२०७७ माघ ११, आईतवार

माओवादी केन्द्रको सम्मेलन स्थगित, चैत्र ११ गते जनसभा गर्ने,प्रचण्डले सम्बोधन गर्ने

सुर्खेत, फागुन २१ । यही फागुन २१ र २२ गते हुने भनिएको नेकपा (माओवादी केन्द्र) सुर्खेतको जिल्ला सम्मेलन स्थगित भएको छ ।

moaist news 20 falgun photoकेन्द्रको परिपत्र अनुसार जिल्ला सम्मेलन स्थगित भएको नेकपा (माओवादी केन्द्र) सुर्खेतलले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । जिल्ला सम्मेलनको तयारीका लागि माओवादी केन्द्रले जिल्लाको सिम्ता गाउँपालिका बाहेक अरु सबै नगरपालिका र गाउँपालिका तथा तिनका वडाहरुको सम्मेलन सम्पन्न गरेको थियो ।

पत्रकार सम्मेलन गरी माओवादी केन्द्रले अब जिल्ला सम्मेलनको सट्टा जनसभा, कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । चैत को ११ गते आयोजना गरिने जनसभा, कार्यकर्ता भेला तथा प्रशिक्षणमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बोधन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला संयोजक कृष्ण जिसीले स्थानीय तहको निर्वाचनको घोषणा भएकोले सम्मेलन स्थगित गरेर निर्वाचनमा केन्द्रित भएको बताए । उनले पार्टीका गतिविधिहरुको बारेमा जानकारी दिदै आफूहरु निर्वाचनमा होमिएको बताए । उनले सोही निर्वाचनलाई सहयोग हुने र संविधान कार्यान्वयनलाई सहयोग गर्ने गरी सुर्खेतमा चैत्र ११ गते जनसभाको आयोजना गरिएको बताए ।

पत्रकार सम्मेलनमा संयोजक जिसीले जिल्लाका सबै नगरपालिकार गाउँपालिकाहरुका वडाहरुमा आफूहरु पुगेर संगठन सुदृढिकरण गरेको भन्दै यो अवधिमा यस अघि विभाजित हुनुका साथै निष्कृय भएका गाउँका कर्यकर्ताहरु र अन्य राजनीतिक दलहरुमा प्रवेश गरेका कार्यकर्ताहरु आफ्नै पार्टीमा फर्किएको बताए ।

माओवादी कै एजेण्डाहरु संविधानमार्फत आएकोले तिनै कुराहरु लिएर गाउँमा जाँदा जनताहरु खुसी भएको भन्दै अबको निर्वाचन आफ्नो पक्षमा पार्नका लागि रणनीतिहरु तयार गरिएको संयोजक जिसीले बताए ।

अब हुने स्थानीय तहको निर्वाचनको लागि माओवादी केन्द्रले उम्मेदवार छनौटका लागि समेत प्रारम्भीक सर्वेषण सुरु गर्ने जनाएको छ । समावेशी सिद्धान्तका आधारमा लोकप्रीय र सक्षम उम्मेदवारहरु छिट्टै सार्वजनिक गरिने माओवादी केन्द्रले जनाएको छ । यसका लागि केही सूचकहरु तयार गरिएको र सबैभन्दा बढी सूचक पुरा भएका उम्मेदवारहरु छनौट गरिने माओवादीले जनाएको छ ।

यस पटक माओवादीले निर्वाचन आफ्नो पक्षमा पार्न र उम्मेदवारको सुरक्षाका लागि पूर्व लडाकुहरु र सहायक संगठनका रुपमा रहेको योङ्ग कम्यिुनिष्ट लीग (वाइसिएल) लाई परिचालन गर्ने जनाएको छ । सुर्खेतमा अहिले ७ सय ५० जना पूर्व लडाकु रहेको भन्दै माओवादीले उनीहरुलाई निर्वाचनमा परिचालन गर्ने निर्णय गरेको छ ।

त्यसका लागि महिला पूर्व लडाकुहरु र पुरुष पूर्व लडाकुहरुको संगठनहरु पनि निर्माण गरिएको माओवादी केन्द्रले जनाएको छ । निर्वाचनका लागि माओवादी केन्द्रले नगरपालिका र गाउँपालिकाका वडाहरुमा पनि वाईसिएल गठन गरेको छ ।

यसैबीच माओवादीले जल्लामा पार्टी संगठनलाई तल्लो तहदेखि नै चुस्तदुरुस्त बनाएको छ । गाउँपालिका र नगरापलिका तथा तिनका वडाहरुको सम्मेलनका क्रममा काँग्रेस र एमालेबाट ९ सय जना माओवादी केन्द्रमा प्रवेश गरेको जनाएको छ । त्यसमध्येमा ३१ जना नेकपा (एमाले) का संगठित सदस्यहरु, १७ जना नेपाली काँग्रेसका त्रिलयाशिल सदस्यहरु र बाँकी ती दुई दलका शुभचिन्तकहरु भएको माओवादी केन्द्रले जनाएको छ ।

यस्तै माओवादी केन्द्रले नयाँ संविधानको मर्म अनुसार जिल्लाका तीन वटा प्रस्तावित काउँपालिका, पाँच वटा नगरपालिका समिति र ८८ वटा वडा समितिहरु गठन गरेको छ । जसमा जम्मा सदस्यहरु दुइ हजार दुइ सय २० रहेका छन् । यस्तै तीन हजार ८ सय १३ जनाले पार्टी सदस्यता नविकरण गरेको माओवादी केन्द्र सुर्खेतका संयोजक जिसीले जानकारी दिए ।