२०७७ माघ ८, बिहीबार

विद्यालय शिक्षा परीक्षा, पहिलो दिन ५४५ जना उपस्थित भएनन्

slc
तस्बीर : सालकोटको पलैटेमा रहेको सूर्यप्रका माविमा परीक्षामा सहभागी विद्यार्थीलाई स्वागत गरिदै ।

८ हजार ४ सय ८ जना सहभागी
आदर्श मावि लेखपर्साबाट ३ जना निरीक्षक निष्काशित

सुर्खेत, चैत्र ४ । सुर्खेतमा विद्यालय शिक्षा परीक्षा (एसइई) अर्थात कक्षा १० को वार्षिक परीक्षा विहीबार पहिलो दिन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

पहिलो दिन अंग्रेजि विषयको परीक्षा मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जनाएको छ । अंग्रेजि विषयको परीक्षामा नियमित, एक्जाम्टेड र स्तरबृद्धितर्फका गरी जम्मा ८ हजार चार सय ८ जना विद्यार्थीहरु सहभागी भएकाछन् । जसमध्ये छात्र चार हजार ४६ र छात्रा चार हजार तीन सय ६२ जना उपस्थिति भएका जिल्ला शिक्षा कार्यालय सुर्खेतका सूचना अधिकारी भोजप्रसाद लम्सालले जानकारी दिए ।
उपस्थित भएका परीक्षार्थीहरु मध्ये नियमितमा छात्र तीन हजार चार सय १०, छात्रा तीन हजार चार सय ४१, एक्जाम्टेडतर्फका छात्र एक सय र छात्रा एक सय ४७ जना र स्तरबृद्धितर्फ ५ सय ३६ छात्र र ७ सय ७४ जना छात्रा रहेको सूचना अधिकारी लम्सालले जानकारी दिए ।

परीक्षाको पहिलो दिन पाँच सय ४५ जना विद्यार्थीहरु उपस्थित नभएको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका सूचना अधिकारी लम्सालका अनुसार उनुपस्थित मध्ये छात्र २ सय ४६ छात्रा २ सय ९९ रहेकाछन् । अनुपस्थित मध्ये नियमिततर्फका छात्र ४८ छात्रा ६१, एक्जाम्टेड तर्फ छात्र १९ र १७ छात्रा र स्तरबृद्धितर्फका १ सय ७९ छात्र र २ सय २१ छात्रा रहेकाछन् ।

सुर्खेतमा विद्यालय शिक्षा परीक्षा ३० वटा केन्द्रबाट सञ्चालन भइरहेको छ । जसका लागि ३० जना केन्द्राध्यक्ष र ४२ जना सहकेन्द्राध्यक्ष रहेकाछन् । यो वर्ष पनि विद्यालय शिक्षा परीक्षा भनेतापनि विद्यार्थीहरुले प्रवेशिका परीक्षा कै झल्को देखिएको छ । विद्यार्थीहरुलाई सहजहोस् भनेर प्रत्येक केन्द्रहरुमा पहिलो दिन विद्यार्थीहरुलाई स्वागत गरिएको छ ।