२०७७ मंसिर ९, मंगलवार

आमा, आमा र आमा

म आफू भर्भराउदो उमेरको छँदा एउटा लोकगीत रेडियोमा बजिरहने गथ्र्यो – भीरमा लक्र्यो खर, जाँ लान्छ कर्मले उही हो मेरो घर । साँच्ची मलाई पनि त्यस्तै लाग्थ्यो र लागिरहेको छ अहिले पनि । वास्तवमै मेरो घर कहाँ हो ? मेरो ठेगाना कहाँ हो ? नागरिकतामा लेखेको ठीक हो वा म जहाँ बसेर बाँचिरहेको छु त्यो ठीक हो ? त्यो उत्सुकता अहिले पनि मेटिएको छैन र त्यो द्विविधाको कथा अहिले पनि जारी छ ।

jitbahadur shahaनागरिकतामा जहाँ मेरो ठेगाना र थात्थलो लेखिएको छ त्यहाँ मलाइ वर्षमा एकाधपटक पनि पाइला टेक्ने अवसर मिल्दैन । जहाँ म प्रत्येक दिन घुमफिर गरिरहेको छु र आफ्नो बासस्थान र थात्थलो सम्झिएर बसिरहेको छु त्यो मेरो नागरिकतामा लेखिएको ठेगाना होइन । वा भनौं म त्यहाँको नागरिक होइन र लाग्छ एकादेशमा वर्षौसम्म मैले एउटा अनागरिकको जीवन बाँचिरहेको छु ।

जहाँ जसरी बाँचे पनि र जहाँ जसरी बसे पनि एउटा नबिर्सिने चिज रहेछ, आमा । आपूm जन्मेको थात्थलोमा पाइला टेक्ने अबसर नमिले पनि त्यही थात्थलोमा बसिरहेकी बुढेसकालकी आमालाई सम्झिँदा भने सारा संसार भुलेर आफू जन्मेकै थात्थलोमा बुर्कुसी मारेर पुगूँ जस्तो लाग्छ । तथापि पुगुँ जस्तो लाग्नु र पुग्नुमा धेरै फरक पर्दो रहेछ ।

ममतामयी आमाको प्रसङ्ग उठ्दा अन्तर्राष्ट्रिय कोच नरबहादुर कार्कीले सहजीकरण गरेको एउटा क्षणको सम्झना अपलक आइरहन्छ । सुर्खेतको जन माध्यमिक विद्यालयको प्राङ्गणमा टेण्टको व्यवस्था गरेर टेण्टमुनी करीव तेह् सय जति मानिसहरु चुपचाप आँखा चिम्लिएर बसिरहेका थिए ।

पृष्ठभूमिमा ‘कहिले भेट होला है राजै यो जिन्दगानीमा’ भन्ने गीतको सुमधुर धून बजिरेहको थियो । कार्कीसर विस्तारै सुमधुर धून सँगै भनिरहनु भएको थियो –‘आमा मेरो निम्ति तपाइले धेरै गर्नु भयो । मलाई जीवन दिनुभयो । मेरो खुशीको निम्ति आफ्नो खुशीको पर्वाह गर्नु भएन । मेरो खुशीलाई नै आफ्नो खुशी ठानेर सारा जीवन मेरो निम्ति समर्पित गनुभयो । तपाइले त्यसरी एकोहोरो खुशी दिइरहदा पनि मबाट निर्वाह गर्नुपर्ने धेरै भूमिकाहरु अधुरा रहे … …।’

कार्कीसरका शब्द र भावनाहरु सुमधुर सङ्गीतसँगै तरङ्गित भइरहँदा जन्म दिने आमा सम्झेर धेरैका मनहरु पग्लिए । आँखाहरु रसाए । बिशाल उपस्थितिको बीचबीचमा आफूलाई सम्हाल्न नसकेर सहभागीहरु घुक्क घुक्क रोएका आवाजहरु हावामा सल्बलाउदै मेरो कानसम्म आइपुगे । मेरो छेउमा बसिरहेकी शान्ता म्याडम पनि त्यतिबेला आफ्नो आमाको सम्झनामा भक्कानिएर रोइरहनु भएको थियो ।

