२०७७ माघ ४, आईतवार

मेरो मनको मन्दिरमा माग्ने मान्छेहरु

jitविश्वविख्यात साहित्यकार लियो टाल्सटायसँग एकजना देख्दैमा खाइलाग्दा युुवक गएर भनेछन् – ‘म गरीव छु । मेरो केही छैन । बिहान बेलुका हातमुख जोड्न धौ धौ भयो ।

त्यसैले जति हुन्छ दिएर म गरीव माथि दया गर्नु प¥यो हजूर ।’ उक्त मान्छेका कुरा सुनेपछि लियो टाल्सटायले मुस्कुराउदै भनेछन्– ‘कसले भन्यो तिमीलाई गरीव ? यति सम्पन्न र धनी मानिसलाई गरीव भन्ने मान्छे नै गरीव होला । तिमी त कुनै हालतमा पनि गरीव छैनौ ।’ टाल्सटायका कुरा सुनेर उक्त माग्ने युवकले आँखा भरि आँशु पार्दै ‘हैन हजूर म धनी होइन, मेरो केही छैन, म गरीव हुँ’ भनेर आफ्नो कुरा फेरी दोहोराए ।

टाल्सटायले थप कुरा यसरी राखे – ‘तिमी जरुर पनि धनी ब्यक्ति हौं । तिम्रो एउटा आँखालाई मात्र धेरै पैसा पर्न सक्छ । तिम्रो दुइटा आँखा, दुइटा हात र दुइटा खुट्टाको जम्मा मूल्य त एक करोड भन्दा बढि पर्ने देखिन्छ । तिम्रा यी महङ्गा अङ्गहरु के के दिन सक्छौं ? मलाई देउ र एक एक हिसाव गरेर लैजाउ ।’ त्यसपछि भने उक्त युवक अवाक भएर बाटो लागेछन् । कतिपय खाइलाग्दा माग्ने मानिसहरु देख्दा मलाई लियो टाल्सटायको जीवनमा घटेको उक्त घटनाको याद आउने गर्दछ ।

कतिपय विदेशी पर्यटकहरु बाक्लोसँग हिडडुल गर्ने हाम्रो देशका शहरहरुमा उनिहरुको पछि पछि लागेर माग्दै जीवन निर्वाह गर्ने मानिसहरुको भीड पनि बाक्लै देखिन्छ । ती मगन्तेहरु अघि पछि लाग्दै माग्ने क्रममा पर्यटकहरुको गन्तव्यमा समेत बाधा भइरहेको कुरा उनिहरुका अनुहारहरुको भाव देख्दा स्पष्टै महसुस हुन्छ । सायद उनिहरुले मागेर खाने यस्तो बानी मन पराउदैनन् क्या रे । नेपालमा यस्ता माग्ने मान्छेहरु हुन्छन् भन्ने कुराको हेक्का राखी उनिहरुसँग त्यस्तालाई दिनुपर्छ भनेर बजेटको योजना पनि हुदैन क्या रे ।

चाहे थोरै किन नहोस्, योजना बिना बजेट खर्च गर्दा अप्ठ्यारो त पर्छ नै । त्यही भएर होला, माग्ने मानिसहरुलाई रकम दिनु पर्दा उनिहरुको मन कत्ति पनि खुशी हुदैन । गोरो अनुहार पनि अँध्यारो भइरहेको हुन्छ । ती गोराहरुको अनुहार त अध्यारो हुने नै भयो । ती सवै दृश्यहरु देख्दा म गहुँगोरोको अनुहार पनि झनै अँध्यारो हुन्छ । हाम्रो यो मगन्ते पाराले हाम्रो देशको इज्जत र प्रतिष्ठा कहाँ पुग्ने होला ? के इज्जत धान्ने ठेक्का सगरमाथा र लुम्बिनीको मात्रै हो त ? यो मनमा यस्तै भावनाले प्रवेश गर्ने वित्तिकै मनमा भएको अलिकति शान्ति र अनुहारमा भएको अलिकति कान्ति पनि क्षणभरमै विलय भएको पत्तै हुदैन ।

पर्यटकहरु मात्र होइन माग्नेहरुबाट यो पङ्तिकार पनि बिलखबन्दमा नै छ । म कहाँ आउने माग्नेहरु पर्यटकहरुसँग माग्ने भन्दा अलि फरक हुन्छन् । अलि शक्तिशाली र सशर्त प्रकृतिका हुन्छन् । एकथरी पहेला बस्त्र धारण गरेर जोगीको भेषमा आउनेहरु हुन्छन् । उनिहरुलाई मागेजति दिएपछि खुशी हुन्छन् र खुशी भएकै अवसरमा यो पङ्तिकारको भाग्य र भविष्य जस्तो भएपनि राम्रो भनेर जान्छन् ।

