२०७७ मंसिर १०, बुधबार

किम जोङ उनलाई समात्ने अमेरिकाको तयारी

कोरियन प्रायद्वीपमा बढ्दो अमेरिकी प्रभाव उत्तर कोरियाका तानाशाह किम जोङ उनलाई समात्ने तयारी भएको बताइएको छ।

बुधबार परमाणु उर्जाबाट सञ्चालित अमेरिकी क्यारिअर संयुक्त सैन्य अभ्यासको लागि दक्षिण कोरिया पुगेको छ।

‘युएसएस कार्ल भिन्सन’ बुसानको दक्षिणी तटमा पुगेको हो । जहाँ अघिल्ला हप्ताहरुमा उत्तर कोरियाले गरेको मिसाइल परिक्षण र मलेसियामा किमका सौतने भाइ किम जोङ नमको हत्या पछि तनाव बढेको छ।

अमेरिकाले पठाएको सो क्यारिअरमा ८० भन्दा बढी विमान तैनाथ छन। जसमा फाइटर एयरक्राफ्ट F/A-18F सुपर हेर्नेट, E-2C हकआइ लगायतका शक्तिशाली विमान छन्।

‘फोल इगल’ नाम दिइएको दक्षिण कोरियासंगको संयुक्त सैन्य अभ्यासमा यो वर्ष ठूलो संङ्ख्यामा अमेरिकी विशेष अपरेशन फोर्सले भाग लिने बताइएको छ। उत्तर कोरिया छिरी तानाशाह किमलाई समात्न यो अभ्यासमा ट्रेनिङ दिइने बताइएको छ।

दक्षिण कोरियासंग अमेरिकाले सैन्य अभ्यास गर्ने भएपछि उत्तरले सैन्य अभ्यास रोक्न चेतावनी दिइसकेको छ। अभ्यास नरोकिए अमेरिकामा जल, थल र वायुबाट आक्रमण गर्ने चेतावनी उत्तर कोरियाले दिएको छ। यता सम्भावित मिसाइल प्रहारको प्रतिरोध गर्न अमेरिकाले दक्षिण कोरियामा थाड प्रणाली तैनाथ गरेको छ।