शान्ता म्याडम माध्यमिक तहको प्रथम श्रेणीमा पुगेर सेवानिवृत्त हुने समयको नजीक आइपुगेको शिक्षिका हो । सरसर्ती हेर्दा पेशामा असन्तुष्ठी र गुनासो केही पनि छैन । आमाको कुरा गर्दा भने वहाँका नयनहरु आँशुले भरिएर आउछन् । वहाँको आमा अहिले पनि हुनुहुन्छ । पहिले पहिले आमा कहाँ जतिपटक जाँदा पनि वहाँलाई ‘के छ छोरी ? कस्तो छ तँलाई ?’ भनेर सोधिरहनु हुन्थ्यो । अहिले भने सोध्नु हुदैन ।

सोध्ने त के चिन्नु पनि हुदैन । जीवनका सवै कुरा विर्सिने अल्जाइमर नामको रोग लागेको छ वहाँकी आमालाई । माया गरे पनि थाहा पाउनु हुन्न आमाले र म हजुरको छोरी हुँ भने पनि थाहा पाउनु हुन्न आमाले । शान्ता म्याडमलाइ यसैमा पछुतो छ । आँशु पुछ्दै शान्ता म्याडम भन्नु हुन्छ –‘आमाले बोध गर्दा सम्म मैले जे गर्नु पर्ने हो त्यो गर्न सकिन ।

अहिले गर्न चाहान्छु तर आमाले मलाई छोरी भनेर न त महसुस गर्न सक्नुहुन्छ न त आफ्नी छोरी भनेर पहिचान नै गर्न सक्नुहुन्छ ।’ विधिको बिडम्बना नै यस्तै रहेछ, बरु यस्तो रोग त सन्तती राम्रा नभएर पीडामा बाँच्नु परेकी आमालाई लागेको भए बाँच्न केही सजिलो हुन्थ्यो होला । भनेको जस्तो प्रगति गरेकी छोरीको आमालाई खुशीले गद्गद् हुने समयमा साँच्ची यस्तो रोग किन लागेको होला ?

सहजकर्ता नरबहादुर कार्कीको त्यो सेसनमा सहभागी धेरैले आमालाई सम्झिए । आमा दिवंगत भइसकेकाहरुले आमासँग आमाको निम्ति गर्न नसकेका अनगिन्ति कर्मका निम्ति क्षमा माग्दै ‘हजुरको आशिर्वादले गर्दा म खुशी छु, मेरो पीर लिनु पर्दैन आमा’ भनेर आमाको मृत आत्मासँग भलाकुसारी गरे ।

आमा भएकाहरुले त्यही दिन घरमा गएर आमासँग आमाको प्रसंशा गर्दै खुशी साटे । आमा देखि टाढा भएकाहरुले मोवाइल र टेलिफोनमै भए पनि जन्मदिने आमासमेत जीवनमा पहिलो पटक दङ्ग पर्ने गरी आमासँग भलाकुसारी गरेर खुशी साटे । यो पङ्तिकारले पनि त्यो प्रयास ग¥यो । तथापि आमासँग कुुरा हुन सकेन । आमाको मोबाइल स्वीच अफ थियो ।

नजीकमा भएका अरुहरुको फोनमा पनि सम्पर्क हुन सकेन । सायद दिनदिनै छोराछोरीको फोन आउने भए आमाको मोबाइल स्वीच अफ पनि हुदैनथ्यो होला भन्ने वास्तविकताको आँकलन गर्दै मैले आफ्ना कमीकमजोरीहरु करेक्सन गर्नुपर्छ भन्ने महसुुस गरें ।