खुशी हुने गरी नदिने हो भने अँध्यारो अनुहार बनाएर तेरो भाग्य र भविष्य ठीक छैन भनेर अपशब्द बोल्न पनि बेर लगाउदैनन् । आफूलाई देवताका अवतार भन्न रुचाउने यी जोगीहरुलाई मागी खाने जीवन प्रदान गरेको कसले हो ? देवताले कि मानिसले ? मागी खाने यिनीहरुको मनसाय नै हो भने किन बेइज्जत गर्छन यिनीहरु देवताको ? यदि यिनीहरु देवताकै नजीकका हुन भने दुनियाले माग्ने वित्तिकै तथास्तु भनेर इच्छा पूरा गर्न सक्ने ताकत भएका भनिएका देवताले आफ्ना नजीकका जोगीहरुलाई नै दुनियाका दैला दैलामा गएर मागेर खाने हुतिहाराको जीवन किन दिएका होलान ? देवीदेवताको पछि लागेर माग्नेको जीवन बाँच्नु पर्ने हो भने किन लाग्नुप¥यो यिनीहरुको पछि ? हामी माग्ने भन्दा माथि उठ्न नसकेको कारण कतै तेत्तीस कोटी देवीदेवताकै कारणले त होइन ? तर्कना गर्दा यस्ता खाले धेरै कुराहरु पनि यो मनमा खेल्ने गर्दछन् ।

मसँग आउने अर्को खाले माग्नेहरु भने पहेलो बस्त्र धारण गर्ने भन्दा अलि शक्तिशाली प्रकृतिका हुन्छन् । उनिहरु अर्को जूनी भन्दा यही जूनीमा हेरौंला भन्ने किसिमका हुन्छन् । माग्न आएपनि अनुनय विनयको भाषा नबोली रवाफ र धाकधम्कीको भाषा बोल्छन् उनिहरु ।

हाम्रो सरकार भयो भने तपाइलाई हेर्न सक्छौं भन्छन् उनिहरु । वा भनौं हामी सरकारमा छौं त्यसैले हेर्न सक्छौं भन्छन् । त्यति छिटै सरकारमा जाने सम्भावना नभएकाहरु भने भोलि तपाईलाई कतै बक्रदृष्टिले हेर्न नपरोस भन्छन् उनिहरु । जे होस् जति ने भने पनि उनिहरु माग्ने नै भए तापनि यस्ता माग्नेहरुका अघि बरु उल्टै आफूले अनुनय विनय गर्नु पर्ने हुन्छ । यस्ता माग्नेहरुको त छुट्टै रवाफ र सान हुन्छ ।

मानौं कि मेरो बाउबाजेले उनिहरुका बाउबाजेको ऋण खाएर चुक्ता गर्न नसकेको कारण मसँग माग्न आएका हुन । कहिलेकाही त मानव ढाल बनाएर या भनौं नाबालकलाई बन्धक बनाएर फिरौतीको माग गर्ने मगन्तेहरु पनि यस्तैका विकसित रुप हुन कि झै लाग्ने गर्दछ । देशलाई बन्धक बनाएर सत्ताको खेल खेल्दै सत्ताको कुर्चीमा बस्ने समय लम्ब्याउनलाई अमुक शक्तिसँग अमुक कुराको माग गर्नेहरु पनि अन्ततः यसैका विकसित स्वरुप हुन जस्तो लाग्न थालेको छ ।

माग्नेको तर्फबाट बहस गर्दा माग्नु रहर नभएर बाध्यता होला । तथापि विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा माग्नु पराधिनता हो । माग्नु स्वाभीमानलाई बेच्ने निर्णयका साथ चालिएको कदम हो । यो कदम सधैं आत्मनिर्भरताको विरुद्धमा हुने गर्दछ । माग्नु र स्वाधीनता अनि माग्नु र आत्मनिर्भरता यी शब्दहरु अर्थको हिसावले एकअर्कासँग विपरित देखिए पनि कतिपय माग्ने मान्छेहरु भने समाज र देशलाई आत्मनिर्भर अनि स्वाधीन बनाउनका लागि माग्न हिडेको पनि कुरा गर्छन् ।

मलाई यस्ता कुतर्क सुन्दा कुती जाने काँशीको बाटो भने झै लाग्दछ । स्वाधीन, स्वाभीमान र आत्मनिर्भर हुन चाहने मानिसहरु परिश्रममा विश्वास गर्दछन् । आयआर्जन र आर्थिक उत्पादनको बाटोमा लाग्दछन् । यस्ता मानिसहरु सिकाइको क्रममै विद्यालय र विश्वविद्यालयका कक्षाबाटै उत्पादन र सिर्जनासँग जोडिने उपाय र विकल्पहरुको खोजी गर्दछन् । सिकाइलाई जीवनसँग गाँस्दै सिकाइको उपयोगिताको खोजी गर्दछन् । थाहा छैन आगजनी र जिन्दाबाद–मूर्दाबादको बिचबाट यस्तो सिकाइको सिर्जना गर्न सकिन्छ कि सकिदैन ?

