२०७७ मंसिर १५, सोमबार

स्थानीय शासनको नयाँ अध्याय सुरु : प्रधानमन्त्री

 २ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा स्थानीय शासनको नयाँ अध्याय सुरु भएको बताएका छन् । नयाँ संविधानअनुसारको स्थानीय तहको कार्यालयको मंगलबार ललितपुर महानगरपालिकाबाट उद्घाटन गर्दैै प्रधानमन्त्रीले त्यस्तो बताएका हुन् ।

prachandaसरकारले देशैभर सात सय ४४ वटा स्थानीय निकाय गठन गर्ने निर्णय गरेको थियो । ‘नेपालमा स्थानीय शासनको इतिहासमा नयाँ अध्याय सुरु भएको छ, यो सामान्य सुधार नभएर महत्वपूर्ण क्रान्तिकारी परिवर्तनको प्रतीक हो,’ प्रधानमन्त्रीले भने । सिंहदरबारमा निहित कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार र स्रोतसाधनलाई पहिलोचोटि गाउँ–गाउँसम्म पुर्या‍उने गरी स्थानीय तहलाई अधिकारसम्पन्न तुल्याइएको भन्दै प्रधानमन्त्रीले यसलाई सामान्य सुधारका रूपमा मात्र बुझ्न नहुने बताएका थिए ।

‘हालसम्म जिल्ला, अञ्चल, क्षेत्रीय सदरमुकाम र खासगरी काठमाडौंबाट हुँदै आएका थुपै्र काम, कारबाही र सेवाको वितरण सम्बन्धित गाउँपालिका वा नगरपालिकाबाटै हुनेछ,’ प्रधानमन्त्रीले भने, ‘त्यसकारण पनि यो क्रान्तिकारी परिवर्तन हो ।’ प्रधानमन्त्रीले स्थानीय तहको पुनर्संरचना र कार्य प्रारम्भसँगै गणतन्त्रको उज्यालो घामको अनुभूति जनताले गर्न पाएको पनि बताए ।

संविधान कार्यान्वयनको ऐतिहासिक फड्कोका रूपमा ग्रहण गर्न सक्नुपर्ने उनको भनाइ थियो । ‘सरकार र विकास अब मतपेटिकाका रूपमा जनताको घरदैलोमा छ । अहिले सरकारको अर्जुनदृष्टि स्थानीय तहको निर्वाचनमा केन्द्रित छ । निर्वाचन सफल हुँदा देशले जित्छ, जनताले जित्छन्,’ प्रधानमन्त्रीले थपे ।

उनले स्थानीय तहको निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको धारणा राखे । ‘२० वर्षपछि गुणात्मक उपलब्धिसहित हुन लागेको यो महोत्सवमा विनासंशय, विनाधक, विनाडर, मन, वचन र कर्मले उत्साहका साथ सहभागी हुन म सिंगो देशलाई हार्दिक आमन्त्रण गर्दछु,’ प्रधानमन्त्रीले भने । नयाँ पत्रिका