कुरा बुझ्दै जाँदा महसुस पनि हुदै गयो कि सन्ततिको खुशीका निम्ति जस्तोसुकै चुनौति र कठिनाइको सामना गर्न पनि पछि नपर्ने एउटी महान आमाको महत्वलाई बुझ्न नसक्ने सन्ततिले अरु कसैको पनि महत्वलाई बुझ्न सक्दोरहेनछ । आमालाई माया गर्न नसक्ने ब्यक्तिले अरु कसैलाई पनि दिल खोलेर पवित्र माया पनि गर्न सक्दोरहेनछ ।

धेरै व्यक्तिका पत्नीहरुले आफ्नो पतिले उसको जन्मदिने आमालाई भन्दा आफूलाई बढि माया गरोस भन्ने पनि यदाकदा चाहना राख्दा रहेछन् । तथापि यो कुरा कहिल्यै सम्भव हुदोरहेनछ । यथार्थ त यो रहेछ कि आफूलाई हुर्काउनका लागि सम्पूर्ण कुरा समर्पित गरेकी एकजना महिला अर्थात आमालाई माया दिन नसक्ने ब्यक्तिले अरुलाई माया दिन्छ भन्नु दिवासपना भन्दा अरु केही हुँदोरहेनछ ।

आफ्नो आमालाई माया नगर्ने व्यक्तिले आफ्नी पत्नीलाई त्यतिबेलासम्म माया गरेको बहाना गर्दछ जतिबेलासम्म उसले त्यो भन्दा राम्रो पाउन सक्दैन । त्यसैले हरेकका पत्नीहरुले आफूलाई सच्याएर बुझ्न आवश्यक छ कि जसले आफ्नी आमालाई अगाध माया गर्छ त्यसले आफ्नी पत्नीलाइ पनि त्यत्तिकै अगाध माया गर्न सक्छ । त्यसैले आफूलाई भाग्यवती बनाउन चाहने हरेक पत्नीहरुले आफ्नी आमालाई माया गर्ने पति खोज्नु जरुरी छ न कि आफूलाई मात्र माया गर्ने ।

भनाइ पनि छ, परिवारमा एकजना पुरुष शिक्षित भयो भने उ मात्र शिक्षित हुन्छ तर परिवारमा एकजना महिला अर्थात आमा शिक्षित भइन भने परिवारका सारा मानिसहरु शिक्षित हुने गर्दछन् । यो भनाइभित्रको महत्वलाई आत्मसात गर्ने हो भने छोरी, बुहारी र आमाहरुलाई शिक्षित र चेतनशील बनाउनका लागि एउटा महाअभियान आरम्भ गर्नुको अर्को विकल्प देखिदैन ।

जति कोशीस गर्दा पनि छाउपडी, बालबिबाह, बोक्सी लगायतका कुप्रथा र सामाजिक भेदभावहरुको अन्त हुन नसक्नुको पछाडि हाम्रा आमा दिदीहरु शिक्षित र चेतनशील हुन नसक्नु एउटा महत्वपूर्ण कारण हो । आफ्ना सन्ततीलाई शिक्षादिक्षा नदिँदा र उनिहरुको बालबिबाह गरिदिंदा हुन सक्ने पीडाहरुको बारेमा एउटी आमाको दिलमा प्रकाश पार्न सकियो भने मलाइ त लाग्छ आफ्नो सन्ततीहरुको भविष्यमा कालो पोत्ने गरी उनिहरुलाई शिक्षा दिनबाट बञ्चित गर्ने र बालबिबाह गर्नका लागि हौस्याउने काम कुनै पनि आमाबाट झुक्किएर पनि नहुने कुरामा सतप्रतिसत विश्वास गर्न सकिन्छ ।