जापानको हिरोसिमा र नागासाकीमा सन् १९४५ मा बम खसालेर ध्वस्त बनाउने अमेरिकाका विरुद्धमा बम बर्षाउने योजना जापानको कहिल्यै भएन । त्यतिबेला खरानी भएको जापानलाई उर्वर बनाउनका लागि जापानीहरु ज्यानलाई हत्केलामा राखेर विभिन्न किसिमका समस्या र विभिन्न देशका नाकाबन्दीका विरुद्धमा पनि निरन्तर अघि बढे ।

उत्पादन र व्यवस्थापनमा ‘डू अर डाइ’को नवीनतम् सिद्धान्त ‘काइजान’लाई अक्षरशः कार्यान्वयन गरे । परिणामस्वरुप जापान कुनै बेला खरानी भएको देशको रुपमा अव बाँकी रहेन । जापानले एक्काइसौं शताब्दीको अति विकसित र अति सम्पन्नशाली देशको रुपमा आफूलाई उभ्याउन सफल भयो । आज अमेरिकाको हवाइट हाउसका कोठा र कार्यकक्षहरु समेत जापानका उत्पादनहरुले सजाइएको अवस्था छ ।

मलाइ त लाग्छ जापानले अमेरिकाका विरुद्धमा कहिल्यै पनि बम र गोलाबारुदले युद्ध नछेडे पनि अमेरिकी बजारमा जापानी सामानको प्रचूरता हुनु भनेको त्यो भन्दा पनि ठूलो युद्धमा बिजय प्राप्त गर्नु हो । हामी माग्ने प्रबृत्तिलाई जीहजुरी गरेर आत्मसात गरिरहेका मानिसहरु जापानले अङ्गिकार गरेको बाटो अपनाउने त के, त्यसको कुरा गर्न समेत लाज लाग्ने भइसकेको अवस्था छ ।

जीवनसंगिनी पद्मा म्याडमले सिकाइमा सहजीकरण गरिरहेका दुइजना साना विद्यार्थीहरुले म्याडम नभएको मौका छोपी एक आपसमा झगडा गर्न शुरु गरेछन् । म्याडम आउदा पनि उनिहरुको झगडाको अन्त्य भएको थिएन । म्याडमले अलि ठूलो स्वरमा तिमीहरुले किन झगडा गरेको भन्दै न्यायनिसाफको कठघरामा उभ्याउदा रिसले आगो भइरहेको विद्यार्थीले भन्दै थिए – ‘मलाई त्यसले किन भिखारी भन्यो ? के त्यसले भिखारी भने पनि मैले सहेर बस्ने ?’ मलाई उक्त सानो विद्यार्थीको कुरा मन प¥यो । मलाई त्यतिबेला उ बोलिरहेको छैन कि उभित्रको स्वाभिमान बोलिरहेको छ झै महसुस भयो ।

साना विद्यार्थीहरुमा भएको यो स्वाभीमानलाई कसरी जोगाउने होला भन्ने पिरलोले केही समय त बेचैन बनायो । गाउँटोलदेखि सिंहदरबारसम्म असरल्ल फैलिएको हाम्रो मगन्तेपनबाट जोगाएर उनिहरुमा भएको यो स्वाभीमानको बीउलाई आन्मनिर्भरतामा रुपान्तर गर्दै कसरी हुर्काउने होला ? आजका बालबालिकाहरुमा आजका मगन्तेहरुको होइन कि हिजोका ‘म बाघको डमरु हुँ मलाई सिनो खाने कुकुर नसम्झ’ भन्ने बाजेहरुको बिरतालाई साच्ची कसरी सार्ने होला ?

कतिपयले भन्छन् माग्नेलाई दिनु पनि एक प्रकारको सामाजिक सहयोग हो । म त भन्छु यो एक प्रकारको सामाजिक अपराध हो । सहयोगमा हार्दिकता हुन्छ । दिल पग्लेपछि मात्र सहयोगको सुभारम्भ हुन्छ । हिजोआजका माग्नेहरु त बार्गेनिङ गर्छन र माग पूरा नभए धम्कीको भाषा बोल्छन् । अशक्तहरुले जीवन निर्वाहका लागि माग्नु एउटा कुरा रहेछ, शसक्तहरुले पनि विभिन्न बहाना गरेर माग्ने पेशा अङ्गाल्दा भने दिल नराम्ररी दुख्दो रहेछ ।

सगरमाथा र लुम्बिनीले चिनाएको देश अव त आफ्नो सामथ्र्यलाई विर्सिएर मागेरै गुजारा चलाउने देशको रुपमा आफ्नो परिचय र पहिचान बनाउनतिर लागेको त होइन भन्ने भयले छाति खुम्चिने गर्दछ । आफूमा अलिकति पनि विश्वास नगरी जे जे चाहिन्छ सवै अरुबाटै माग्नका लागि एकाविहानै यात्रारम्भ गर्ने हाम्रो मनोबृत्ति यथावत रहँदा सम्म हामी मालिक हुने क्षमता राख्ने भएर पनि मगन्ते भन्दा माथि उठ्न नसक्ने भएका छौं ।

मालिक हुने हाम्रो सामथ्र्यलाई सार्थक बनाउने हो भने कति छाक भोकै पनि बस्नु पर्ला र कति दिन टालेको भोटीले पनि लाज छोप्नु पर्ला तथापि त्यसको परवाह नगरी जापानीहरुले झै एउटा प्रतिबद्धता बोकेर अघि बढ्नुको विकल्प देखिदैन । सवैलाई चेतना भया ।