभइ कतिपय प्रतिभाशाली बालबालिकाहरुले त नहरमा ठूला माछाले झै नाजूक स्थिति भोग्नु पर्ने अवस्था छ । उनीहरुको सिर्जना, उत्सुकता, टोल्लाउने र एकोहोरिएर कुनै विषयवस्तुमा घोत्लिने बानी विद्यालयहरुका निम्ति असहिष्णुताको विषय बन्ने गरेको छ र त्यस्ता बालबालिकाहरु विद्यालयहरुबाट सम्मानित र पुरष्कृत होइन कि अपमानित र दण्डित हुने गरेको पाइन्छ ।

घोक्ने र आदेशको अक्षरशः पालना गर्ने बालबालिका जसरी विद्यालयमा प्रशंसाको पात्र हुने गरेका छन् त्यसरी नै सिर्जना र अन्वेषणमा आफ्नै किसिमले बाटो तय गरी रमाउने बालबालिकाहरु प्रशंसाका पात्र हुन सकिरहेका छैनन् । त्यसैले कतिपय बालबालिकाका लागि पीडादायी भएका छन् विद्यालयहरु ।

खुशी, शान्ति र सिर्जनाका द्योतक हुन सकेका छैनन् विद्यालयहरु । कतिपय बालबालिकालाई लाग्ने गर्दछ, माछाले झै खुशी, शान्ति र सिर्जना खोज्न नदीतिर होइन कि नहरतिर लागिरहेका छौं र अन्ततः पीडा, पछुतो र विनास पाइरहेका छौं ।

साहित्यकार अमर न्यौपानेको भाषा सापटी लिएर भन्नुपर्दा जुन विद्यार्थीले अरुका कुरालाई रेकर्डरले जस्तै दिमागमा राम्ररी राख्न सक्छ, त्यस्तालाई विद्यालयले उत्तम भन्छ, जसले राख्न सक्तैन उसलाई खत्तम भन्छ । मानौं कुनै जमीनमा तीस फिट खनेपछि पानी निस्किन्छ र इनार बन्छ । हाम्रो शिक्षा र हाम्रा विद्यालयहरुले बढीमा बीसपच्चिस फिट खन्छन् र बाहिरबाट शिक्षाको पानी हालेर त्यसैलाइ्र्र इनार बनाउछन् ।

त्यस्तो इनारले पानी दिदैन पानी सोस्छ मात्र । पानी सोस्यो भनेर प्लाष्टर गरेर पानी नसोस्नेसमेत बनाइन्छ । जहाँ बाहिरबाट हालिएको शिक्षाको पानी जमेर बस्छ । जमेपछि केही समयपछि पानी फोहोर पनि हुन थाल्छ । त्यो कृत्रिम इनारले भ्यागुता र सर्प पनि पाल्न थाल्छ । त्यहाँ लेउ जम्न थाल्छ । थप दशपन्ध्र फिट खन्न सके त अविरल स्वच्छ पानी दिने प्राकृतिक इनार प्रत्येक विद्यार्थीभित्र पहिल्यैदेखि तयारी अवस्थामा छ ।

जसरी माछा गहिरो नदी र सागरमा रमाउछ त्यसरी नै बालबालिकालाई पनि उनीहरुको इच्छा, प्रतिभा, क्षमता र आवश्यकताको अन्वेषण गरेर तदनुरुप नै त्यसको गहिराइसम्म पु¥याउन सकियो भने बालबालिकाहरु पनि रमाउछन् । उनीहरुका भावना, रुचि र क्षमताको सम्बोधन र सम्बद्र्धन गर्दै अघि बढ्न सकियो भने गहिरो गरी इनार खन्दा इनारबाट पानी आफै उम्रिए झै सिकाइ कार्य स्वचालित किसिमबाट अगाडि बढ्छ । सिकाइ स्वचालित हुन सक्यो भने शिक्षकले पाइलैपिच्छै पछ्याउदै निर्देशन र सुझाव दिइरहनु जरुरी हुदैन ।

सिकाइ कष्टकर र पीडादायक पनि हुदैन । बरु सिकाइ रुचिकर र स्वाभाविक हुदै जान्छ । थोरै खनेर बाहिरबाट पानी जम्मा गरी इनार बनाउने नाममा दुर्गन्धित पानीमा सर्प र भ्यागूता पाले झै गरी सिकाइको नाममा बालबालिकाहरुमा विकृति र विसङ्गतिहरु पनि देखिदैनन् ।

बरु सिकाइ नदी जस्तै स्वच्छ, पवित्र र कञ्चन हुदै अघि बढ्छ । जसरी नदीको उही स्थानमा उही पानीलाई दोहो¥याएर छुन मिल्दैन त्यसरी नै स्वचालित सिकाइमा पनि बासी कुरालाई घोकिरहनु पर्दैन । सिकाइ सिर्जनामा रुपान्तरण भएर कलकल बगिरहन्छ नदीको पानी झै ।

विद्यालयहरुलाई नदी र समुद्र जस्तै कञ्चन र पवित्र बनाउन सकिन्छ । माछालाई नदी मन परे झै विद्यार्थीहरुलाई पनि विद्यालय मन पराउने बनाउन सकिन्छ । नदीमा माछा खुशी र आल्लादित भए जस्तै विद्यालयमा पनि विद्यार्थीहरुलाई खुशी र आल्लादित बनाउन सकिन्छ । यसका लागि विद्यालय विद्यार्थीहरुको हो भन्ने कुरा कसैले पनि विर्सनु हुदैन । विद्यालयमा जे गरिन्छ त्यो सबैको केन्द्रविन्दू विद्यार्थीहरुलाई बनाउनु पर्दछ ।

विद्यार्थीहरुलाई मन नपर्ने अनुहारहरुले विद्यालयमा प्रवेश पाउनु हुदैन । भय, त्रास र अपमानलाई विद्यालयमा निषेध गरिनुपर्दछ । विद्यार्थीहरुलाई विगार्ने र उनीहरुलाई मन नपर्ने कुनै पनि व्यवहारले विद्यालयमा चलखेल गर्न पनि पाउनु हुदैन । विद्यालयमा सर्वप्रथम विद्यार्थी देवो भवःको आरम्भ गरिनुपर्दछ ।

विद्यार्थीका विशिष्ट व्यवहारहरुलाई सिंहावलोकन गर्दै उचित विकासका लागि मार्गप्रशस्त गरिनुपर्दछ । विद्यार्थीहरुका आनीबानी, रुचि, प्रतिभा र क्षमताहरुको गहिराइमा पुगेर विश्लेषण र संश्लेषण गरिनुपर्दछ । विद्यालयमा विद्यार्थीहरुको सेवकको रुपमा काम गर्नका लागि नियुक्त शिक्षक लगायत जोकोहीले पनि विद्यार्थी माथि शासन गर्ने प्रथाको पूर्ण रुपमा अन्त गरिनुपर्दछ ।

परिवर्तनका आभासहरु यसरी महसुस हुदै गए भने नहर र दुर्गन्धित इनार जस्ता लाग्ने विद्यालयहरु क्रमशः नदी र समुद्रमा रुपान्तरण हुदै जानेछन् । सबैलाई चेतना भया ।