आमाबाट निर्वाह गरेका भूमिकाहरुले भरिएका गौरवका गाथाहरु संसारभरि भेटिन्छन् । एउटी आमा आफ्नो कारणले आफ्नो सन्ततीले कतै दुःख र पीडा नपाओस् र कतै बेइज्जत र अपमानको पनि सामना गर्न नपरोस भन्ने कुरामा सधैं सचेत हुन्छिन् । संसारमा आफ्नो सन्ततीले अरुबाट पराजय भोग्नु परेको सन्दर्भ कतै पनि र कहिल्यै पनि देख्न चाहन्नन् आमा ।

आफूसँग सन्तति नहुँदा उनको घर त सफा होला, मन भने कहिल्यै पनि सफा हुन सक्दैन । सन्तति नहुँदा उनको पर्स त नरित्तिएला ह्दय भने सधै सधैं रित्तो हुने गर्दछ । त्यसैले पनि भनिन्छ –‘धर्तिमै छ सवै चीज खोजे मिल्छ घरि घरि, तर जन्म दिने आमा पाइदैन कसैगरी ।’

यस्तै अर्को पनि भनाइ छ – ‘एउटा असल र सफल पुरुषको पछाडि एउटी असल महिला र त्यसमा पनि एउटी असल आमाको हात हुने गर्दछ ।’ त्यसैले त आमाको कुरा गर्दा कतै पछुतोभावले त कतै आमाको अभावले हरेक मानिसहरुको मन पिरोलिने गर्दछ र कतै खुशी र गौरवले गद्गद् पनि हुने गर्दछ । साँच्ची आमाप्रति गरेका हरेक क्रियाकलापहरु सम्झदा हरेक सन्ततीहरुका निम्ति गर्वले छाती फूल्ने दिन कहिले आउने होला ?

आमालाई माया गर्नेहरु आफ्नो जन्मभूमि र आफ्नो देशलाई समेत माया गर्दछन् । जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी उनिहरुको जीवनको आदर्श हुने गर्दछ । त्यसकारण पनि मातृदेवा भवः, पितृदेवो भवः जस्ता आदर्शमा बाँचेको हाम्रो पूर्वीय दर्शन हाम्रो खुशीको महत्वपूर्ण स्रोत पनि हो ।

आफ्नो सारा भौतिक सम्पत्ति छोडेर नेपालमा आइ बसोबास गरेका फ्रान्सेली नागरिक माथुरी कार्ड सन् २००८ मा विश्वकै सवैभन्दा खुशी ब्यक्तिको रुपमा प्रमाणित भएपछि लाग्छ हाम्रो देश र हाम्रो दर्शन पनि खुशीका लागि कम उर्वर भन्न मिल्दैन । यत्ति हो कि हामीले हाम्रो पूर्वीय दर्शन र परम्परामा मानव मूल्यमा आधारित शिक्षाको पक्षमा र अन्धविश्वासमा आधारित परम्पराको विपक्षमा भूमिका निर्वाह गर्ने चेतनालाई अन्तरघुलन गर्दै आधुनिक प्रविधिलाई समेत आत्मसात गरी अघि बढ्न सक्नु पर्दछ ।

जन्म दिने आमालाई सम्मान गर्ने, आमाले आफूलाई जन्म दिएको धर्तिलाई सम्मान गर्ने र आमाले सिकाइदिएको भाषा र संस्कृतिलाई सम्मान गर्ने हाम्रो आदर्श बाँचिरहँदासम्म मलाइ त लाग्छ हामी कहिल्यै दुःखी पनि हुनु पर्ने छैनं र कसैको दास भएर पनि बाँच्नु पर्ने छैन । जन्म दिने आमा, जन्मेको धर्ति र आफ्नो भाषा संस्कृतिलाई आमा, आमा र आमा भनेर श्रद्धा र सम्मान गर्ने व्यक्तिले देशविदेश जहाँ गए पनि जीवनमा पछुतो र अपमान सहेर पनि कहिल्यै बस्नु पर्ने छैन, सवैलाई चेतना भया  ।